Logo

काेराेना भाइरस र यसले कृषि क्षेत्रमा पारेकाे असर



Spread the love

आनुवंशिक संरचनामा आरएनए भएका भाइरस अर्थात् विषाणुको एउटा समूहलाई वैज्ञानिकद्वारा कोरोना भाइरस नाम दिइएकाे थियाे । उक्त भाइरसको वैज्ञानिक नाम सार्स-कोभ-२ (Sars-CoV-2) हो। उक्त भाइरसबाट सङ्क्रमणबाट हुने रोगलाई कोभिड-१९ भनिन्छ ।

भाइरसको बाह्य रूप किरीट अर्थात् श्रीपेचजस्तै भएकाले अङ्ग्रेजीमा उक्त नाम दिइएको थियो। त्यसलाई नेपालीमा ‘किरीटाकार विषाणु’ वा ‘किरीट विषाणु’ पनि भन्न सकिन्छ । तर कोरोना भाइरस नै प्रचलित र सजिलै बुझिने नाम हो ।

सन् २०१९ को डिसेम्बरमा चीनकाे वुहान नजिकै पशुपक्षी व्यापार हुने एउटा बजारमा पहिलो पटक सङ्क्रमण देखिएको उक्त भाइरस केही महिनामै विश्वभरि फैलिएर अाज विश्वलाई नै अाक्रान्त पारिरहेकाे छ । विशेषगरी नाक र मुखबाट मानिसको शरीरमा प्रवेश गर्ने र सङ्क्रमित व्यक्तिको संसर्गमा आउने अरू मानिसलाई उक्त भाइरस सर्ने हुँदा याे महामारीको प्रकाेप ज्यादै बढ्दै गईरहेकाे अवस्थामा विश्वभरमै लाखौँले ज्यान गुमाउनु परेकाे छ र लाखौँ जीवन र मृत्युको संघारमा छन् ।

अहिले विश्वभरि कोरोनाभाइरस सङ्क्रमण र त्यसबाट हुने रोग कोभिड-१९ को त्रास छ। कोरोनाभाइरस महामारीले हाम्रो जीवन र सम्बन्धमा अकस्मात् धेरै परिवर्तन ल्याइदिएको छ । उक्त भाइरस फैलिन नपाओस् भनेर अवलम्बन गरिएको उपाय स्वरूप अधिकांश मानिसहरू घरभित्रै सीमित छन् । यसले देशकाे समग्र अवस्थामा असर पुर्याएकाे छ । हाम्राे शैक्षिक क्षेत्र, अार्थिक क्षेत्र र विशेष हाम्राे कृषि अर्थतन्त्रमा ठुलाे धक्का लागेकाे छ । एकातिर लकडाउनकाे प्रभावमा ज्यान जाेगाउनै मुस्किल छ भने अर्काेतिर कृषिमा परेकाे प्रत्यक्ष प्रभावले देशकाे कृषिजन्य उत्पादन र बजारीकरणलाई उथलपुथल पारेकाे छ। जसकाे प्रत्यक्ष मारमा किसानहरू परेका छन् ।

अहिले किसानहरूकाे हिउँदेबाली गहुँ र दाल थन्क्याउने समय हो । त्यस्तै तरकारी र मकै राेप्ने बेला हाे । पशुजन्यतर्फ दूध, माछामासु, महलगायत अन्य सामाग्री उत्पादन गरी सहरी क्षेत्रका उपभोक्तासम्म पुर्याउनु पर्ने हो । नयाँ बालीको रूपमा चैते धान र वसन्ते मकै, लहरे तथा वर्षे तरकारी लगाउने बेला पनि यहीं हो । तर, यी सबै काम अवरुद्ध भएका छन् । यस्ता अवरोधले खाद्य शृंखलामा अवरोध हुन्छ । अहिले खेतमा गएर काम गर्न सक्ने अवस्था पनि छैन, न त किसानले श्रमिक नै पाउने स्थिति छ । जाेतखनका निमित्त ट्र्याक्टर लगायतका साधन र उत्पादित वस्तुहरू बजारसम्म लैजानका निम्ति अन्य सवारी साधन पनि चल्न सक्ने स्थिति छैन । गहुँ भित्राउनका लागि प्रयोग गरिने मेसिन पाउन गाह्रो छ । मेसिनले गर्ने काम मान्छेले गरौँ न भन्दा अहिले सम्भव नै देखिँदैन ।

