बन्द कोठाबाट बाहिर हेर्नु कति गाह्रो काम हो ! झ्यालमा उभिएर हेर्दा त्यहाँबाट देखिने दृश्य मात्रै हो । कति सकसपूर्ण स्थितिमा बाँचिरहेका छौँ !
मार्क जुकरवर्गले फेसबुक बनाएका हुँदैनथेँ भने आज हामी झ्यालबाट अरु कसैको घर या घरको भित्ता या मकैबारी या कोही नहिँडेको एक्लो बाटो या यस्तै केही हेरेर टोलाएर बस्नुपथ्र्यो । सबैको कोठाबाट देखिने दृश्य एउटै हुँदैन । कहिलेकाँही झ्यालबाटै छिमेकीको झगडा पनि देख्न पाईन्छ । कहिले उनीहरुको फक्रिंदै गरेको प्रेम देख्न पाईन्छ । कहिलेकाँही झ्यालबाट नियालिरहँदा उनीहरुको प्रेम ओईलिंदै छ भन्ने संकेत मिल्छ ।
पर्दा लगाउँछु र खाटमा बस्छु । फेसबुकमा स्क्रोल गरेर मान्छेहरुको बारेमा जानुम् भन्ने इच्छा मलाई कहिल्यै लाग्दैन । फेसबुक पनि एउटा झ्याल न हो संसार चियाउने । तर फेसबुकमा मान्छेहरु आफ्नो हाँसेको चेहरा मात्रै देखाउँछन् । आफ्ना सफलता र प्राप्तिका कहानीहरु मात्रै सुनाउँछन् । आफ्नो उपलब्धि मात्रै फेसबुकको भित्तामा पोष्ट्याउँछन्, प्रष्ट्याउँछन् । दिक्कलाग्दो छैन त ?
म फेसबुक बन्द गर्छु । त्यति बेलै उसले फोन गर्छ ।
‘तिमी किन अफ भएकी ? कुरा गर्नु छ तिमीसँग ।’
‘के कुरा गर्नुपर्यो मसँग ? तिमीसँग बोल्नै मन छैन । म फेसबुक चलाउँदिन ।’
फोन राख्छु र पढ्न थाल्छु ।
उहीं आउँछ आँखाभरी । पढ्न सके पो !
फेरि फेसबुक खोल्छु । ऊ मलाई कुरेर बसिरहेको रहेछ ! अनलाईन देख्नेबित्तिकै म्यासेज पठायो ।
‘मिसिङ्ग यु ।’
‘मिसिङ्ग यु टु ।’
मन नलागी नलागी उसलाई म्यासेज पठाउँछु । कति भन्नु ? मिसिङ्ग यु । आई लब यु । तिमीलाई कुरिरहेको छु । भेट्न एकदम मन छ । लकडाउन कहिले खुल्छ होला है ? यस्तो दिक्कलाग्दो अनि एकैनासको म्यासेज पठाउँदा पठाउँदा शब्दहरु टाईप गर्दै गर्दा मनमा उठ्ने तरङ्गहरु पनि शान्त भईसकेका छन् । उसले जे पठाउँछ । म सेम हेयर भन्दै बस्छु । घरी म पठाउँछु, ऊ त्यहीं भन्दै बस्छ ।
दिक्क लागेर प्ले स्टोरमा डेटिङ्ग एप्स सर्च गर्छु । एउटा डाउनलोड गर्छु । कुराकानी गर्नको लागि अलिकति आफूलाई उत्साहित पार्छु । अहँ, कुरा गर्ने मन भए पो ! त्यहीँ पनि एउटाको म्यासेज रिप्लाई गर्छु । झिजोँ लाग्दो प्रश्नहरु, कुराकानी अगाडि बढ्ने त्यसरी नै हो । तर मलाई फिटिक्कै कुरा गर्ने जाँगर चलिरहेकै थिएन । फेरि त्यो एप्स अनइन्स्टल गरेँ ।
बन्द कोठाको साथी भनेकै फेसबुक त हो । मन भए पनि मन नभए पनि खोल्छु । मैले फेसबुक खोल्ने बित्तिकै मार्कको खातामा पैसा जम्मा हुन्छ । कसरी होला ? कति अचम्म छ दुनियाँ ।
‘तिमी मबाट टाढा भएको हो ?’ मलाई उसको नजिक पर्न मन नहुँदा आफ्नो कमजोरी लुकाउन हमेशा उसलाई यस्तो सोध्छु ।
