८ वैशाख, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपालाई फुटाउन सहज हुने अध्यादेश पास गराएका छन् । प्रधानमन्त्री ओलीले आफूलाई सत्ताबाट हटाउने चलखेलको आशङ्का बढेपछि यस्तो अध्यादेश पास गराएका हुन् ।
प्रधानमन्त्री ओलीले संसदीय दल वा केन्द्रीय समितिमध्ये कुनै एकमा मात्र ४० प्रतिशत बहुमत देखाएर पार्टी फुटाउन मिल्ने गरी मन्त्रिपरिषदबाट अध्यादेश पास गराएर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाएको बताइएको छ ।
सो अध्यादेशमा प्रदीप ज्ञवाली, कृषिमन्त्री घनश्याम भुसाल र उर्जामन्त्री वर्षमान पुनले भने देश अर्कै समस्याबाट गुज्रिरहेका बेला यो निर्णय गर्न उचित नभएको बताएका थिए भने अन्य मन्त्रीहरूले मौन समर्थन जनाएका थिए ।
संसदीय दलमा ४० प्रतिशत समर्थन भए नेकपा फुटाएर छुट्टै पार्टी गठन गर्न मिल्ने गरी अध्यादेश ल्याउन लागिएको बताइएको छ । अहिले फुटाउन केन्द्रीय समिति र संसदीय दल दुबैमा कम्तीमा ४० प्रतिशत सदस्यको समर्थन चाहिँ कानुनी व्यवस्था रहेको छ ।
पछिल्लो समय नेकपाका अध्यक्षबिच मतभेद बढ्दै गएका समाचारहरू आएका छन् । यदि यो अध्यादेश जारी भएमा ओलीले संसदीय दलमा ४० प्रतिशत सांसदहरूको समर्थन पाए आफ्नो नेतृत्वमा निर्वाचन आयोगमा नयाँ दल दर्ता गर्न पाउने अधिकार पाउनेछन् ।