Logo

चौतारा, समाज र संस्कृति



Spread the love

मेरो घर नजिकै पर्छ- राम्चे चौतारा ।

शायद २-३ वर्षको उमेरमा टुकुटुकु हिंडन थाल्दा मेरो कलिलो पैतालाले टेकेको पहिलो चौतारा, जुन मेरो सिखटारको घरबाट मूल बाटैबाटो करीब दुई सय पाइला जति हिंडे पछि पुगिन्छ । चौतारोको डिलमा उभिएको छ- एउटा पुरानो र बुढो समीको रुख, जुन रुख राम्चेको सानो थुम्कोमा उभिएर गाउँलेका अनेकन् सुख-दु:खको मौन साक्षी बनिरहेछ, वर्षौंदेखि ।

बुढीगण्डकी र नेत्रावती नदीको दोभानबाट उत्तरतिर उचालिंदै गएर फेलिएको सल्यानटारको सिरानमा छ सिखटार र त्यही सिखटारको शिरमा छ राम्चेको चौतारा । पश्चिमको बुढीगण्डकी नदीको खोंच हुँदै हिमालबाट दक्षिणतिर झर्ने चिसो बतास र पूर्वतिर आँखु र ह्यापिङ खोला हुँदै उत्तरतिर उकालो लागेको शीतल बतास । यिनीहरुको मिलन हुने स्थान- राम्चेको चौतारा । यहाँको शीतलतामा सिखटारका बासिन्दाले वर्षौंदेखि आफ्ना पिडाका सुस्केराहरु बिसाउन पाएका छन् । जिन्दगीका थकानहरु मेटाउन पाएका छन् ।

हरेक चोटि गाउँ पुग्दा म राम्चेको चौतारा पुगेकै हुन्छु । यसको उत्तर पट्टि काष्टेखोलाको पानीले सिंचेको ठुलीबेसीं फाँट छ । फाँटको पश्चिमतिर हिमालबाट निस्केर नागबेली हुँदै तल्तिर बगेको बुढीगण्डकी नदी छ । नदीको अझ पश्चिमतिर गोरखा जिल्ला । आरुटार, मंगलटारहरु, त्यसभन्दा माथि चनौटे र फुलपाती भञ्ज्याङका डाँडाहरु ।

राम्चेको चौताराबाट तल ठुलीबेसीं फाँटसम्म एउटा साँगुरो बाटोको धर्सो ओरालो झरेको छ र त्यो बाटो हुँदै काष्टे खोला तरेर ठुलीबेसींको उर्वर फाँटमा पुगिन्छ । चौताराबाट फरक महिनामा फाँटका फरक दृश्यहरु हेर्न पाइन्छ । वैशाख जेठतिर मकैका लहलहाएका बोटहरु र चैते धानको हरियाली । असार, साउनतिर रोप्न ठिक्क पारिएका खेतका तरेलीहरु । हलगोरु लगाएर खेत जोत्दै, सम्याउँदै गरेका दृश्यहरु । टिलपिल टिलपिल पानी भरिएर साँझतिरको गोधुली घाममा टल्किएका खेतका गराहरु । खेत रोप्दै गरेका रोपाहारहरु, खेतको हिलो सम्याउँदै गर्ने बाउसेहरु । अहो, यो चौतारो कति भाग्यमानी छ, जसले आँखा नझिम्क्याइकन वर्षैभरि यी सुन्दर दृश्यहरुको रसपान गर्न पाइरहेछ ।

यस्तो लाग्छ, यस चौताराले प्रकृतिका लिला र मान्छेका कर्महरुको चुपचाप रमिता हेरिरहेछ । गाउँका मान्छेहरु थकाइ मेटाउन र शीतल हावा खान मात्र होइन, यी समयसँगै फेरिने प्रकृतिका रंगहरु हेर्न पनि राम्चेको चौतारा जाने गर्छन् । पुष-माघतिर ठुलीबेसीं फाँट कुहिरोले ढपक्क ढाकिंदा राम्चेको चौतारा भने त्यही कुहिरोभन्दा माथि बेदाग, विना लुकामारी उभिरहेको हुन्छ र कुहिरोको पल्लो छेउतिरको सप्राङेको हरियो पाखो, कुपिण्डेको गाउँ र त्यसभन्दा माथिको गंगाजुमनाको अग्लो डाँडोसँगै मुस्कुराइरहेको हुन्छ ।