‘होइन, तिमीलाई त्यस्तो लाग्या मात्रै हो ।’ त्यो त मलाई पनि थाहा छ । किन लाग्न दिने त नि ? अँहँ म उसलाई सोध्दै सोध्दिंन । सकेसम्म हाम्रो कुराकानी छोटो होस् । सकभर नहोस् भन्ने लाग्छ । लकडाउनले यति एक्लो बनाईसकेको छ कि मलाई आफ्नो बाहेक अरुको आवाज फिटिक्कै मन पर्दैन । घण्टौँ आफैँसँग कुरा गरेर बस्छु । आफ्नो कुरा आफैँ सुन्छु । घरी कविता वाचन गर्छु र सुनेर आफैँ मख्ख पर्छु । ऐना हेर्दा लाग्छ, म जति सुन्दर अर्को कोही छैन । आफैँ मात्र आफैँलाई हेरेर रमाउँछु । खाली अरुलाई मात्र राम्रो देख्ने म । अहिले आफू बाहेक कोही राम्रो लाग्दैन ।
‘हामीसँगै भएको भए… मलाई यति दिक्क लाग्दैनथ्यो कि ?’ म दिक्क लागेर उसलाई म्यासेज पठाउँछु । ‘झन् दिक्क लाग्थ्यो । अहिले ठिक्क भएको छ ।’ उसले आफ्नो कुरा सक्छ ।
फेसबुक स्क्रोल गर्छु । उसले भर्खर पोष्ट गरेको फोटोमा चार जना केटीहरुले कमेन्ट गरेका रहेछन् । ईष्र्याले भुतुक्कै हुन्छु । सबको प्रोफाईल भिजिट गर्छु । उसलाई शंका गर्छु र मुसुक्क मुस्कुराउँछु ।
‘तिमीलाई ईष्र्या लाग्दैन ?’ यस्तो भन्न मन लाग्छ । अँहँ भन्दिंन । उसलाई जलन होस् भनेर नआएका प्रपोजहरु पनि आएको थियो भनेर सुनाउँछु । ऊ आनन्दले सुनिबस्छ । फोन राखेपछि आफैँलाई सोध्छु । ‘मैले झुठो राम्रोसँग बोल्न जानिंन कि ?’
पल्ला घरको छतमा आज लुगा सुकाईएको छ । मान्छेहरु छतमा निस्किएका छैनन् । दुई सय भन्दा धेरैलाई कोरोना लागेको कारण पनि मान्छेहरु कोठाभित्रै थुनिएका छन् । कोठाभित्र के गरिरहेका होलान् ?
कोही म जसरी दिक्क मानिरहेका होलान् । कोही फेसबुकको च्याट बक्समा फ्लर्ट गरिरहेका होलान् । कसैको यहीं लकडाउनमा कुरा गर्दा गर्र्दै लभ परेको होला । लकडाउन खुलेसी ब्रेकअप होला । राम्रोसँग अर्थात् गहिरो लभ परेछ भने बिहे होला । बिहे भएपछि मजस्तै छोरी जन्माउँछन् । ऊ कतिदिन मैले जस्तै दिक्क मान्छे । कहिले मुस्कुराउँछे । दिक्क मान्नेले नै मुस्कुराउँन सिक्छन् ।
यसरी समय बित्दै जाँदा ऊ अहिले मेरै उमेरमा आईपुग्छे र टक्क अडिन्छे । उसको बिहे गरिदिम् कि नगरिदिम् ? मेरो हातमा छ । मैले लेख्न छाड्ने बित्तिकै ऊ एक ठाउँमा हेरेर टोलाई बस्छे । मैले झ्यालबाट बाहिर हेरेर टोलाईराखे जस्तै ।
मलाई आज लेख्न दिक्क लागेर ल्यापटप थन्काउँछु । त्यो केटी झ्याल नजिकै उभिएर हेरिबस्छे बाहिर । बाफ्रे ! ऊ हाम्रै छिमेकीको छोरी पो रहिछे । त्यो सानी फुच्ची हिँजो भर्खर जन्मिएको खबर आएको थियो । कति चाँडै ठूली भईछ फिल्ममा जस्तै । मेरो कथाहरुमा जस्तै, सानी थिईँ । अब ठूली भई भनेर पात्रहरुलाई ठुलो बनाएजस्तै ऊ पनि ठूली भईछे । कतै मैले लेख्दै गरेकी पात्र त होइन ऊ ? उफ् !
