Logo

भूकम्प पछिको घरः एक स्मृति



Spread the love

भूकम्प पछिका केही महिनाहरु ज्यादै कठिन थिए । विशेषगरी भूकम्प प्रभावित जिल्लाका हामीजस्ताका लागि झनै कठिन । हाम्रो मात्र होइन, गाउँका सबैको बस्ने ठाउँ नाशिएको थियो । गाउँका केही मानिसको भत्केको घरले पुरिएर ज्यान गयो । त्यस माथि बारम्बार आउने पराकम्पनहरुले गर्दा मानिसहरु धेरै नै आत्तिएका थिए र अब के गर्ने, कसो गर्ने भन्ने बिलखबन्दमा परेका थिए । त्यतिखेर म काठमाडौंमा ललितपुर धोबीघाटको सनराइज टावर्स एपार्टमेन्टमा बस्थें । बारम्बार आउने पराकम्पनले गर्दा कोही मानिसहरु पनि एपार्टमेन्टमा बस्न आँट गरेका थिएनन् । प्राय: मानिसहरुले टेन्ट टाँगेर खुलास्थानमा बस्ने वा आफन्तको नभत्किएको घरमा शरण लिने काम गरेका थिए ।

महाभूकम्पको तीन दिन पछि वैशाख १५ गते म गाउँ (धादिङ, पूर्व सल्यानटार गाविस) गएँ । गाउँ पुग्दा मानिसहरु निराश, हताश र किंकर्तव्यविमुढ थिए । उनीहहरु अस्थायी पाल टाँगेर बसिरहेका थिए । हुरीबतास र वर्षाले उनीहरुको दैनिकी अझ कष्टकर बनाइरहेथ्यो । बाहिरी राहतहरु आइपुगेका थिएनन् वा भर्खर आउने क्रममा थिए ।

गाउँ पुगे पछि मैले पनि तिनै अस्थायी पालमा केही रात गुजार्नु पर्‍यो । घर, शौचालय, पर्खाल लगायतका सबै संरचनाहरु ध्वस्त भएका थिए । घर गए पछि पहिलो काम भत्किएको घरबाट अन्नपात, लुगाफाटो लगायतका काम लाग्ने चिजहरु निकालेर सुरक्षित राखियो । भत्किएको शौचालयलाई सामान्य मर्मत गरेर प्रयोगमा ल्याउन सकिने पनि बनाइयो । घरका काम लाग्ने काठपात, ढुंगा लगायतका सामानको थान्को लगाउने काम भयो । गोठमा बाँधिएका भैंसीहरुलाई अन्यत्र सारियो र गोठलाई सम्याउने, लिपपोत गर्ने, पुराना घरका जस्तापाताले बेरबार गर्ने काम गरेर जसोतसो मान्छे बस्न मिल्ने किसिमको बनाइयो । काठ, जस्तापाताले बेरबार गरेर एउटा सामान्य भान्साकोठा पनि तयार पारियो । निश्चय नै ती दिनहरु निकै कष्टकर रहे ।

भूकम्पले भत्किएको घर । तस्बीरः श्रेष्ठ

बिस्तारै राहतहरु बाँडिन थाल्यो । भूकम्पले हताश मानिसहरुको आँट पनि बढ्दै गयो । त्यसको दुईचार हप्ता पछि गाउँमा मानिसहरुले धमाधम सामान्य किसिमका जस्तापाता/काठले बेरेका टहराहरु बनाउन थाले । हाम्रो पनि यस्तै एउटा टहरा बन्यो । राहतस्वरुप काठमाडौंबाट विभिन्न संघसंस्थाहरुको सहयोगमा जस्तापाताहरु दिए र धन्न मानिसहरुलाई वर्षायाममा ओत लाग्ने भरपर्दा टहराहरु बनाउन मदत पुग्यो । गाउँमा सबैको बसाई करिब एक वर्षसम्म यसरी नै जेनतेन मर्मत गरेर बनाइएको गोठ र टहरामा गुज्रियो । दशैं तिहार पनि तिनै टहरामा मनाइए ।

