Logo

कौशल



Spread the love


–प्रेमचन्द

पण्डित बलराम शास्त्रीकी धर्मपत्नी मायालाई धेरै दिन अगाडि देखि नै एउटा हार लगाउन खोजिरहेकी थिइन् र पण्डितलाई यसको लागि धेरै पटक आग्रह गरेकी थिइन् । तर पण्डितजीले काग कराउँदै जान्छ पिना सुक्दै गर्छ भने झैं सुनेर पनि वेवास्ता गरिरहेका थिए । पण्डितले स्पष्टसँग आफूसँग पैसा नभएको बताउँथे । धर्मपत्नीले बेला बेलामा हारको इच्छा गर्दा पण्डितको पराक्रममा आँच आउँथ्यो अनि उनी विभिन्न तर्कहरु झिकी हारबाट टाढा भाग्न खोज्थे ।

गहनाबाट केही फाइदा हुँदैन । एक त धातु सही पाइंदैन त्यसमा पनि सुनारले अनि सबैभन्दा ठुलो समस्या घरमा गहना राख्नु भनेको चोरलाई निम्ता गर्नु हो । एकैछिनको श्रृङ्गारको लागि यति धेरै जोखिम उठाउनु ठिक होइन । बिचारी माया तर्कशास्त्र पढेकी थिइनन् । यस्ता खालका युक्तिबाट उनी मौन बस्थिन् ।

छिमेकीलाई देखेर उनलाई हारको लालच लाग्थ्यो तर दुःख कसलाई भन्नु ? यदि पण्डित धेरै मिहिनेत गर्थे भने हार पाउन सजिलो हुन्थ्यो । तर पण्डित निकै अल्छी थिए । उनको अधिकांश समय भोजन र आराममा बित्दथ्यो । पत्नीको कचकच सुन्न उनलाई मन्जुर थियो तर निद्रा भने एक रत्तिभर कमी हुन दिंदैनथिए पण्डित ।

एकदिन पण्डित पाठशालाबाट आए अनि उनले श्रीमतीको घाँटीमा हार देखे । हारको चमकले मायाको अनुहार पनि चम्किएको थियो । यसभन्दा पहिला उनले आफ्नी श्रीमतीलाई यति सुन्दर देखेका थिएनन् । घाँटीमा हार देखेपछि अचम्मित हुँदै पण्डितले सोधे–यो हार कसको हो ?
मायाले भनिन्– छिमेकमा बाबु बस्छन् नि, उनकी श्रीमतीको हो । आज म उनलाई भेट्न गएको थिएँ । यो हार निकै मन पर्यो अनि तिमीलाई देखाउनको लागि लगाएर आएँ । बस् मलाइ पनि यस्तै एउटा हार बनाइदेउ ।

पण्डित– अरुको सामान किन मागेकी ? कतै चोरी भयो भने हार त बनाउनै पर्छ अनि बदनामी पनि हुन्छ ।
माया– मलाइ त यस्तै हार नै चाहिन्छ । २० तोलाको छ ।
पण्डित– फेरि उही जिद्धी ?
माया–सबैले लगाउँछन् त मैले किन नलगाउनु ?
पण्डित– सबै खाल्डोमा परे के तिमी पनि खाल्डोमा पस्छ्यौ ? सोंच, अहिले यो हार बनाउन ६०० रुपैयाँ लाग्छ । यदि हामीले ६०० रुपैयाँ ब्याचमा लगायौँ भने ५ वर्षमा १०० रुपैयाँ हुनेछ तर ५ वर्षमा तिम्रो हार बढीमा ३०० रुपैयाँको हुन्छ । यति धेरै नोक्सान उठाएर लगाउनुको के आनन्द ? हार फिर्ता देउ, खाना खाउ अनि आराम गर ।
यति भन्दै पण्डित बाहिर गए ।
राति एकाएक मायाले ठुलो स्वरमा आवाज निकाल्दै चोर चोर घरमा चोर, मलाइ घिसार्दै लग्यो भनिन् ।
पण्डित आत्तिदै उठे अनि भने– कहाँ छ चोर ? कहाँ ?
माया– मेरो कोठामा गयो । मैले उसको छायाँ देखेँ ।
पण्डित–लालटिन देउ अनि मेरो लट्ठी पनि देउ ।
माया– म त डरले उठ्नै सकेकी छैन ।
एउटा मानिस पण्डितको घरबाहिरबाट बोल्यो–के भयो पण्डितजी ? के को हल्ला हो ?
माया– होइन, होइन, छानाबाट आएको थियो । मेरो निद्रा खुल्यो अनि मैले मप्रति झुकेको देखेँ । लौ न मेरो हार लगेछ । लगाएरै सुतेकी थिएँ । हे भगवान् !
पण्डित– तिमीले हार किन निकाल्यौ त ?
माया– मलाइ के थाहा कि आज नै यस्तो हुन्छ भनेर ? हे भगवान्
पण्डित– अब हे भनेर के हुन्छ ? आफ्नो कर्मलाई धिक्कार । यस कारणले भनेको थिएँ कि सबै घडी बराबर हुँदैनन् । थाहा हुँदैन के के हुन्छ । बल्ल तिम्रो दिमागमा मेरो कुरा घुस्यो, हेर कतै अरु सामान त लिएको छैन नि ?
छिमेकीले लालटिन लिएर आए । घरको कुना कुनामा हेरे । घरमा कोही पनि देखिएन । पूजा गर्ने ठाउँ हेरियो, छतमा हेरियो, अगाडि पछाडि हेरियो, शौचालयमा हेरियो तर चोरको नाम निशान थिएन ।
एक छिमेकी– कुनै जानकारी राखेको मानिसको काम हुनुपर्दछ ।
अर्काे छिमेकी– घरभित्र नगइकन कहिल्यै चोरी हुँदैन ।
माया– भाँडा सबै छन् । बाकस पनि बन्द नै छ । अभागीको लानु नै थियो भने मेरो वस्तु लिएर जानु नि । अर्काको वस्तु पर्यो । भगवान अब मैले कसरी मुख देखाउने होला ?
पण्डित– अब गहनाको आनन्द आयो नि ?
माया– हे भगवान, यो त बदनामको नियत थियो ।
पण्डित–मैले कति सम्झाएको थिएँ, तिमीले मानिनौँ । कुरा गर्दागर्दै ६०० रुपैयाँ गयो । अब भगवानलाई हेरौँ कसरी लाज राख्छन् ।
माया– अभागी । मेरो घरको एक एक कुना छानेर लिएर गएको भए मलाइ यति दुख हुँदैनथ्यो । भर्खर त बिचारीले नयाँ हार बनाएकी थिइ ।
पण्डित– खुब थाहा छ, २० तोलाको थियो ?
माया– २० तोलाकै थियो भन्थी उसले ।
पण्डित– अब के भन्छ्याै त ?
माया– भनिदिन्छु कि घरमा चोरी भयो । के उसले माग्ली र ? अब त्यो हारको लागि कसले चोरी गर्छ र ?
पण्डित– तिम्रो घरबाट सामान हरायो । तिमीलाई सामान दिनै पर्छ । उनीहरुलाई के मतलब कि चोरले लगोस् या तिमीले राख्यौ ।
माया– अब यति धेरै रुपैयाँ कहाँबाट आउँछ ।
पण्डित– कतै न कतैबाट त आउला नि, नत्र इज्जत कसरी रहन्छ । तर तिमीले भुल गर्यो ।
माया– भगवान्
पण्डित– अब पछुताएर के गर्छौ ? चुप बस । छिमेकीलाई बताउनु कि आत्तिन पर्दैन । तिमीहरुको सामान पाउनेछौ, जबसम्म तिमीहरुले सामान पाउँदैनौ तबसम्म हामीलाई निद्रा लाग्ने छैन ।