बाल्यावस्थामा प्रत्येक दशैसँगै पिङ खेल्नुपर्थ्यो । घरछेउमा दुई खाँबो गाडेर, बाबियोको डोरी बाटेर पिङ हालिन्थ्यो । उमेर बढ्दै गएपछि त्यो सानो पिङ खेलेर धित मर्थेन । राम्चेको चौतारीको त्यो ठूलो शमीको बोटको तेर्सो फैलिएको हाँगोमा लामो र बलियो लिंगेपिङ हालिएको हुन्थ्यो । हामी त्यो पिङ खेल्न राम्चेतिर कुद्थ्यौं । साना फुच्चे-फाच्चीहरुको खेल्ने पालो हतपत् आउँथेन । पालो आइहाले पनि तिनीहरु मध्ये सबभन्दा बलियोले दोहोर्‍याई तेहर्‍याई पिङ खेल्थे । कसले बढी पिङ मच्चाउने भन्ने होडबाजी चल्थ्यो ।

चौतारा आयताकार रुपमा ढुंगाको गाह्रो लगाएर उठाइएको थियो र माथि ठूल्ठूला ढुंगाहरु बिछ्याइएका थिए । यसै ढुंगामा मानिस थकाई बिसाउन पल्टन्थे । कोही बाघचाल खेल्थे । कोही उत्तरतिरको ठुलीबेसीं फाँट हुँदै हिमालसम्म फैलिएको दृश्य नअघाउञ्जेल हेर्थे । कोही गोठालोहरु उकालो लाग्दै गरेका गाईवस्तुहरु हेर्न आउँथे त कोही भने तल्तिरबाट गाउँ डुल्दै डुल्दै आएर  यही चौतारीमा बसेर घण्टौं गफिन्थे । यो चौतारी सामाजिक विषयका थुप्रै बैठकहरुको साक्षी बसेको छ । विवाद हुँदा यही चौतारामा कतिले एक आपसमा नाडी खैंचिएका छन् । यसले कैयौं राजनैतिक छलफल र बहसहरु सुनेको छ । कतिका लागि यो प्रेम फक्राउने प्रणयस्थल पनि बनेको छ । कतिका आँखाका आँसुहरु यसै चौतारीमा छचल्किएका होलान्, कतिले यसै चौतारीको छाँयामा आफ्ना मनका बहहरु चुपचाप पोखेका होलान् ।

यस चौतारीमा आँसु मात्र पक्कै पोखिएका छैनन्, यसले हाँसो, खुशी र मिठा सम्झनाहरु पनि पक्कै बाँडेको छ । धेरै वर्ष अघिसम्म यसै चौतारीको छेउमा रोटेपिङ पनि हालिन्थ्यो । दशैंमा हालिएको यो रोटेपिङले राम्चेमा छुट्टै रौनकता ल्याउँथ्यो ।

चौतारो छेउको पिङ खेल्नुको आफ्नै मज्जा त छँदैथियो, बेलुकीपख मान्छेहरु चौतारामा जमघट भएर राति अबेरसम्म मादल घन्काउँदै गीत गाउने पनि गरिन्थ्यो । रातको चकमन्न र सुनसान समयमा मादल घन्काएको, गीत गाएको, पिङमा चचहुऐ गरेको निकै पर परसम्म सुनिन्थ्यो ।

पछि बिस्तारै गाउँले युवाका पाइलाहरु शहर र विदेशतिर लम्किन थालेपछि युवाहरुको उपस्थिति पातलिंदै  गयो । रोटेपिङका सामानहरु पुराना हुँदै गए, हराउँदै गए, मक्किदैं गए । ती पुराना सामानलाई नयाँले विस्थापित गर्दै जानु पर्ने जाँगर गाउँलेमा हराउँदै गयो । पिङका खाँबाहरु पनि पुराना हुँदै र मक्किदैं गए । अन्तत: राम्चे चौतारीको रोटे पिङ मासियो । शमीको रुखको हाँगोमा हालिने बाबियोको डोरीको लिङे पिङ कामचलाउ प्लाष्टिकको डोरीले विस्थापित गर्न थाल्यो ।

