एजेन्सी । चीनले पहिलो पटक आर्थिक वृद्धिदरको लक्ष्य तय गरेको छैन । कोरोना भाइरसले गर्दा पहिलो पटक यस सालको आर्थिक वृद्धिदरको लक्ष्य तयार नगरेको हो ।
शुक्रबार बिहान चीनमा बसेको वार्षिक बैठक नेसनल पिपल्स कांग्रेसमा करिब तीन हजार प्रतिनिधि सहभागी भएका थिए । एनपीसीको बैठकमा आर्थिक वृद्धिको लक्ष्य सधैं तयार गरिन्थ्यो । तर, यस पटक भने चीनले आर्थिक वृद्धिदरको कुनै पनि लक्ष्य तयार गर्ने छैन ।
कोरोना भाइरसको महामारीले गर्दा यस समयमा प्रगतिको लेखाजोखा गर्न नसकिने बताउँदै आर्थिक वृद्धिदर तय नगरेको चीनका प्रधानमन्त्री ली केचियांगले बताएका छन् ।
चीनको बजेट घाटा सन् २०१९ को तुलनामा बढेको छ । सन् १९९० देखि चीनले आर्थिक वृद्धिदरको लक्ष्य प्रकाशित गर्न थालेको थियो । पहिलो पटक चीनमा आर्थिक वृद्धिदरको लक्ष्य तय भएको छैन ।
कोरोना भाइरसको नियन्त्रणको लागि सरकारले एक ट्रिलियन युआन दिने चीनीयाँ प्रधानमन्त्रीले बताएका छन् । यसका साथै उनले अमेरिकासँग व्यापार सम्झौता बारेमा छलफल गर्ने पनि जनाएका छन् । कोरोना भाइरसको कारणले गर्दा यी दुई देशबीचको सम्झौता हुन सकेको थिएन ।