नवीन काफ्ले
हामीसँगै हुन्थ्यौ, तिमीलाई याद छ
प्रिय सखी
गन्तव्यविहीन हाम्रा रसिला कुरा हुन्थे
चि-मुसी खेल्थ्यौँ हामी
एक अर्काका हातमा हात राखी
परिवर्तन पनि कति छिट्टै हुने रहेछ
यदि नहुँदो हो त हामी आज पनि
अँगेनामा गट्टा खेलिरहेकै भेटिन्थ्यौँ होला ।
हामी पनि अरू जस्तै भएछौँ
समयको चक्रले
समुन्द्रमा आउने ज्वारभाटाजस्तै
या त ज्वालाका लाभाहरुजस्तै
कस्तो अचम्मको परिवर्तन भएछ हामीमा
जसले बालापन मिचेर युवा बनाइदियो
हाम्रो चञ्चलता हराउने गरी
स्कुल सकेर खै कहाँ गयौ तिमी
आफ्नै समस्या र आवश्यकता लिएर
खुब सङ्घर्ष गर्यौ होला
परिवर्तनका ती दिनहरूमा तिमीले
हिजो भेटियौ तिमी
तिम्रा बाल अनुभूति र यादका कङ्गालहरू
तिमीसँगै भएर पनि थिएनन् ।
तिमी कति सम्पन्न भएछौ
बाल स्मृतिलाई बिर्सिएर
प्राप्तिका केही शिखरहरू चुमेसँगै
गैरीखेत र घट्टहरू सबै बिर्सिएछौ
तिमीले विगत सम्झन्छौ जस्तो लाग्दैन मलाई
सम्झिदा हौ त विगत
तिम्रै छहारीमा शीतल लिइरहेको हुन्थ्यो ।
तिमी सगरमाथा चुम
उन्नति र प्रगतिका पाइलाहरू चालिराख
मलाई तिम्रो प्रतिस्पर्धी बन्नु छैन
बस् प्रिय सखा
हिजो भेटिएजस्तै
बचनका यादहरूका ती पुराना कंगालहरुलाई
तिमीसँगै बसेर ओल्टाई पल्टाई गर्न पाइयोस् ।