रोटे पिङ मासिए पछि धेरै वर्षसम्म त्यो ठाउँ खाली रह्यो । त्यो खाली ठाउँमा केही वर्ष अघि शिवमन्दिर बनाउने योजना बन्यो, मन्दिर निर्माण सम्पन्न भएको वर्ष नै गोरखा महाभूकम्प आयो । मन्दिर छेउको डिलमा पहिरो जाँदा मन्दिर पनि भत्कियो । मन्दिर हाल भग्नावशेषको रुपमा मात्र छ । उता चौतारामा छापिएका ठूल्ठूला ढुंगाहरु पनि समयसँगै यताउति छरिन थाले, फुट्न थाले । हाल सिमेन्टको प्रयोग गरी चौतारोलाई चिटिक्क पारिएको छ ।

नेपालमा चौतारीहरुलाई धार्मिक दृष्टिकोणले हेर्दा पवित्र मानिन्छ । चौतारो बनाउनु हाम्रो समाजमा एक पुण्य कामको रुपमा चिनिन्छ । चौतारामा वर, पिपल र समीका बिरुवाहरु रोपिने गरिन्छ । वर, पीपल रोपेर निश्चित समय पछि यिनीहरुको मान्छेको जस्तै बिहे गरिदिने प्रचलन पनि छ । यसो गर्दा पुण्य मिल्ने र अझ विशेष गरी सन्तान नभएकाहरुका लागि सन्तानप्राप्ति हुने जनविश्वास पनि नेपाली समाजमा रहिआएको छ ।

कतिपय पहाडका बाटोहरुमा यस्ता चौतारीहरुमा विशेष गरी गर्मी मौसममा माटोको गाग्रो भरि पानी राखेर उकालो ओरालो हिंडेर तिर्खाएका बटुवाहरुको प्यास मेटाउन चिसो पानी राखिदिने गरेको पनि भेट्न सकिन्छ । माटोको गाग्रीको पानीलाई ठण्डा बनाईराख्न माटो खाडल खनी त्यसमा राख्ने गरिन्छ र त्यसमा ढकनी तथा अंखोरा पनि राखिने गरिन्छ । सेवाभावबाट प्रेरित मानिसहरु प्रत्येक दिन बिहान उक्त गाग्रीलाई नयाँ पानीले भर्ने गर्दछन् । कुनै ठाउँमा यस्तो पानीमा खुदो (उखुको रस पकाएर बनाइएको झोल) पनि मिसाउने गर्छन् ।

चौतारीहरु पहाडका बाटाहरुमा निश्चित दूरीमा भेट्न सकिन्छ । डाँडाको टुप्पोमा र भञ्ज्याङहरुमा पनि चौताराहरु प्राय: भेटिने गर्छ । डाँडोको टुप्पोमा भएका चौतारोहरुको नजिकै कतिपय ठाउँमा सानो पोखरी पनि खनिएको हुन्छ र त्यहाँ विशेष गरी बर्खायाममा भैंसीहरु आहाल बस्ने गर्छन् । पोखरीको बिचमा एउटा खाँबो पनि गाडिएको हुन्छ । चौतारीमा भएका ठूल्ठूला वरपीपलका रुखको छहारीले पोखरीको पानीको वाष्पिकरणलाई सुस्त तुल्याउँछ । अहिले हामी पानीको पुनर्भरणका लागि पोखरी खन्ने कुराहरु गरिरहेका हुन्छौं, तर डाँडोको टुप्पोतिर खनिएका यस्ता पोखरीहरुले पानीको पुनर्भरणका लागि दिने योगदानको पनि हामी नजरअन्दाज गर्न सक्दैनौं, भलै आजकल यस्ता चौतारी र पोखरीहरु दिनप्रतिदिन मांसिदै गएका छन् ।

मैले यस लेखको शुरुवात त राम्चेको चौतारीबाट गरें, यस बाहेक पनि मेरो आत्मीयता गाँसिएका अन्य थुप्रै चौतारीहरु छन् । सिखटारबाट ठुलीबेसीं जाँदा बाटामा थुप्रै चौतारीहरु भेटिन्छन्, जस्तै: छिपछिपे पानीको चौतारा, आँतमाराको चौतारा, बेलचौतारा, फेदीको चौतारा अनि ठुलीबेसीं फाँटमा भएका गैरीचौतारा, बरख चौतारा, पन्ध्रेको चौतारा आदि । यसमध्ये छिपछीपे पानीको चौतारा नजिकै पानीको मूल पनि छ र पानिको मूललाई सानी ट्यांकीमा संकलन गरी धारा बनाइएको, जसले गर्दा थकित बटुवाहरुले चौतारामा बसेर थकाइ मेटाउने, भरियाले भारी बिसाउने, पानीको प्यास मेटाउने जस्ता कार्यहरु सँगै गर्न सक्दछन् । कतिपय चौताराहरुमा भने एक्लो वर, पीपल वा शमी मात्र हुन्छन् र एकला रुखहरु मात्र भएका ती चौतारीहरुको राम्रो स्याहारसंभार गरिएको पाईंदैन ।

