Logo

मजदुरको व्यथा र कोरोना प्रभाव



Spread the love
            

– रेखा पाैडेल

“दाई हाम्रो घरमा मासु नखाएको पनि कति धेरै दिन भयो है, मलाई त कस्तो खान मन लागेको छ ।” सानो भाईले सोधेको प्रश्नले दाईको मन अमिलो भयो ।

उमेरले सानै भएतापनि एउटा गरीब मजदुरको घरमा जन्मेपछि सानैमा आउने मजवुरीको ठूलो परिपक्वता दाईमा हुनाले भाईको मायालाग्दो अनुहारतिर हेरेर दाईले सम्झाउँदै भन्छ, “हुन त हो बाबु तर आमालाई नभन है । कोरोना भाइरस आएको भएर बुवा भारी बोक्न जान पाउनुभएको छैन, अनि आमा पनि त कसैकोमा लुगा धुन जानुभएको छैन नि । काम गर्न नगएपछि उहाँहरुसँग पैसा हुँदैन । थौरै मासु किन्ने पैसाले चामल किनेर भात खानु पर्छ है ।” सानो भाईले आफ्नो बुद्धिमता दाजु सामु देखाउँदै भन्छ, “यदि आमाले बाबु के खाने भनेर सोध्नुभयो भने मलाई मासु खाने मन छैन भन्छु ल ।” आफ्नो छोराहरुको वार्तालापवाट भावुक हुदै आमा आँसु लुकाउँछिन् । केही नदेखेजस्तो, केही नसुनेजस्तो नाटक गर्दछिन् । आफूले आफैलाई धिर्काछिन् । आफ्ना अबाेध छोराको सामान्य इच्छा पुरा गर्ने सपना हुदाँहुदै पनि नसुने जस्तो गर्ने उनको आफ्नौ बाध्यता छ । आफ्नो मजदुरीको बाध्यता छ ।

आज एक्काईसाैँ शताब्दिको गतिशील युग जहाँ बाँच्न पाउने अधिकार सबैलाई दिएको छ । तर, अस्तित्वको लागि सङ्घर्ष गर्नुपर्ने यो समाजमा मजदुरलाई पनि उनीहरुको हक अधिकार विभिन्न ऐन, कानुन तथा नियमहरुको दस्तावेज मार्फत ठेलीको ठेली दिईएको छ । तिनै मजदुरको बाध्यता र विवशता माथि राजनीति गरेर कैयाैँ घर बने त कैयौँको सात पुस्तालाई पुग्ने गरी सम्पत्ति पनि जम्मा भयो तर वास्तविक मजदुरलाई हिजोको दिनमा जे समस्या थियो आजको दिनको पनि त्यहीं समस्या जहाँको त्यहीं छ । हिजोको दिनमा पनि दिनभर काम नगरी सुखसँग साँझबिहान हातमुख जोर्न गाह्रो हुन्थ्यो त आज पनि अवस्था त्यहीं छ । एकदिन बिरामी भएर काम नगर्दा जहान छोराछोरी भोकै हुने अवस्था आज पनि छ । मजदुरको हक अघिकारको जति नै टिकाटिप्पणी गरेतापनि व्यवहारिक पाटोमा केही भएको छैन ।

अहिले धर्तीलाई विश्राम र प्रकृतिलाई हाईसन्चो गराउँदै प्राकृतिक शक्तिकाे सामु मानव निर्मित शक्ति डगमगाएको अवस्था छ । जहाँ धेरै मानिस त आफ्नो अस्तित्व रोगबाट जोगाउन सक्लान् तर दिउँसो काम गरेर साँझ छाक टार्ने श्रमिकवर्गलाई रोगको महामारीबाट भन्दा भोकमरीबाट आफ्नो अस्तित्व जोगाउन गाह्रो भएको अवस्था छ । कोरोना महामारीको कारण विश्व नै बन्दावन्दीको अवस्थामा छ ।

