Logo

कोरोना अपडेट: विश्वमा कहाँ के भइरहेको छ ?



Spread the love


एजेन्सी । कोरोना भाइरसको सन्त्रास विश्वभर फैलिएको छ । विश्वका अधिकांश देशहरु लकडाउनमा छन् । गएको सालको डिसेम्बरमा चीनको बुहानबाट कोरोना भाइरस फैलिएको थियो । आउनुहोस् जानौँ विश्वमा कहाँ के भइरहेको छ ?

१. जोन्स होप्किन्स यूनिभर्सिटीका अनुसार विश्वभरमा ३९ लाख ७९ हजार ४४२ जना कोरोना संक्रमित भएका छन् भने मर्नेहरुको सङ्ख्या २ लाख ७६ हजार ४२१ पुगेको छ ।

२.दक्षिण कोरियाको राजधानी सोलमा कोरोना भाइरसको दोस्रो चरणको संक्रमण फैलिने डरले बार तथा क्लबहरु बन्द गरिएको छ । दक्षिण कोरियाले कोरोना नियन्त्रण गर्न सफल भयो भनी विश्वभर प्रशंसा भएको छ । तर, शनिबार सोलका मेयरले संक्रमितको मामिला आएपछि फेरि बन्द गर्नको लागि आदेश दिएका छन् ।

सोलमा २९ वर्षीय युवकमा कोरोना संक्रमण भएको छ । उक्त युवक सातामा पाँच पटक बार र क्लबमा गएका थिए । स्वास्थ्य विभागका कर्मचारीहरुले कोरोना सक्रमण फेरि बढ्ने चेतावनी दिएका छन् । अधिकारीहरुका अनुसार २९ वर्षीय युवक गएको ठाउँमा करिब ७२०० मानिस पुगेको अनुमान गरिएको छ । शनिबार द. कोरियामा ३४ जना संक्रमित भएकोे पुष्टि भएको थियो ।

३. कोरोना भाइरसबाट संक्रमित भएको मानिससँग सम्पर्कमा आएका कारण अमेरिकाका कोरोना भाइरस टास्क फोर्सका दुई अधिकारीले आफूलाई क्वारेन्टाइनमा राख्ने फैसला गरेका छन् । ती दुई अधिकारी डा. रोबर्ट रेडफिल्ड र स्टेफेन हैन हुन् । डा. एन्थोनी फौसीले दुबैलाई घरमै बसेर काम गर्न अनुरोध गरेका छन् । गएको सातामा ह्वाइट हाउसका दुई स्टाफ कोरोना संक्रमित भएको पुष्टि भएको थियो ।

४. चीनमा कोरोना भाइरसबाट १४ जना संक्रमित भएका छन् । २८ अप्रिलपछि पहिलो पटक धेरै सङ्ख्यामा देखिएको छ । १४ मध्ये दुई जना विदेशबाट आएका हुन् । बिना लक्षण २० नयाँ संक्रमितको पुष्टि भएको छ । यसका साथै चीनमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको सङ्ख्या ८२ हजार ९०१ पुगेको छ । चीनमा कुल मृतकको संख्या ४, ६३३ रहेको छ ।

५. रुसमा कोरोना संकटको असर कम हुने देखिंदैन । शनिबार रुसमा १० हजार ८१७ नयाँ केस देखिएका छन् । यसका साथै रुसमा संक्रमित हुनेहरुको सङ्ख्या १ लाख ९८ हजार ६७६ पुगेको छ । संक्रमितको सङ्ख्या बढी भए पनि मृत्युदर भने कम रहेको छ । रुसमा १८२७ जनाले ज्यान गुमाइसकेका छन् । रुसमा लकडाउन जारी नै छ ।

६. नाइजेरियाको सबैभन्दा ठुला शहर लागोसमा लकडाउन दोस्रो पटक लागु गरिने संकेत देखिएको छ । शनिबार सरकारले सामाजिक दुरीको पालना नगरे लकडाउन फेरि लगाउने चेतावनी दिएको थियो । पाँच साताको लकडाउनपछि सोमबार लागोसमा लकडाउनबाट छुटकारा दिइएको थियो ।

७. इण्डोनेसियामा शनिबार ५३३ नयाँ केस भेटिएका छन् । यसका साथै यहाँ संक्रमितको संख्या बढेर १३ हजार ६४५ पुगेको छ । स्वास्थ्य विज्ञहरु इण्डोनेसियामा टेस्टिङ कम भएको भनी सरकारकोृ आलोचना गरिरहेका छन् ।

८. जर्मनीमा आउने शनिबारबाट सुरु हुने भनिएको प्रतिस्पर्धा अन्योलमा परेको छ । फुटबल क्लब डाइनामो ड्रेसडेनका दुई खेलाडी कोरोना संक्रमित भएपछि पुरै टिमलाई दुई साताको लागि क्वारेन्टाइनमा रहनको लागि अनुरोध गरिएको छ ।

९. फ्रान्स विश्वको सबैभन्दा बढी प्रभावित हुने देश हो । फ्रान्समा कोरोना भाइरसबाट १ लाख ७६ हजारभन्दा बढी प्रभावित भएका छन् भने २६ हजारभन्दा बढीको ज्यान गएको छ । फ्रान्समा संक्रमण र मृत्यु हुनेहरुको संख्या घटिरहेको छ । फ्रान्समा बितेको २४ घण्टामा कोरोना भाइरसबाट ८० जनाको मृत्यु भएको छ । यसभन्दा पहिला शुक्रबार २४३ जनाको ज्यान गएको थियो भने बिहीबार १७८ जनाको । फ्रान्सले सोमबारबाट प्रतिबन्ध खुकुलो बनाउँदैछ । केही स्कुल खुल्ने र आफ्नो घरबाट सय किलोमिटरसम्म यात्रा गर्न पाइने अनुमति दिइनेछ ।

१०. स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेसले मानिसहरुलाई सावधानी अपनाउन आग्रह गरेका छन् । स्पेनमा लकडाउन खुकुलो बनाइंदैछ । सोमबारबाट लकडाउन खुकुलो बनाइने छ ।

११. जर्मनीमा गएको २४ घण्टामा १२५१ नयाँ केस भेटिएका छन् भने १४७ जनाको ज्यान गएको छ । जर्मनीमा १ लाख ७० हजार ९९८ जना संक्रमित छन् भने ७५१० जनाको ज्यान गएको छ ।

१२.बेलायतमा कोरोना भाइरसबाट ३१ हजार ५८७ जनाको ज्यान गएको छ भने २ लाख १५ हजार २६० जना संक्रमित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्