तत्कालै वर्षेबाली र वसन्तेबाली रोप्न अप्ठ्यारो स्थिति सिर्जना भएको छ । सरकार तथा निजी क्षेत्रले किसानलाई पुर्याइरहेको प्राविधिक सेवा पनि अवरुद्ध भएको छ । यसले समयमा उचित सल्लाह पाउने र राम्रो खेती गर्न सक्ने स्थिति बनेको छैन।
यस्तो कठिन परिस्थितिमा सरकारले कृषि क्षेत्रमा केही पहल कदम उठाउन जरुरी छ । अहिले तत्काल गर्नुपर्ने भनेको कोराना भाइरस सर्नबाट बच्न कसरी सजग हुने भनेर सिकाउनु नै हो । अहिले किसान, व्यवसायी र उपभोक्ताहरू खाद्यवस्तुबाट कोराना सर्न नदिन सजग हुनुपर्छ । यसका लागि सरकारले कृषि क्षेत्रको विषय मात्र समेटिएको अलग्गै ‘सेफ्टी गाइडलाइन’ बनाउनुपर्याे । तरकारी, खाद्यान्न, मासु अथवा प्याकिङ सामग्रीबाट कोराना भाइरस सर्छ कि सर्दैन भन्ने कुराको यकिन गरी जानकारी प्रवाह गर्नुपर्छ । सुरक्षित ढुवानीको विधि लगायतका समग्र विषय समेटेर सरकारले तत्काल एउटा ‘गाइडलाइन’ विकास गर्नुपर्छ ।

त्यसै गरी कोभिड–१९ नियन्त्रणको काम भइरहँदा पनि कृषि क्षेत्रलाई असर गर्न नदिन सरकारले ‘रोडम्याप’ बनाउनुपर्छ । कृषिको काम गर्ने ठाउँमा कति संक्रमित छन् वा संक्रमणको जोखिममा छन्, क्वारेन्टाइन कहाँ छ, आइसोलेसन केन्द्र कहाँ–कहाँ छन् ? यी विषयमा किसानलाई जानकारी दिनुपर्छ । किसानलाई कोभिड–१९ संक्रमणको डर लाग्यो भने उपचार गर्ने ठाउँ कहाँ हो भन्ने कुरा देखाइदिनुपर्छ । यी समग्र कुरा देखाएर कृषि क्षेत्र कति सुरक्षित छ भन्ने कुरा पनि थाहा दिनु जरुरी छ ।

अहिलेकै अवस्थामा खेती गर्न चाहनेलाई अनिवार्य मास्क, पन्जा लगायतका सुरक्षा सामग्री उपलब्ध गराउनुपर्छ । यति भयो भने किसान निर्धक्क रूपमा खेतीमा लाग्न सक्छन् । त्यस्तै कृषि मजदुरहरूको पहिचान गरी आवश्यक मात्रामा खाद्य पदार्थ उपलब्ध गराउन राहतको प्याकेजमा समावेश गर्नुपर्छ । खासगरी नेपालको कुल ग्राहस्थ उत्पादनमा सबैभन्दा बढी योगदान गर्ने कृषि क्षेत्रलाई लकडाउन अवधिमा पनि कसरी संरक्षण गर्ने भनेर सरकारले ध्यान दिएन । त्यसैले लकडाउन भइ रहँदा पनि यो क्षेत्रको संरक्षणमा उचित योगदान गर्न सकिएको छैन । अहिलेको स्थितिलाई हेर्दा त नेपालले लकडाउनमा छोटो समयका लागि र त्यसपछि लामो समयका लागि खाद्य संकटको सामना गर्नुपर्ने स्थिति देखिन्छ किनभने कृषिजन्य उत्पादन, काम र ढुवानी अवरोध छ । उद्योग हरू बन्द छन ।अहिलेको स्थितिमा आयात पनि हुन नसक्ने, खाने जनसंख्या पनि बढ्ने र कृषि क्षेत्रको काम पनि अगाडि नबढ्ने देखिएको छ ।

आर्थिक विकासको मेरूदण्ड कृषि क्षेत्रमा अझै पनि सरकारले विशेष रणनैतिक याेजना बनाई अगाडि नबढ्ने हाे भने पक्कै पनि भाेकमारीकाे अवस्था सिर्जना हुनेछ र त्यतिबेला मानिसहरू काेराेना भन्दा भाेकमारीकाे कारणले मर्ने छन् । त्यतिबेला राज्यले ठुलाे क्षति बेहाेर्नु पर्ने देखिन्छ ।

कृषि मूलश्च जीवनम्
जय कृषि ,जय किसान ।

प्रतिक्रिया दिनुहोस्