कृषि, उघोग, व्यापार ,पर्यटन, निर्माण, यातायात, बैंकिङ, आन्तरिक तथा वैदेशिक रोजगारी गरी प्राय सबै क्षेत्रका गतिविधिमा प्रभाव परेको छ । यस्तो विषम परिस्थितिमा कोरोना महामारीका कारण संसारभरीका शहरमा बसोवास गर्ने करोडाैँ मानिस बेरोजगारीको कारण गरीब हुने आंकलन विशेषज्ञहरुले गरेका छन् । नेपालमा पनि कोरोना महामारीका कारणले गर्दा लाखौँको संख्यामा बेरोजगार भएका छन् भने त्यतिकै मात्रामा वैदेशिक रोजगारवाट नेपाल फर्केका छन् । यी समस्याको मारमा मुख्य रुपमा दैनिक ज्यालादारीमा काम गर्ने मजदुर वर्ग नै धेरै छन् । । यी समस्या नितान्त रुपमा आर्थिक समस्या हुन् जसको समाधान राजनीतिक रुपमा खोज्ने गरिएमा झन् ठुलो समस्या सिर्जना हुन सक्छ । वास्तविक निमुखावर्ग जसको राजनैतिक पहुँच छैन उनीहरु मारमा पर्छन् । वास्तविक मारमा को छ ? कसले कति क्षति व्यहोनुपर्यो जस्ता यथार्थपरक अनुसन्धान नगरी आर्थिक समस्यालाई राजनीतिकरण गर्दा वास्तविक क्षति हुने निमुखा वर्ग वञ्चित भएका छन् ।

सरकारले राहतको प्याकेज तयार गर्दा दैनिक ज्यालदारीमा काम गर्ने कामदार जो कोरोनाकै कारणले बेरोजगार भएका छन्, जसको बचत छैन, दैनिक बिहान बेलुका हातमुख जोर्न नसक्ने अवस्थामा छन्, तिनीहरुलाई सरकारले हेर्नुपर्छ । सरकारले लकडाउनको समयलाई सार्वजनिक विदा सरह मानेर काम नगरे पनि तलव दिने र काम गरेमा ओभर टाईम सरह मानेर सेवा सुविधा दिने भएको छ तर दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकको लागी विशेष राहत प्याकेज के छ ? वास्तवमा कोरोनाले अधिकांश मुलुकको परीक्षा पनि लिएको छ । खासगरी त्यहाँको सरकार र स्वास्थ्य संयन्त्र तथा मानव सभ्यताको परीक्षा लिएको छ । यस परीक्षामा कतिपय मुलुकले विश्वमा नै आफ्नो नाम चम्काउने मौका पाए । कतिपय मुलुकको स्वास्थ्य सेवा अत्यन्तै दु्रत, छरितो र प्रभावकारी भयो । नागरिकको सेवा सुविधामा ध्यान पुर्याइयो भने कतिपय मुलुकको सरकारले नागरीकको संवेदनशीलतामा लात मार्दै धमिलो पानीमा माछा मार्ने दाउपेचमा लाग्यो ।

कोरोना महामारीको कारणवाट देशमा अकस्मात रुपमा रोकिएको आम्दानी र मासिएको बचतले आर्थिक पाटोमा लामो समयसम्म असर पार्दछ नै । यसका साथै अहिले कोरोनाको कारणबाट पर्ने असरभन्दा पनि भविष्यमा भोकमरीको कारणबाट अझै ठूलो क्षति समेत हुन सक्छ । औषधि नै नपाएर झन् ठूलो विपत्त आउन सक्छ । माथि उल्लेख गरिएका कथाका पात्रहरुमाथि नै राज्यले न्याय गर्न सकेन भने राज्यमाथि नै मजदुर र निमुखा वर्गको विद्रोह हुन सक्छ । कुपोषणको कारणले साना बाबु नानीको जीवन नै जोखिममा पर्न सक्छ । यसतर्फ उचित समाधान साथ सरोकारवाला निकायको समयमा नै ध्यान जान जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्