त्यसपछिको हिउँदमा गाउँमा केही परिवारका लागि विभिन्न सहयोगी संस्था र मित्रहरुसँग मिलेर अलि पक्की किसिमका ट्रसका टहराहरु बनाइए । गाउँमा पहिलो नमूना ट्रसको घर हाम्रै बन्यो । यो ट्रसको घर बनेपछि परिवारका बसाई अझ केही सहज भए । भान्साका लागि छुट्टै टहरा घर पनि बन्यो । यति हुँदाहुँदै पनि पक्की घरको आवश्यकता खट्कि नै राखेको थियो ।

भूकम्प पछि राहत स्वरुप जस्तापाता बितरण गरिँदै । तस्बीरः श्रेष्ठ

यसबिचमा सरकारले भूकम्प पिडीतका लागि घर बनाउन केही रकम अनुदान उपलब्ध गराउने भयो । गाउँमा बसाईसराई वा अन्य कुनै पनि विकल्प नभएका मानिसहरुले धमाधम आ-आफ्नो हैसियत अनुसार पक्की घर बनाउन थाले । मेरा लागि सबै परिवार काठमाडौंमा ल्याएर गाउँलाई तत्काल चटक्कै छाड्न सकिने परिस्थिति थिएन । आवश्यकता र सोच अनुसारको पक्की घर बनाउनका लागि पर्याप्त पुँजीको जोहो पनि भएको थिएन । केही समय प्रि-फ्याबको घर बनाउने कि भन्ने सोच पनि आयो,  तर सुरक्षा प्रबन्ध, पर्याप्त कोठा हुनुपर्ने र त्यसका लागि बढी जमीन चाहिने आदि कारणले गर्दा प्रि-फ्याब घर बनाउने योजना तुहियो ।

मेरो गाउँ सिखटार काठमाडौंबाट लगभग १२० किलोमिटरको दूरीमा छ । काठमाडौंबाट पृथ्वी राजमार्गको नौबिसे हुँदै त्रिशुली नदीको मलेखु नजिकैको पुल भएर धादिङ बेसीं पुग्नुपर्छ र धादिङबेसीबाट सल्यानटारको बाटो पक्रनुपर्छ ।

अहिले हामी आम नेपालीमा गाउँबाट अलिक सम्पन्न भएपछि नजिकको शहरबजारतिर बसाईं सर्ने, अझ सम्पन्न हुनसके जिल्ला सदरमुकाम र अझ सम्पन्नताको परिचय दिन चितवन, पोखरा जस्ता स्थानहरु र अझ भनौं काठमाडौंमै पुग्नुपर्ने, परिवार, बालबच्चालाई शहरमा राख्नुपर्ने, घडेरी जोड्नुपर्ने र घर ठड्याउनुपर्ने, नत्र समाजमा नाक ऊँचो नहुने सोच र मनोप्रवृत्ति झाँगिंदै गएको छ ।

अझ राजधानीबाट पखेटा हालेर अमेरिका, अष्ट्रेलिया, क्यानडा, युके आदि पुग्नु पर्ने सपनाले पनि हामीलाई राम्रैसँग गाँजेको छ । सपना देख्नु आफैंमा नराम्रो होइन । सँधैजसो बढी सेवा, सुविधाको आशा गर्नु र त्यतातिर आकर्षित हुनु मानिसको जन्मजात प्रवृत्ति हो, तर यी सबै कुराहरुको मारमा भने हाम्रो गाउँघर परेका छन् । हाम्रा गाउँघरहरु परित्यक्त बन्दैछन् र क्रमश: वृद्धवृद्धाहरु बस्ने वृद्धाश्रममा परिणत हुँदैछन् । शिक्षित र बलियाबांगाहरु शहर, विदेश पस्ने र सकेसम्म त्यतै घरजम जमाउने भए । बाँकी बचेका पनि छोराछोरी पढाउने वा औषधीमुलो गर्ने वा यस्तै केही निहुँमा शहरतिरै अड्किन चाहने भए ।