ल्यापटप खोल्छु र टाईप गर्छु । मैले फेसबुक खोलेँ । उसको फोटो कभर फोटो राख्छु भनेर म्यासेज गरेँ ।
‘राख न त । के हुन्छ र ? प्रेम गर्ने मान्छे कहाँ डराउँछन् ? आफ्नै मुटु तिम्रो विश्वासमा राखेको छु । तिमीले जतन गरिनौँ भने धड्कन बन्द हुन्छ । त्यति फोटो राख्न पनि सोध्नुपर्छ र लाटी ?’ उसको म्यासेजले दिक्क लाग्यो । कस्तो देवदास प्रेमी होला ।
‘ट्याग एसेप्ट गर्नुपर्छ नि ।’
‘तिम्रो सब कुरा एसेप्ट गर्छु । जाबो ट्यागको के कुरा ?’
उसका कुनै प्रेमिकाहरु रहेनछन् । ढुक्क भएँ । तर, मेरो फेसबुकमा ममी–बुवा, अंकल–आन्टीदेखि लिएर गाउँका दाजुहरु पनि जोडिनुभएको छ । मलाई के भन्लान् ? फेरि मलाई मन पराउनेहरु पनि छन् । उनीहरुलाई मेरो प्रेमी छ । तिमीहरुले म्यासेज नगर्नु भनेर भनेको छैन । सम्बन्धको के भर ?जबसम्म बिवाह हुँदैन प्रेम असफल मानिन्छ यहाँ ।
यस्तो अवस्थामा कसरी उसको फोटोलाई मेरो फेसबुकको कभर फोटोमा राख्न सक्छु ?
‘तिमी मेरो प्रेमीमात्रै हौ ।’ यसो भनेर लेखेँ । तत्कालै म्यासेज रिमुभ गरेँ । उसले के थियो, देखिंन भन्ने प्रश्नलाई आई लभ यु लेखेको के । धेरै याद आएर भनेर टारिदिन्छु । ऊ पनि मख्ख पर्छ ।
‘आई लभ यु टु !’
‘साँच्चै तिम्रो फोटो फेसबुकमा राखुँ ?’
‘हाम्रो प्रेम दुनियाँलाई किन देखाउनु पर्यो र ? हामीलाई थाहा भए भईहाल्यो । अरुलाई थाहा दिनुपर्छ र ?’ म रिसाएर अफलाईन हुन्छु । उसले फोटो राख्नु भन्दा पनि राख्न नसक्ने अनि नराख भन्दा पनि चित्त दुख्ने । कस्तो मानसिक पीडा । यसैमा अल्झिन्छु म ।
बुवालाई ट्याग गरेर बुवा र मेरो फोटो फेसबुकमा राख्छु ।
लगत्तै उसले म्यासेज गर्छ ।
‘ह्याण्डसम हुनुहुँदो रहेछ त ।’
‘अँ, त्यहीं भएर म राम्रो भएको । मलाई माया नगर्ने भएसी किन म्यासेज गर्नुपर्यो ?’