मेरो घर सिखटारबाट आरुघाट, खाञ्चोक, कोखे आहाले हुँदै मामाघर गोरखा बजारसम्म पुग्दा बाटोमा थुप्रै चौताराहरु पार गर्नु पर्थ्यो । हिंड्दै जाँदा अलिक थकानको महसुस हुनासाथ बाटोमा टुप्लुक्क कुनै चौतारा आइपुग्थ्यो । कुनै चौताराहरुको छेउमा स्कूल पनि हुन्थ्यो र राम्रा भवन नभएका स्कूलहरुले गर्मी याममा यस्तै चौतारीको छहारीमा विद्यार्थीहरु पढाइराखेको पनि देख्न सकिन्थ्यो । नजिकै ठूला चौर भएका कतिपय चौताराहरु आमसभाहरु गर्न पनि प्रयोग भएका छन् र चौताराहरुले प्राकृतिक मञ्चको काम पूरा गरिदिएका छन् । घ्याम्पेसालको चौतारालाई मञ्च बनाएर आमसभाहरु आयोजना गरिएको मैले धेरै चोटि देखेको छु । गोरखा दरबार नजिकैको चौतारामा केही शीलालेखहरु राखिएको देखेको छु ।

मामाघर गोरखा जाँदा कोखे आहालेबाट उकालो लाग्दै पाँडे चौतारा भन्ने स्थान पुगे पछि अब मामाघर आइपुग्नै लाग्यो भनेर फुरुक्क होइन्थ्यो र थकित भइसकेका खुट्टाहरुमा पनि नविन ऊर्जा भरिन्थ्यो । गोरखा दरबार नजिकैको एक चौतारालाई रामशाहको चौतारा भनेर चिनिन्छ, जहाँ बसेर तत्कालीन राजा रामशाहले न्यायनिसाफ दिने गर्थे भन्ने कुरा इतिहासमा लेखिएको छ । त्यस्तै, पश्लाङ चौताराको प्रसंग पृथ्वी नारायण शाहको जीवनीमा आउँछ । हुनत पञ्चायत कालमा ‘चौतारामा राजा भेटियो, चौतारीमा रानी भेटियो’ भन्ने जस्ता गीतहरु पनि बनाइएका थिए ।

डा. जगन्नाथ अधिकारीको “शहरी वातावरणमा भएका सार्वजनिक संरचनाहरुको क्षतिको सामाजिक-पर्यावरणीय विश्लेषण: पोखरा शहरको अध्ययन” शीर्षक रहेको अनुसन्धानात्मक लेखमा चौतारो स्थापनाका ऐतिहासिक पृष्ठभूमि, चौताराका ऐतिहासिक, धार्मिक, सामाजिक र साँस्कृतिक महत्व, तिनीहरुको पर्यावरणीय भूमिकाका बारेमा उल्लेख गरिएको छ भने भौतिक पूर्वाधारको विस्तार र बस्ती विकाससँगै मासिन थालेका चौताराहरु र त्यसले पारेको साँस्कृतिक, पर्यावरणीय असरहरुको बारेमा पनि विवेचना गरिएको छ ।

पोखरा उपत्यका नेपालमा प्रशस्त चौताराहरु भएको शहरको रुपमा पनि चिनिन्छ, जहाँ बस्ती विकासको शुरुवाती चरणसँगै चौताराहरु बनाउन थालिएको थियो । विश्राम गर्न, भेटघाट गर्न, गर्मीमा शीतलता पाउन मानिसहरु चौतारामा पुग्थे । आठौं नवौं शताब्दीसम्म पोखरा उपत्यका घना जंगलले ढाकेको थियो । वरिपरिका पहाडतिर गुरुङ, मगर जातिहरुको बसोबास थियो । उपत्यकाको गर्मी हावापानी र औलोको डरले मानिसहरु बस्न त्यति रुचाउँदैन थिए । जाडो समयमा पशुपालन गर्ने किसानहरु गाईवस्तु लिएर उपत्यकामा चराउन आउन थाले । चौधौं शताब्दीतिर कास्कीका पहिलो शाह राजा कुलमण्डन शाहले पोखराको बाटुलेचौरमा हिउँदे आवासगृह बनाए । उनी गाई पाल्नका लागि जनतालाई प्रोत्साहित गर्थे । उपत्यकाको जंगल फाँडेर बिस्तारै चरनक्षेत्र विस्तार गर्न थालियो । कास्कीकोटमा स्थापना गर्न भनिएको विन्ध्यावासिनी देवीको मन्दिर पछि पोखरा उपत्यकामै स्थापना गरियो । मन्दिर स्थापनासँगै त्यस वरिपरिको क्षेत्रमा बस्ती विस्तार हुन थाल्यो । कास्कीका अन्तिम राजा सिद्धिनारायण शाहले काठमाडौंबाट नेवारहरु लगेर व्यापार व्यावसायका गतिविधिलाई बढाए ।