कहिलेकाहीं गाउँ जाँदा यस्तो लाग्छ, गाउँ टुहुरो र सुनसान भएको छ, शिवाय दशैं तिहारतिर केही दिनका लागि जाने मानिसहरुका हुलले थप्ने क्षणिक रौनकता बाहेक ।

कहिलेकाहीं गाउँ जाँदा यस्तो लाग्छ, गाउँ टुहुरो र सुनसान भएको छ, शिवाय दशैं तिहारतिर केही दिनका लागि जाने मानिसहरुका हुलले थप्ने क्षणिक रौनकता बाहेक । खोरियाहरु वनमा परिणत हुँदैछन्, बारीहरु बाँझो हुँदैछन्, खेतभरि झार उम्रन थालेका छन् । असारे रोपाईंको रोचक दृश्य दुर्लभ हुँदै गएको छ । गाउँले आजकल आफैं धान फलाउनु भन्दा पसलको चामल किन्नु निको मान्न थालेको छ । गाइगोरुहरु पाल्न छाडिएका छन् । गाउँले आजकल मोही पिउनु भन्दा हातमा कोकको बोतल समाउनुलाई इज्जतिलो ठान्न थालेको छ । सिलिण्डरको ग्याँस गाउँगाउँमा पुग्न थालेको छ । गाउँघर वरिपरि जताततै बाँदरले साम्राज्य जमाउन थालेका छन् र तिनका सामु मानिसहरु निरीह बन्न थालेका छन् ।

गहिरो एकान्तबासमा सुनसानप्राय गाउँले चौतारी । तस्बीरः श्रेष्ठ

गाउँले बलियो बनाएका पाखुरालाई आजकल गाउँभन्दा शहर प्यारो लाग्छ, गाउँमा हुर्किएका सपनाहरु शहर पसेपछि शहरतिरै अल्मलिन थाल्छन् ।

के हामीले गाउँलाई यस्तै परित्यक्त बनाउने हो त ?

के खाली काठमाडौं र देशका केही ठूला शहरहरुले मात्र नेपाल बोक्न सक्छ त ?

के आफू शिक्षित, सभ्य र सुसंस्कृत बन्ने नाउँमा आफ्नो जन्मस्थान र गाउँको चटक्कै माया मार्नै पर्ने हो त ?  

हामी गाउँलाई अबुझ, अज्ञानी र हेपिएको संज्ञा दिन्छौं, तर आफुलाई शिक्षित र केही जानेबुझेका ठानिएकाहरुले समेत गाउँलाई बिर्सँदै जाने हो भने गाउँ कसरी बन्ला त ?

के गाउँ नबनी नेपाल बन्न सक्ला र ?

सक्षम र शिक्षितहरुले आफ्नो पसीना, ज्ञान र प्रतिभालाई शहरलाई उर्वर बनाउन मात्र खर्चिने हो भने गाउँहरु झन् उजाडिंदै जाँदैनन् र ?

गाउँको मूलको पानी खाएर हुर्केने, तर आफ्नो जीवनको सम्पूर्ण कमाई शहरबजारमा घरघडेरी जोड्न, घर ठड्याउन र छोराछोरी विदेश पठाउनमा मात्र खर्च गर्ने हो भने हामीले सरकार वा अरुलाई मात्र गाउँ उज्यालो बनाइदिन केही गरिदिएनन् भनी दोषारोपण गर्नु कुनै नैतिकता होला र ?

