यादहरू
पीडाको एक अंश
तिम्रो नजरको
एक बिछिप्त कुनाबाट
निर्धक्कसँग ओरालो झर्छ ,
लुप्त भाव
नचाहँदा नचाहँदै पनि
धैर्यताको लक्ष्मण रेखालाई
फुर्तीसाथ नाघ्दै
उदासीनताको गिरिमा
बिजय झण्डा लहराउछन ।
नसोचेका क्षण
नचाहेका स्वप्न
र छेउ छाउमा
मुस्कुराउदै फूलेका काँडाहरु
लाग्दैछ
गिज्याउदै वसन्त कुरिरहेका छन्
साेंच्दिंन भुल्दिन
साँघुरा यादहरु
असारे भेल झैँ
खहरे झै
न आएका हैनन
तर लाग्यो दृश्य पात्र झैँ
रंग उडेका चित्र झैँ
र साथमा
बर्षौ बर्षको मौन व्रत ।
साेंच्दैछु
संध्याकालमा
एक सम्झनाको प्रदेशमा
जूनसँग मितेरी लगाउन
वसन्तका साथ
तिम्रो छवि अँगाल्दै
सुस्त दाैडिने अप्सराहरुको हुल
तर
भुल महान भुल
देख्छु विक्षिप्त रुपमा
आफू आफैदेखि नै
कतै टाढा
भाँचिएको गुलाफ झैँ
उडेका पात पतिंगर झैँ
जिन्दगी देखि टाढा धेरै टाढा
र मृत्युसम्मका यात्रा
टुट्दै फुट्दै देख्छु ।
उहीं शून्यताबीच
समय रुजिरहेको
नजिक जान्छु पाउँछु
जड मात्र जड
संगै स्मृति पटमा
सुस्तरी फर्फराई रहेका सलहरु
छाम्छु जहाँ
मायालु प्यारो स्पर्श
एक मीठो सुगन्ध
र गुटमुटिएका
ताजा यादहरु ।
दासहरूको प्रयोगशाला
एक कुरूपता लुकाउन
मस्तिष्कदेखि मस्तिष्कसम्म
रूपदेखि रूपसम्म
आँखादेखि आखाँसम्म
चुपचाप चुपचाप
प्रयोग चलिरहन्छ
हर मान्छेको
टाउकोमा, मनमा, पाइलामा
शब्दहरू मौनतामा लुकाएर होस्
शब्दहरू शब्दहरूमा सजाएर होस्
कुरूपता बिकिरहन्छ
मान्छेदेखि मान्छेसम्म
शदिऔँदेखि वर्तमानसम्म
वर्तमानदेखि अनन्तसम्म ।
बेचैनी छ धन नहुनेसँग
बेचैनी छ मन नहुनेसँग
बेचैनी छ माया नहुनेसँग
बेचैनी छ खुद बेचैनी नहुनेसँग
हतार हतार चलेका पाइलामा होस्
सुस्ताएका थाकेका पाइलामा होस्
बेचैनी छ जताततै लुप्त अव्यक्त ।
धर्ती पागलहरूको डेरा न हो
मुटु चोरिएको मान्छे न हो
बिचार खोसिएको मान्छे न हो
बेचैन बेचैन बेचैन
धर्म खोज्नेहरू, शान्ति खोज्नेहरू ,
ईश खोज्नेहरू
ज्ञानी महाज्ञानीहरु
पण्डित र पण्डित्याइंहरू
भ्रम ठुलै भ्रममा छन्
ईशको चिन्तन गर्नेहरू
अरूपको आकार निराकार
शून्य, महाशून्य अनि
शून्यान्तरहरुबाट मात्र
तर पनि यहाँ
धर्तीबीच रातो, सेतो, हरियो, पहेंलो
कस्तो कस्तो रंगको विभाजन
एक अरूप, अनेक मन
आफू–आफैं देखि नै
दुरीहरू झन्–झन्
एकै बेहोसी छ, एकै विश्वास
अन्तरमनमा कृत्यमा
एकै सराब एकै पागलपन
तरिका मात्र फरक फरक
मृत्यु बुझाउन, रहस्य खोतल्न
प्रयोग चलिरहन्छ
हेर धर्तीलाई
यो हो दासहरुको
प्रयोगशाला ।