Logo

विश्वमा कहाँ के भइरहेको छ ?



Spread the love
E


एजेन्सी । कोरोनाको कहरले सारा विश्वमा सन्त्रास छाएको छ । विश्वका अधिकांश देशहरुमा लकडाउन गरिएको छ । आउनुहोस् जानौँ विश्वमा कहाँ के भइरहेको छ ।

१. भारतमा संक्रमित हुनेहरुको सङ्ख्या ५६ हजार ३४२ पुगेको छ । जसमा १८८६ जनाको ज्यान गएको छ भने १६ हजार ५४० मानिस निको भइ घर फर्केका छन् । महाराष्ट्र, गुजरात, दिल्ली, तमिलनाडु, राजस्थानजस्ता प्रदेश बढी प्रभावित भएका छन् ।

२. विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको संक्रमण रोकिएन भने अफ्रिकामा ८३ हजारदेखि एक लाख ९० हजारको मृत्यु हुन सक्ने बताएको छ । यसै गरी डब्ल्यूएचओले पहिलो वर्षमा २.९ करोडदेखि ४.४ करोड मानिस संक्रमित हुने पनि बताएको छ । डब्ल्यूएचओले गरेको यो नयाँ अध्ययन हो । अफ्रिकालाई लिएर धेरै गम्भीरता देखाइएको छ ।

३. चीनले कोरोना भाइरसको उत्पत्तिलाई लिएर विश्व स्वास्थ्य संगठनलाई मद्यत गर्ने बताएको छ । तर चीनले जाँच वैज्ञानिक हुनुपर्नेमा जोड दिएको छ । अमेरिकाले सुरुवातबाट नै चीनलाई पारदर्शिता नदेखाएको भनी आरोप लगाउँदै आएको छ । अमेरिकाले चीनबाट भाइरस उत्पत्ति भएको आरोप लगाए पनि चीनले भने यस आरोपलाई खण्डन गर्दै आएको छ । चीनीयाँ विदेशमन्त्रीले अमेरिकाले एउटा झुट लुकाउन दोस्रो झुट बोलेको बताएका छन् ।

४.अमेरिकाले रुसलाई कोरोना विरुद्ध लड्नको लागि सहयोग गर्ने भएको छ । बिहीबार पुटिन र डोनाल्ड ट्रम्पबीच फोनवार्ता भएको थियो । रुसमा पनि कोरोना भाइरसको आतंक बढ्दै गएको छ । रुसमा १ लाख ७७ हजार १६० संक्रमित भइसकेका छन् । रुस सबैभन्दा बढी प्रभावित हुने देशहरुको सूचिमा पाचौँ स्थानमा रहेको छ ।

५. फ्रान्सका प्रधानमन्त्रीले ११ मेबाट बिस्तारै लकडाउन हटाउने बताएका छन् ।

६. जोन्स होपकिन्स युनिभर्सिटीका अनुसार कोरोना भाइरसको कारणले विश्वभर २ लाख ६८ हजार ९९९ जनाको ज्यान गएको छ भने ३८ लाख ३६ हजार २१५ जना संक्रमित भएका छन् । विश्वमा सबैभन्दा बढी प्रभावित भएको देश अमेरिका हो । जोन्स होपकिन्स युनिभर्सिटीका अनुसार अमेरिकामा ७५ हजार ४४७ जनाको ज्यान गएको छ । अमेरिकापछि बेलायत दोस्रो स्थानमा रहेको छ । बेलायतमा ३०, ६८९ जनाको ज्यान गइसकेको छ ।

७. ट्रम्पले पनि बिना प्रमाणको आधारमा भाइरस बुहानको प्रयोगशालामा उत्पन्न भएको आरोप लगाएका छन् । यसभन्दा पहिला अमेरिकाका विदेशमन्त्री माइक पोम्पिओले भाइरस प्रयोगशालामा नै बनेको आरोप लगाएका थिए ।

८.अमेरिकामा बेरोजगारी बढिरहेको छ । कोरोनाको कारणले अमेरिकामा ३ करोड ३३ लाख मानिसले जागिर गुमाइसकेका छन् । गएको साता ३२ लाख अमेरिकन नागरिकले बेरोजगारी भत्ताको लागि निवेदन दिएका थिए ।

९. फ्रान्समा कोरोना भाइरसबाट मृत्यु हुनेहरुको सङ्ख्या घटिरहेको छ । गएको २४ घण्टामा १७८ मानिसको मृत्यु भएको हो । बितेका दिनका तुलनामा यो आंकडा निकै कम भएको बताइएको छ ।

१०. विश्वभर पर्यटन उद्योगको अवस्था निकै नाजुक रहेको छ । पर्यटन उद्योगमा ८० प्रतिशत गिरावट भएको बताइएको छ ।

११. बैंक अफ इङ्ग्ल्याण्डले कोरोना भाइरसले बेलायतको अर्थव्यवस्थामा गहिरो प्रभाव पार्ने आशंका गरेको छ । बैंकले यस सालको देशको अर्थव्यवस्थामा १४ प्रतिशतसम्म गिरावट आउन सक्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्