काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नीति तथा कार्यक्रम कोरा कागजस्तो भएको बताएका छन् ।
सरकारले शुक्रबार प्रस्तुत गरेको आर्थिक वर्ष २०७७÷२०७८ को नीति तथा कार्यक्रममा टिका टिप्पणी गर्दै नीती तथा कार्यक्रमले केही गर्न नसकेको आरोप लगाएका छन् ।
देउवाले भने, “ सरकारको नीति तथा कार्यक्रमले हाम्रो समस्याको सम्बोधन गर्ने हामीलाई अपेक्षा रहेको छ । तर सरकारको नीति तथा कार्यक्रम कोरा कागजजस्तो छ । सरकारसँग कोरोना भाइरसको बारेमा केही थाहा छैन । जनताको पीडा बुझ्ने हृदय सरकारसँग छैन । सरकारको नीति तथा कार्यक्रम पूर्ण रुपमा असफल भएको छ । ”
“ एक वर्षको नीति तथा कार्यक्रम दश वर्षेजस्तो देखिन्छ । सरकार कोरोना भाइरसको महामारी रोक्न सकेको छैन । सरकारले आफूलाई अभिभावक भएको अनुभूति गराउनु पर्ने हो तर सकेको छैन । विदेशमा अनि भारतीय नाकामा लाखौँ नेपाली नागरिक अलपत्र परेको तर सरकारले टुलुटुलु हेरिरहेको छ ।” देउवाले थपे ।