आन्तरिक व्यापारिक प्रयोजनको लागि स्वदेशी मुद्राको प्रयोग गरिने भएता पनि अन्तरराष्ट्रिय व्यापारिक प्रयोजनको लागि भने प्रायः एउटै मुद्रा प्रयोग गरिन्छ । अन्तरराष्ट्रिय व्यापारिक प्रयोजनको लागि प्रयोग हुने मुद्राहरु अन्य राष्ट्रहरुद्धारा स्वीकार गरिएको हुनुपर्दछ । विश्वको आर्थिक महाशक्ति देशको मुद्राहरु अन्तरराष्ट्रिय व्यापारिक प्रयोजनको लागि प्रयोग हुने हँुदा ती मुद्रालाई आरक्षित मुद्रा भनिन्छ । अन्तरराष्ट्रिय व्यापारिक प्रयोजनको लागि प्रयोग हुने प्रख्यात मुद्राहरु या आरक्षित मुद्राहरु अमेरिकी डलर, यूरो र जापानीज येन हुन् । यी मुद्राहरुको प्रयोग नेपाल सरकारले पनि गर्छ । विषेश गरी नेपाल सरकारले अन्तरराष्ट्रिय प्रयोजनका लागि अमेरिकी डलरको प्रयोग बढी मात्रामा गर्छ ।
अन्तरराष्ट्रिय मुद्रा कोषको अनुसार विश्वभरी ६१ प्रतिशत वैदेशिक बिनिमय आरक्षित कोष अमेरिकी डलरको रुपमा छ । जसले अमेरिकी डलरलाई सबैभन्दा शक्तिशाली आरक्षित मुद्रा बनाएको छ र ४० प्रतिशत अमेरिकी डलरको रुपमा ऋण प्रदान गरिने गरिएको छ । २० प्रतिशत वैदेशिक बिनिमय आरक्षित कोषको रुपमा युरो मुद्रा छ भने बाँकी २० प्रतिशत अन्य मुद्राहरु छन् । सयुंक्त राष्ट्र संघको अनुसार विश्वमा १८० वटा मुद्राहरु छन् । ती मुद्राहरुमध्ये जुन कुनै पनि मद्राहरु अमेरिकी डलरजस्तै आरक्षित मुद्रा बन्न सक्छ । तर गाह्रो भने अवश्य नै छ । किनकि अन्य देशहरुको अर्थतन्त्र अमेरिका जस्तो बलियो छैन । जहाँ पहिलो ठुलो अर्थतन्त्र अमेरिको अर्थतन्त्र २२.३२१ ट्रिलियन डलर छ भने दोस्रो ठुलो अर्थतन्त्र चीनको १५.२६९ ट्रिलियन डलर छ । अर्थतन्त्र बलियो तब हुन्छ जब कुनै पनि देशले बढी भन्दा बढी उत्पादन गरी अन्तरराष्ट्रिय बजारमा आफूले उत्पादन गरेको वस्तु तथा सेवाको व्यापार गर्छ । यसरी अन्तरराष्ट्रिय बजारमा निर्यात बढाउँदा त्यस देशको मुद्रा तुलनात्मक रुपमा बलियो हुँदै जान्छ । व्यापारीक प्रयोजनको लागी प्रयोगमा आउने विभिन्न देशहरुका मुद्राहरु यसप्रकारका रहेका छन् ।
अमेरिकी डलर पहिलेदेखि यति शक्तिशाली भने थिएन । सन् १९४४ मा ४४ मित्र राष्ट्रहरुका ७३० प्रतिनिधीहरु अमेरिकामा भेला भई ब्रेट्टनउड सम्झौतामा हस्ताक्षर गरे । ब्रेट्टनउड सम्झौताले अमेरिकी डलर सुनको प्रति एकाइ ३५ अमेरिकन डलरको दरले निर्धारण गरियो । अन्य राष्ट्रको मुद्रा भने अमेरिकी डलरको तुलनामा विभिन्न स्थिर दरमा निर्धारण गरियो ।
अमेरिकासँग विश्वमा भएको सम्पूर्ण परिमाणको दुई तिहाइ सुन भएकाले ब्रेट्टनउड सम्झौताले अमेरिकी डलरलाई हालको अवस्थामा पुर्याएको हो । अमेरिकाले दोस्रो विश्वयुद्धमा मित्र राष्ट्रहरुलाई सुनको बदलामा हातहतियार बिक्री वितरण गरी सुनको भण्डार गरी राखेको थियो । दोस्रो विश्वयुद्ध पहिले सुनको मापदण्ड अनुसार मुद्रा छपाई हुने गथ्र्यो । जुन सन् १९३३ मा अमेरिकाले पूर्णरुपमा प्रयोग गर्न बन्द् गर्यो । ९० प्रतिशत अर्थशास्त्रीका अनुसार सन् १९२९ देखि सुरु भएको महा आर्थिक मन्दीबाट अमेरिका मुक्त हुनुमा सुनको मापदण्ड प्रणालीलाई त्याग्नु नै प्रमुख कारण मान्छन् ।