हो, गाउँमा पक्की घर बनाउने कि नबनाउने भन्ने निर्णयमा पुग्नु अघि यस्ता थुप्रै प्रश्नहरु मेरो मथिंगलमा घुमिरहे । गाउँमा एउटा पक्की घर बनाउनै पर्छ भन्ने निष्कर्षमा म पुँगे । बरु यो घर बनाउँदा आवास प्रयोजन बाहेकका अन्य प्रयोजनहरुको बारेमा पनि सोच्नु पर्छ जस्तो लाग्यो । भुँईचालो पश्चात् गाउँघरले निकालेको एउटा निष्कर्ष के थियो भने ढुंगामाटोको गाह्रोले बनेका घरहरु भूकम्प प्रतिरोधी हुँदैनन्, कंक्रिटकै घर बनाउनुपर्छ । दुरदराजका गाउँसम्म कंक्रिटकै घरहरु बन्ने प्रवृत्तिले व्यापकता पाउन थाल्यो । अबका दिनहरुमा शायद पुराना नेपाली शैली र मौलिकताका घरहरु देख्न दुर्लभ हुँदै जानेछन् ।

हुन त गाउँघरका परम्परागत आवश्यकता र ढाँचालाई समेत कायम राखेर मौलिक नेपाली शैलीका घर बनाउनलाई प्रोत्साहन गर्नु पर्छ भन्ने रोइलो पनि सुनिने गरेको छ, तर खै त त्यो मौलिक शैली र स्थानीय सामाग्री प्रयोग गरेर बनाउन सक्ने भूकम्प प्रतिरोधी किसिमका घरका ढाँचाहरु ?

हुन त गाउँघरका परम्परागत आवश्यकता र ढाँचालाई समेत कायम राखेर मौलिक नेपाली शैलीका घर बनाउनलाई प्रोत्साहन गर्नु पर्छ भन्ने रोइलो पनि सुनिने गरेको छ, तर खै त त्यो मौलिक शैली र स्थानीय सामाग्री प्रयोग गरेर बनाउन सक्ने भूकम्प प्रतिरोधी किसिमका घरका ढाँचाहरु ? भूकम्प पश्चात् पुनर्निर्माणको पाँच वर्ष पनि करीब बितिसक्यो, तर खै त कुनै सरकारी वा प्राज्ञिक/अनुसन्धानमूलक संस्थाहरुले यो शून्यतालाई पुर्न सकेका ? भलै मैले केही समय मात्र नाष्ट र भवन विभागको सहकार्यमा यस सम्बन्धित अनुसन्धान केन्द्र स्थापना हुँदै गरेको कुरा सुनेको छु ।

म पनि कंक्रिटकै घर बनाउने निधोमा पुँगे र घरको डिजाइन/नक्शा तयार गर्नतिर लागें । घर बनाउन थालियो ।

भुईंतलाका लागि काठकै चौकोस, खापाहरु प्रयोग गरिने भइयो, तर काठको स्थानीय मूल्य यति महँगो रहेछ कि मैले काठमाडौंकै काठ गोदामहरुबाट लगेको भए पनि त्यो बढी सस्तो पर्ने रहेछ । यो कुरा मेरा लागि अलिक विष्मयकारी नै भयो । पछि बुझ्दा यसो हुनुको कारण नजिकका सामुदायिक वनहरुबाट अग्राख काठको आपूर्ति अत्यन्त न्यून हुने, जसोतसो ती वनबाट निकाल्ने काठहरु पनि नजिकका काठ व्यापारी वा फर्निचरवालाहरुले अवैध ढंगले संकलन गर्नु पर्ने हुनाले काठको स्थानीय मूल्य अत्यधिक भएको जानकारी पाएँ ।

हामी गर्वका साथ भन्ने गर्छौं कि हाम्रो देशकको ४५ प्रतिशत भूभाग वनजंगलले ढाकिएको छ र हाम्रै त्रिपुरासुन्दरी गाउँपालिका (धादिङ) को पनि लगभग ५० प्रतिशत भूभाग वनक्षेत्रले ओगटेको छ जस्तो लाग्छ, तर स्थानीय समुदाय घर बनाउने काठका लागि अवैध संकलनका वा बाहिरबाट आपूर्ति गरिएको काठमा निर्भर रहनुपर्ने अवस्थालाई विडम्बना नै मान्नुपर्छ ।