पोखराले बिस्तारै व्यापारिक र सामरिक महत्वको स्थानको परिचय पाउन थाल्यो । यो मुस्ताङ हुँदै तिब्बतसम्म र भारतसम्म व्यापारका लागि ओहरदोहर गर्ने केन्द्रका रुपमा विकसित हुँदै गयो । यसरी व्यापारिक र अन्य उद्देश्य लाएर हिंड्ने बटुवाहरुको सुविधाको लागि चौतारीहरु बनाउन थालिए भने जंगल मासिएर चरनक्षेत्रमा परिणत हुँदै जाँदा शीतलताका लागि रुखहरु रोपिनु जरुरी थियो । यस्तो अवस्थामा वरपीपलका रुखहरु रोपेर चौताराहरु बनाउँदा यसका साथै अन्य उद्देश्यहरु पनि पूर्ति हुन्थ्यो ।

बाटो हिंड्ने बटुवाहरुका लागि छहारी र शीतलता प्रदान गर्नु नै चौतारो स्थापनाको प्रमुख उद्देश्य हुन्थ्यो । प्रचण्ड गर्मीमा खेतबारीमा काम गर्नेलाई विश्राम गर्न र शीतलता दिन पायक पर्ने किसिमले यस्ता चौताराका स्थानहरु छानिन्थे । चौतारोको शीतलताले औलो कम गराउँथ्यो भन्ने जनविश्वास थियो । बस्ती वरपर रोपिएका वरपीपलका रुखहरुले गर्मी याममा वरपरको बस्तीलाई नै शीतल बनाईराख्न धेरथोर मदत गर्थ्यो । यस्ता कतिपय चौताराहरुले बस्ती, टोलको सौन्दर्य बढाउन पनि भूमिका खेलेको पाइन्छ ।

विशेष गरी २००७ साल पछि पोखरामा आधुनिकता र विकासले प्रवेश पाउन थालेपछि पोखरा पश्चिमाञ्चल क्षेत्रको केन्द्र बन्दै गयो । यी चौताराहरुको महत्व भने ओझेलमा पर्दै गयो । बाटो फराकिलो बनाउने नाममा यस्ता चौताराहरु मासिंदै जान थाले । शहरीकरण बढ्दै जाँदा प्रकृति संरक्षण, विकास र संस्कृतिलाई सँगसँगै लैजानुपर्छ भन्ने धारणालाई मानिसले बिर्सन थाले । उपत्यकामा शुरुमा ब्राम्हण क्षेत्रीको बाहुल्यता भए पनि पछिका दिनमा नजिकका पहाडहरुबाट गुरुङ, मगर र अन्य जातजातिहरुको प्रवेश बढ्दै गयो र बढ्दो बसाईसराईंले शहरीकरण पनि तीब्र हुँदै गयो । ब्राम्हण क्षेत्रीहरुले धार्मिक उद्देश्यले पनि प्रशस्त चौताराहरु लगाउँथे । महिलाहरु हप्ताको एक दिन चौतारामा गएर पुजा गर्ने गर्थे । चौतारा लगाएमा पूण्यप्राप्ति हुन्छ र अझ निसन्तानहरुलाई सन्तानप्राप्ति हुन्छ भन्ने पनि जनविश्वास थियो । शहरीकरणको विस्तार हुँदै जाँदा यस्ता परम्परागत सोचाईहरु पनि कमजोर हुँदै गयो । कतिपय सार्वजनिक जग्गाहरुको अतिक्रमण हुन थाल्यो । पोखरामा पर्यटन व्यवसाय बढ्दै जाँदा हिमालको सुन्दर दृश्यावलोकनमा बाधक बनेको निहुँमा पनि चौताराका वरपीपलहरु काटिन थाले । कतिपय बाटो विस्तारको सिलसिलामा काटिए ।