सन् १९६० को दशकदेखि अमेरिका युद्ध, वैदेशिक सहयोग र लगानीमा खर्च बढी गर्न लाएपछि डलरको आवश्यकता झन् बढ्न गयो । फलस्वरुप विश्वमा भएको डलर अमेरिकामा भएको सुनभन्दा बढि भयो र मन्दीको सामना गर्नु पर्यो । जसले गर्दा देशमा बेरोजगारी बढ्न थाल्यो र अर्थतन्त्रलाई प्रभाव पार्यो । यस्ता समस्याहरुको समाधान गर्न र अमेरिकी डलरलाई बाहिरी आक्रमणबाट जोगाउन सन् १९७१ मा अमेरिकी राष्ट्रपति रिचार्ड एम निक्सनले ब्रेट्टनउड सम्झौता आधिकारिक रुपमा भङ्ग गर्दै फिएट मुद्रा प्रणालीको प्रचलन ल्याए । फिएट मुद्रा त्यस्तो मुद्रा हो जुन भौतिक वस्तुहरु जस्तै सुन या चाँदीमा आधारित हुँदैन । यो पुर्ण रुपमा स्वतन्त्र हुन्छ । फिएट मुद्राले केन्द्रीय बैंकलाई अर्थतन्त्रमा पुर्णरुपमा नियन्त्रण दिन्छ । किनकि यस प्रणालीले चाहिएको अनुरुप मुद्रा छाप्ने अधिकार दिएको हुन्छ । चाहिएको अनुरुप मुद्रा छाप्न पाउने अधिकार भएकोले उच्च मुद्रास्फिति आउन सक्ने डर पनि हुन्छ । जुन अफ्रिकी राष्ट्र जिम्बाबेले सन् २००७ देखि २००९ सम्म भोग्नु परेको थियो ।
अभौतिक मुद्रा प्रणालीको कारण अमेरिकी डलरसँग स्थिर नभई मुद्राको क्रयशक्ति अनुसार फरक फरक हुने भयो । जस्तै नेपालको मुद्रा र अमेरिकाको बिनिमय दरलाई उदाहरणको रुपमा लिन सकिन्छ । जुन नेपाली मुद्राको क्रयशक्ति अनुसार घट्ने बढ्ने गर्छ । फिएट मुद्रा प्रणाली अहिले विश्वभरि प्रचलित छ । अमेरिकी राष्ट्रपति रिचार्ड एम निक्सनले चलाखी पुर्वक साउदी अरब र ओपेक राष्ट्रलाई सुरक्षा प्रदान गर्ने शर्तमा त्यहाँ पाईने कच्चातेल अमेरिकी डलरमा बिक्री वितरण गर्ने गराउनेमा सम्झौता भयो । किनकि कच्चातेल धेरै राष्ट्रले आयात गर्ने भएकाले र कच्चातेल मात्र डलरमा बिक्री बितरण हुने भएकोले पनि अमेरिकी डलरको भाउ बढेको हो । वर्तमान परिवेशमा अमेरिका सबैभन्दा बढी तेल नियात गर्ने राष्ट्र भएको छ । यस्ता विभिन्न कारणहरुले गर्दा अमेरिकी डलरले आफुलाई बलियो स्थानमा राखेको छ ।
अमेरिकि डलरको पहिलो स्थानलाई चुनौती दिन रसिया र चिन अघि सरेका छन् । रसिया र चीन एउटा यस्तो मुद्रा चहान्छन् जुन कुनै राष्ट्रको मुद्रामा निर्भर हुन नपरोस् । यूरोपमा आएको आर्थिक संकटले गर्दा अमेरिकी डलरलाई विश्वको रिजर्भ करेन्सीको रुपमा प्रतिस्थापन गर्न सकेन । ट्रिलियन डलर ऋणमा भए पनि अमेरिकी डलर अहिलेसम्म विश्वासिलो सावित भएको छ र केही बर्ष अझै आफूलाई पहिलो स्थानमा सुरक्षित राख्ने छ ।