पण्डित बालकराम अब भने दिनदिनै चिन्तामा डुब्न थाले । छिमेकीको सामान फर्काउनै पर्छ । अब भने पण्डितजी अल्छीपनालाई छाडेर पैसा कमाउन लागिपरे । छ महिना भर दिनरात गरी काम गर्न थाले । यसको लागि उनले दिनमा सुत्न छाडे, राति अबेलासम्म काम गर्न थाले । पहिला एउटा पाठशालामा पढाउँथे । पहिला उनी ब्राह्मणकाे लागि व्यवसाय गर्नु उनी पाप सम्झन्थे । अब भने उनी पाठशालाबाट फर्केर भागवतको कथा भन्न थाले । कथा सकिसकेपछि रातको ११–१२ बजेसम्म जन्म कुण्डली, वर्षफल बनाउन लागे । प्रातः कालमा उनले दुर्गा मन्दिरमा पाठ गर्न लागे । माया कहिलेकाहीँ पण्डितजीको बेफुर्सदीपन देखेर मैले कहाँ फसाएँ भनी पछुताउँथी ।

पण्डितजीको शरीर कमजोर हुँदै गयो । मायालाई पण्डितजीको हालत देखेर चिन्ता लाग्न थाल्यो । एवम रीतले पाँच महिना बित्यो । एक दिन बेलुका बत्ति बाल्ने बेलामा पण्डितजी आए । पण्डितले गोजीबाट हार निकाली मायाको नजिक झोला फ्याँकिदिंदै बोले–‘आज तिम्रो ऋणबाट मुक्त भएको छु ।’

मायाले झोला खोली हेर्दा त्यसमा सुनको हार थियो । हारको चमक, सुन्दरता, बनोट देखेर उसको अन्तरआत्मामा काउकुति लाग्न थाल्यो । मुखमा आभा देखियो । उसले डराएको नजरबाट सोधी– खुशीले दियौ कि रिसले दियौ ?

पण्डित– यसको के मतलब ? ऋण त तिर्नै पर्छ, खुशी होस् या नखुशी ।
माया– यो ऋण होइन ।
पण्डित– अनि के हो त ? बदला ?
माया– बदला पनि होइन ।
पण्डित– अनि के हो त ?
माया– तिम्रो चिनो ?
पण्डित– अब उसो भए ऋण लिएर अर्को हार बनाउनु पर्छ ?
माया– नाइँ नाइँ, त्यो हार चोरी भएको थिएन । मैले झुट बोलेर हल्ला गरेको थिएँ ।
पण्डित– साँच्चै ?
माया– हजुर, साँचो नै हो ।
पण्डित– मेरो कसम ?
माया– तपाईंको पाउ छोएर भन्छु ।
पण्डित– ए तिमीले मसँग कौशल
माया– हजुर
पण्डित– तिमीलाई थाहा छ ? तिम्रो यो कौशलको मूल्य मलाइ के के दिनुपर्यो ।
माया– के ? ६०० भन्दा बढी ?
पण्डित– धेरै बढी, यसको लागि मलाइ आफ्नो आत्मस्वाभिमानको बलिदान दिनुपर्यो ।

प्रतिक्रिया दिनुहोस्