२२ बैशाख, गुल्मी । गुल्मीमा रासायनिक मल युरिया र डिएपीमा कालोबजारी गर्दै आएको खबर सल्लेरी खबरले सम्प्रेषण गरेको दुई दिनमै मूल्य घटाइएको छ ।
कृषि सामाग्री केन्द्र भैरहवाबाट प्रति केजी युरिया १४ रुपैयाँ र डिएपी प्रति केजी ४३ रुपैयाँमा खरिद गरी गुल्मीमा सहकारी हरूले विभिन्न बहाना देखाउँदै आफूखुसी मूल्य निर्धारण गरी किसानलाई ठग्दै आएका थिए ।
सल्लेरी खबरबाट समाचार सम्प्रेषण भए लगतै जिल्ला प्रशासन कार्यालय गुल्मी, कृषि ज्ञान केन्द्र गुल्मी र स्थानीय तहको ध्यानाकर्षण भएको थियो ।
आइतबार र सोमबार यस विषयमा गहन अध्ययन गरी लागत खर्च अनुसार रासायनिक मलको मूल्य घटाइएको हो ।
जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर छ मा रहेको जनसेवा सहकारीले युरिया र डिएपीमा क्रमशः ५ रुपैयाँ र ४ रुपैयाँ घटाएको छ । यसअघि त्यस सहकारीले युरिया २५ रुपैयाँ केजी र डिएपी प्रति केजी ५४ रुपैयाँमा बिक्री वितरण गर्दै आएको थियो । अब भने सहकारीले युरिया प्रति केजी २० रुपैयाँ र डिएपी प्रति केजी ५० रुपैयाँमा बिक्री वितरण गर्न निर्णय गरेको इस्मा गाउँपालिकाकी उपाध्यक्ष विमला खत्रीले सल्लेरी खबरलाई बताइन ।
यता धुर्कोट गाउँपालिकाले पनि ढुवानी खर्च र प्रति केजी ३ रुपैयाँ नाफा राखी बिक्री वितरण गर्न निर्णय गरेको धुर्कोट गाउँपालिकाका अध्यक्ष भूपाल पोख्रेलले सल्लेरी खबरलाई बताए । सरदर हेर्दा धुर्कोट गाउँपालिका सम्मको ढुवानी खर्च प्रति केजी ३ रुपैयाँ लाग्छ ।
वडाको दुरी अनुसार मूल्य निर्धारण गरिएको र गाउँपालिका भित्र रहेका सहकारीले युरिया र डिएपी मलमा क्रमशः प्रति केजी २३ रुपैयाँ र ५० रुपैयाँ भन्दा बढीमा बिक्री वितरण गर्न पाउने छैन ।
सोमबार बसेको बैठकले मूल्य सुची निर्धारण गर्ने, मूल्य सुची बोर्डको व्यवस्था गर्न, रासायनिक मल सहकारीले बाहेक बिक्री वितरण गर्ने नपाउने र निर्णय कार्यान्वयन नगरे कारबाही गर्ने निर्णय गरेको छ ।
सल्लेरी खबरले गुल्मीमा लाखौँ अनुदान कुम्लाउने सहकारीको मनपरि, युरिया र डिएपि मलमा कालोबजारी शिर्षकमा बैशाख २० गते समाचार सम्प्रेषण गरेको थियो ।