Logo

अपुग सन्देश



Spread the love

–प्रवेश आचार्य

हातहरू अपुग छन्
आँसु पुछ्नका लागि
आँखाहरू अपुग छन्
आँसु झार्नका लागि
र आँसुहरू पनि एकदम अपुग छन्

अपुग छ एउटा घाम उज्यालो छर्न
अपुग छ एउटा चन्द्रमा शीतल पार्न
अपुग छ एउटा आकाश

पीडाको ज्वालालाई निभाउने वर्षा दिन
र अपुग छ एउटा क्षितिज
सुरक्षा दिन ।

लासहरू थुप्रिदै छन्
र लास गाड्दा गाड्दा
अपुग हुन लाग्यो जमिन ।

र कुप्रिदै छन् ढाड अनि कोदालो
अब त केवल कोदालो र कोदालेको ढाड भाँचिन बाँकी छन्
भएका हिमाल र पहाड ताछिन बाँकी छन्
अनि बाँकी बेचिन ।

मान्छे त सधैं मर्छन्
तर आफ्ना मान्छे सधैं मर्दैनन्
खासहरूको लासमाथि कसो गरी हिडिसक्नु
कसरी फेरि सक्नु हावा त्यो रुखको
जुन त्यहीँ लासमाथि उम्रनेवाला छन् ।
झरना सुटुक्क झर्छ
नदी सुटुक्क बग्छ
समुद्र चुपचाप बस्छ
तर खस्छ आँसु अट्टाहास गरेर
भन्दै गए मेरा प्यारा मरेर… ।

यहाँ घाम न उदाउँछ
यहाँ घाम न अस्ताउँछ
यहाँ दिन र रात भन्दा कुनै परको समय चलिरहेको छ
जुन पीडा र वेदनाभित्र गुन्जित छ
ए बहादुर लड् यहाँ तेरै जित छ ।

प्रतिक्रिया दिनुहोस्