एउटा अध्ययन अनुसार पोखरामा सन् १९७७ मा ६३२ चौतारा रहेकोमा सन् २,००० मा आउँदा २७८ वटा चौताराहरु मात्र बाँकी रहेका थिए र अहिलेसम्ममा यो संख्या अझै घटिसकेको हुनुपर्छ । सडक विस्तारले मात्र होइन, टेलिफोन र बिजुलीका तारहरु टाँग्ने क्रममा, बस्ती विस्तारसँगै नयाँ घरहरु बनाउने क्रममा पनि चौताराका रुखहरु काटिन थाले । सुनिए अनुसार, पोखराका कतिपय वरपीपलका रुखहरु काटेर ईंटाभट्टाहरुलाई दाउरा आपूर्ति गर्न पनि बेचियो । शहरी क्षेत्रमा चौताराको उपस्थितिलाई कतिपय मानिसले त्यति रुचाएनन् ।

यद्यपि आजकल प्रकृतिलाई सन्तुलनमा राखेर मात्र विकासलाई अगाडि बढाउनु पर्छ भन्ने अवधारण पनि प्रबल हुँदै गएको छ । विशेष गरी शहरी क्षेत्रको बढ्दो ट्राफिक र अन्य मानवीय गतिविधिले उत्पन्न हुने बढ्दो तापमान (urban heat Island) को असरलाई न्यून गर्दै लाई शीतलता दिन, हरियाली सौन्दर्य बढाउन, ध्वनि र वायु प्रदुषण घटाउन पनि स्थानीय प्रजातिका रुखहरु रोप्नुपर्ने आवश्यकतालाई मानिसहरुले बुझ्न थालेका छन्, तर घना बस्ती र व्यस्त शहरी सडक किनारमा वर, पीपल, शमीका नयाँ रुखहरु रोप्ने स्थान पाउनु, हुर्काउनु कठीन हुँदै गएको छ । कुनै कुनै ठाउँमा भने यस्ता रुख र चौतारीहरुको संरक्षण र संवर्धन गरिएको पनि देखिएका छन् । जस्तै: मध्ये बानेश्वरको बिच सडकमा भएको पीपलको चौतारीलाई संरक्षण र सम्वर्धन गरेर राखिएको छ । अब योजना तर्जुमा गरिने नयाँ शहरहरु, नयाँ सडक मार्गका उपयुक्त स्थानहरुमा भने योजनाबद्ध किसिमले नयाँ र आयातीत प्रजातिका रुखहरुको साटो वर, पीपल, शमीका चौतारीहरु बनाउन सकिन्छ ।

गौतम बुद्धले पीपलको रुखमुनि बसेर नै बुद्धत्व प्राप्त गरेका थिए । काम गर्ने सिलसिलामा भेट भएका श्रीलंकाका एक बुद्धमार्गी वातावरणविज्ञले यसको धार्मिक महत्वका कारण श्रीलंकामा पीपलको रुख नकाटिने कुरा बताएका थिए । त्यसो त सँगै काम गर्ने एक सामाजिक विज्ञले धनकुटातिर सडकबिस्तारका क्रममा नकाटि नहुने पीपलको रुख काट्नका लागि मधेशबाट एक मुस्लिमलाई झिकाउनु परेको कुरा पनि बताउनु भएको थियो ।

हाम्रो ग्रामीण समाजमा चौतारोको आफ्नै विशिष्ट महत्व छ भन्ने कुरा त पुन: दोहोर्‍याउनु आवश्यक भएन । विकास र प्रकृति संरक्षणलाई सँगसँगै लग्नुपर्ने कुरा आज पनि उत्तिकै सान्दर्भिक देखिएको छ । चौताराहरु सामाजिक, साँस्कृतिक र धार्मिक, पर्यावरणीय धरोहरका रुपमा हामी बिच उभिएका छन् ।

के हाम्रा सन्ततिले पनि त्यसको महत्व र गरिमालाई त्यत्तिकै गहन रुपले बुझ्न सक्लान् त वा बुझ्ने अवसर पाउलान् त?

लेखकबाट थपः

वातावरणीय ईन्जिनियर श्रेष्ठ इन्भाइरोमेन्टल सर्भिसेस नेपाल, इएसएनमा आबद्ध छन् । उनी सल्लेरी खबरका नियमित स्तम्भकार हुन् ।

प्रतिक्रिया दिनुहोस्