Logo

कथा – ” सातु ” ( रेखा पौडेल )



Spread the love
रेखा पौडेल – सल्लेरी खबर ।  
त्यो दिन उसलाई केही भिन्दै रमाइलो लागिरहेको थियो । सायद रातभरि बिहानीको यादमा होला आँखा सुन्निएअको जस्तो भएपनी शरीरमा बेग्लै किसिमको ऊर्जा फैलिएको थियो ।जो आज आफ्ना बा, काका , तल्लाघराको साहिलो दाइ, बारीको माइलो, अनि अर्किसे बा सँगै पथरकोट नुन बोक्न जान लागेको थियो । नियति नै त्यस्तै थियो , त्त्यो समयको पहाडमा नुन लिन जानु पर्ने । उसले सुनैको पनि थियो कि नुन को भारि लियर आउँदा उसको हजुरबुवा हैजा लागेर बाटोमा नै मरेका थिए रे , हजुरआमाले सुनाएकि उसलाई । तर केही बात छैन, आज त उसको लागीठुलै पर्व हो क्यारे,आफ्ना बा सँग घरको जिम्मेवारी उठाउने, एउटा योग्य छोरो भएको बताउने ।
शिरमा टोपी ,पोहरसाल बाले कीनिदीएको दौरासुरुबाल लगायो , हुन त त्यो दुईचार ठाउँमा नफाटेको भनेहोइन तर उसको लागी सबैभन्दाराम्रो लुगा नै त्यो थियो । आफैले बुनेको डोकोलाइ नाम्लोले ठिकठाक पार्‍यो अनि हजुरआमाले दिएको खाजाको पोको तै डोकोमा हुलो दूईचार पैसा लुकायो अनि तयार भयो । अब उ पथरकोट जानकालागी ।
एक्लीएको जस्तो लगिरहेको थियो उसलाई , सायद आफ्नै उमेरको साथी नभएर हो कि ? सबै जना ठुलो उमेरको थिए । घरमा त आमा थिएनन् । उ सानै हुँदा मरेकी रे , सम्झना पनि छैन उसलाई तर पनि आमै जो बा कि आमा थिइन, उनको र घरको नास्रोलागेर आयो उसलाई सातादिनमा नै । सम्झदै थियो कि उसको साथी टिकाराम पनि उ सँगै आएको भए कति रमाइलो हुन्थो होला, तर उ नै त उनीहरूको घरको नुन बोक्ने खतालो बनेर आएको थियो । उ गरिब घरको थियो भने टिकाराम त पण्डितको छोरो थियो ठुलो घरको । कहिलेकहीँ उसले सपना नदेख्नने पनि होइन मेरा बाले मजदुरी छोडेर पण्डित भए त हुने नि । त्यसो भयमा उसलाई टिकाराम सँग लुकेर खेल्नु पर्ने, डुल्नु पर्ने त थिएन . टिकाराम सँग डुलेको देखेर उसको बfले, “धने त टिकाराम सँग नहिड ” भनेको सुन्दा उसको मन नाकुड़ेको होइन तर माया त गर्दथ्यो नै टिकाराम । सम्झदै थियो कि आज आफ्नो डोकोमा आमैले सातु खाजा पठाकी छन् क्यारे , त्यसको सट्टामा खटटे (चामलको भुटेको परिकार ) भएको भए , ठकसा (चामलको रोटि ) भएको भए कति मिठो हुन्थो होला है । अस्ती मात्रै हो टिकारामले उसलाई यी कुरा चाखएको ।
अब उकालो चडदै गर्दा आमैले बनाएको सातु को याद गराएको थियो उसको पेट ले । उ पनि भरियासँग लखतरान साथ हिडेको थियो । सपना को संसारमा , अलि माथि चौपारीमा भरियाको टोली रोकियो, एकैछिन् सुस्तौनाको लागी । अर्किसे बा ले सुनाउदै थिए, “यो डाडा पार गरेपछि त हामी तराई पुगी हाल्छौ । अझै एक दिन र एक रातको बाटो हो । अब  त आइपुगिसकिएको छ । ” उ दङ्ग थियो, उसको गाउको बाहेक अरू पनि जाँदा रैछन पथरकोट नुन लिन लाई । आफ्नै उमेरको साथी देख्यो उसले त्यही डाडामा । अनि मनमनै सोच्यो कि, यो मेरो साथी टिकाराम जस्तो भएत बाटो काट्न सजिलो हुन्थ्यो । उसको पहिरनबाट थाहा हुन्थो कि उ पण्डितको छोरो होइन भनेर । सायद किसान कै छोरो हुनुपर्छ । दौरा पनि उसको जस्तै टालटुल पारेको थियो ।
उ केटाको नजिक गयो र सोध्यो, म त मर्भुंग हुल बाट आए, मेरा बा सँगै आएको , तिमि कहाँ बाट आएको नि ? केटाले उतिर फर्करे हेर्यो कुनै पर्तिक्रिया दिएन, उसले फेरी सोध्यो मेरो नाउ त धनिशोर अर्याल हो तिम्रो के हो नि ? छैन कुनै पनि पर्तिक्रिया उ अकमकीयो , केटाले आखाले केही बोल्न खोजेको जस्तो लाग्छ तर मुख ले केही बोल्दैन । अब उसले मनमनै भइगो भन्ने सोचेर आमैले देको पोको बाट सातु र खुदोपानी निकाल्यो, पेटमा भोकको ज्वाला अति नै दन्किरहेको हुनाला केही धैर्य नगरी आफ्नो मुट्ठीमा आटेसम्मको सातु मुखमा हाल्यो । त्यही समयमा नजिक बसेको केटाले जबाफ फर्कायो म पनि बा सँगै पथरकोट जान लागेको, म शिर्सेनी फल्लेनिको दधिराम हु । “तिमि नुन लिन कहिले हिडेको नि ? अब त घर सम्म सँगै जाउला हुँदैन र?” लू पर्‍यो अब फसाद बोलौ मुखभरी सातु छ , नबोल आफै सुरु गरेको छ, थुकेर बोलौ अरू खानेकुरा छैन त्यही सातुले पेटको अगनी निभाउनु छ । उसले केवल आखाले पर्तिक्रिया दियो । उ नबोलेको देखेर केटो उठेर अर्कोतिर गयो ,फेरी उसले सातुलाई धिकार्दै टिकारामले देको खट्टे सम्झियो जो उसको बा पण्डित भएमा खान पाइनछ भनेर उसको मस्तिष्कमा छ |
घर फर्केर उसले आफ्नी हजुरआमा सँग भन्यो आमै अर्को पटक नुन लिन जाँदा सातु खाजा नराखादिनु है । उसले बोल्दा उसको बा को अनुहारमा भाव शून्य थियो ।

प्रतिक्रिया दिनुहोस्