‘तिमीलाई सधैँ दुखाउँछु । नराम्रो लाग्छ ।’ उसको म्यासेजले मुसुक्क मुस्कुराउँछु ।
‘खुप ।’
उसले पनि म मुस्कुराएकाले लामो सास लिन्छ अनि फाल्छ ।
ओहो ! मलाई अघि झ्यालबाट हेरिरहेकी केटीले आफ्नो बुवालाई ट्याग गरेर फोटो हालेकी रहिछे । उसको बुवा र म साथी छाँै फेसबुकमा । हामी साथी मात्रै होइनौँ, छिमेकी पनि हौँ । त्यो सानी केटी एक्कासी बढेर कसरी त्यत्री ठूली भई ? मैले लेखिरहेको कथामा त्यसले कसरी प्रवेश गरी ? मन एक तमासको हुन्छ ।
म पात्र एक्कासी ऊ कसरी भई ? मेरो कथा दुरुस्तै उसैसँग कसरी मिल्न गयो ? मैले मलाई लेखिरहंदा ऊ कसरी मेरो शब्द अनुसार चल्न पुगी ? म कोठाबाट बाहिर निस्किन्छु । कतै मलाइ कोरोना संक्रमण त हुँदैन ? मन डराउँछ ।
छतमा सुकेका लुगाहरु पनि छैनन् । मैले सधैँ झ्यालबाट देखिरहने दृश्य पनि गायब छ । बरु घरको आडैमा रहेको मकैबारीमा मकैका घाेंगाहरु लाग्न थालेका छन् । पानी र हावाहुरीको निरन्तर चुटाईपछि पनि आफूलाई जीवित राख्न संघर्षरत छन् मकैहरु । मकैको पनि जीवन हुन्छ नि ।
साँच्चै ऊ छतमा बसेर मकैतिर हेरिरहेकी थिईँ । ऊ मेरो कथाकी पात्र हो ।
मैले छतबाट छिमेकीको घरतिर आँखा डुलाएँ । सबैको झ्यालहरु बन्द थिए । उनीहरु पर्दा लगाएर कोठाभित्रै हराएका थिए । एउटा घरमा भने पर्दा थोरै उघ्रिएको थियो । त्यहीँबाट एउटी केटी मलाई हेरिरहेकी थिईँ । उसले चलाउँदा चलाउँदैको ल्यापटबाट आँखा हटाएर मलाई हेरिरहेकी छ ।
उसले मलाई देखी अनि मैले उसलाई देखेँ । हो, उही हो मलाई जन्माउने ।
नभए यो लकडाउनमा बुढा भईसकेका बाबुआमाबाट म जन्मिएर यति छिटो जवान हुने बेलै भएको थिएन । मैले मेरो बाल्यकाल भोग्नै नपाई जवान हुनुपरेको छ ।
लकडाउनमै मेरो एउटा केटासँग लभ पर्यो । अहिले पनि कुराकानी भईरहेकै हुन्छ ।
म बुढेसकाल जिउन चाहन्न । मैले कथाकारको कलम यत्ति मै बन्द गर्नुपर्छ । ताकी मैले बुढेसकाल पनि भोग्न नपरोस् ।
म हतारहतार आफ्नो छतमा पुग्छु । त्यो छिमेकीको छोरी छतबाट गायब भईसकेकी हुन्छे । उसको घरको पहिलो तलामा सबै झ्यालहरु पर्दाले बन्द हुन्छन् । दोस्रो तलामा पनि झ्यालमा पर्दाहरुले भित्रको दृश्य नियाँल्न सकिदैंन । तेस्रो तला अर्थात् उनीहरुको माथिल्लो तलाको देब्रेतिर राम्रोसँग पर्दा लगाएको हुँदैन ।
यहाँबाट थोरै उघ्रिएको त्यो पर्दाभित्र कोही ल्यापटपमा केही लेखिरहेको छ । ऊ मेरो कथाकार हो ? कि म उसको कथाकार ? उसले मलाई जन्माएकी हो ? या मैले उसलाई ?