गएका दश बीस वर्षमा हाम्रा गाउँहरुले गुमाएको अर्को कुरा के रहेछ भने गाउँमा घर बनाउनका लागि न त दक्ष मिस्त्रीहरु उपलब्ध रहेछन्, न त अदक्ष कामदार नै । गाउँका अधिकांश युवाहरु मलेशिया वा खाडी मुलुकतिर श्रम बेच्न गएको कुरा त हामी सबैलाई अवगतै छ । मेरो गाउँ पनि यसबाट अछुतो छैन । गाउँमा निर्माण कार्यमा संलग्न हुने प्राय: सबै मिस्त्री र कामदारहरु बारा, पर्सा, रौतहट, सर्लाही र अझ भारतका बिहार र उत्तर प्रदेशबाट समेत आउँदा रहेछन् ।

हुनत काठमाडौंका गल्ली वा ठूला शहरबजारहरुमा सीप तालिम केन्द्रका बोर्डहरु पनि देख्न सकिन्छ, तर त्यहाँ उत्पादित दक्ष जनशक्तिको श्रम र सीपबाट नेपालले भन्दा पनि खाडी मुलुक, मलेशियाहरुले बढी लाभ लिंदैछ कि जस्तो लाग्यो ।

घरको पहिलो ढलान २०७६ सालको साउन महिनामा भयो । दोस्रो कात्तिकतिर र तेस्रो माघतिर । घर वरिपरि कम्पाउण्ड गाह्रो लगाउने, फूलबारी बनाउने, रुखहरु रोप्ने आदि कार्य भने बिस्तारै गर्नुपर्ला, किनकि गाउँको घरलाई सकेसम्म प्रकृतिमैत्री र चिटिक्क पनि पार्नु त छ नै, यस घरलाई भविष्यमा ग्रामीण पर्यटन प्रवर्धनका लागि समेत उपयोग गर्ने सोच पनि जुन छ । घरका लागि आवश्यक केही जरुरी सामानहरु यही चैत्र महिनामा लग्ने योजना बनाउँदै थिएँ । अर्को कोरोना महामारी अकस्मात् आएर काठमाडौंमा घरभित्रै बन्दी हुनुपर्ने अवस्था सिर्जना भएको छ र केही अपूरा कामहरु गर्न पाइएको छैन ।

यही २०७७ साल वैशाख १२ गते आज गोरखा महाभूकम्प गएको पाँच वर्ष पुगेको छ । यो पाँच वर्षमा भूकम्पको विपद्बाट माथि उठ्न सकेको अनुभूति भने हुँदैछ । २०७२ सालमा भर्खरै भूकम्प गएका बेलामा फेसबुक स्टाटसमा लेख्ने गरिएको “We will rise again (हामी फेरि उठ्नेछौं)”, “Build Back Better (पहिलेको भन्दा राम्रो बनाऔं)” जस्ता नाराहरुलाई धेरथोर मूर्तरुप दिन सकियो कि जस्तो पनि लागेको छ । 

२०७२ वैशाख १२ को गोरखा भूकम्पले त नेपालका १५ जिल्लाहरु बढी मात्रामा प्रभावित भएका थिए । यसको असरबाट माथि उठ्न करीब पाँच वर्षको समय लाग्यो भने यो कोरोना भाइरसको वैश्विक महामारीले कति असर पार्ने हो, यसको प्रभावबाट बच्न र आगामी दिनमा अगाडि बढ्न के कस्ता चुनौतीहरु आइपर्ने हुन्, यसै भन्न सकिने अवस्था छैन । यस महामारीसँग जुध्न काठमाडौंकै एपार्टमेन्टमा बन्दी भएर बस्नु पर्दा त्यो गाउँको घरको झन् झन् याद आएको छ ।

वातावरणीय ईन्जिनियर श्रेष्ठ इन्भाइरोमेन्टल सर्भिसेस नेपाल, इएसएनमा आबद्ध छन् । उनी सल्लेरी खबरका नियमित स्तम्भकार हुन् ।

प्रतिक्रिया दिनुहोस्