Logo

कोरोना भाइरसको महामारीपछि कस्तो होला विश्व ?



Spread the love

चीनको बुहानबाट सुरु भई विश्वभर फैलिएको कोरोना विरुद्ध सम्पूर्ण देशहरु लडिरहेका छन् । यस महामारीको अन्त्यपछि कस्तो होला त विश्व ? के विश्वका देशहरुबीच एक आपसमा मित्रता होला त ? कि झन् दुरी बढ्ला ? विश्वको अवस्था कस्तो होला ? जस्ता विविध विषयमा आधारित भएर बीबीसीले युवाल हरारीसँग गरेको कुराकानी यहाँ प्रस्तुत गरिंदैछ । युवाल हरारी इजरायलका लेखक तथा इतिहासकार हुन् ।

राजनीतिक संकट

हरारीले भने,” हामीसँग दुई विकल्प रहेका छन् । यस संकटको सामना हामीले कि त राष्ट्रवादी भएर गर्नेछौँ कि त वैश्विक साझेदारी र एकजुटता प्रदर्शन गर्दै ।”

हरारीका अनुसार कोरोना भाइरसको महामारीले वैज्ञानिक र राजनीतिक दुबै क्षेत्रमा प्रश्न खडा गरेको छ । उनका अनुसार विश्व केही वैज्ञानिक चुनौतीलाई हल गर्न कोसिस गरिरहेको छ तर राजनीतिक समस्यातिर भने ध्यान गएको छैन ।

हरारी भन्छन् , “महामारी रोक्नको लागि मानवको साथमा सबैथोक छ । यो कुनै मध्यकालीन समय होइन । यहाँ प्लेग खालको महामारी पनि छैन । यस्तो पनि भएको छैन कि मान्छेहरु मरिरहेका छन् तर हामीलाई किन मरे भनेर थाहा छैन ।”

चीनका वैज्ञानिकहरुले कोरोना भाइरसलाई सार्स महामारीसँग तुलना गरी अध्ययन गरिरहेको छ । अरु देशमा पनि यस्तै गरी कोरोना सम्बन्धि विभिन्न किसिमका खोज अनुसन्धान भई रहेका छन् ।

आजसम्म कोरोनाको कुनै औषधि भेटिएको छैन । विश्वभरका अनुसन्धानदाताहरु भ्याक्सिनको विकास गर्न जुटिरहेका छन् ।
हामीहरुलाई भाइरसबाट बच्न सजिलो उपाय भनेको साबुनपानीले हात धुने र सामाजिक दूरी कायम गर्ने हो ।

हरारी बताउँछन्, ” यस भाइरसलाई हामीले राम्रोसँग बुझेका छौँ । हामीसँग प्रविधि पनि छ । भाइरसलाई हराउन आर्थिक संशाधन पनि छ तर प्रश्न यो हो कि हामीले यी शक्तिको कसरी प्रयोग गर्छौँ ? यो एक राजनीतिक प्रश्न हो ।”

खतरनाक प्रविधिको प्रयोग

सरकारले निगरानी राख्ने प्रविधिको गलत प्रयोग गर्न सक्छ । प्रत्येक नागरिकलाई पूर्ण रुपमा निगरानीमा राख्न सक्छ र अपारदर्शी ढङ्गले फैसला गर्न सक्छ । उदाहरणको लागि इजरायलको सरकारले सिक्रेट सर्भिसलाई बढाएको छ । सिक्रेट सर्भिसबाट सबै मानिसको लोकेशनमा नजर लगाएको छ । यस प्रविधिलाई दक्षिण कोरियामा पनि लागू गरिएको छ । तर दक्षिण कोरियामा भने पारदर्शिताका साथमा लागु गरिएको छ ।

विश्वमा सबैभन्दा बढी निगरानी हुने देश चीनमा क्वारेण्टाइनको नियम उल्लङ्घन गर्ने मानिसको पहिचानको लागि अनुहार पहिचान गर्ने प्रविधिको प्रयोग गरिएको थियो । हरारीका अनुसार केही समयको लागि यस्तो प्रविधिको प्रयोग गर्नु सही हुन्छ तर स्थायी रुपमा गर्दा धेरै खतराको सामना गर्नुपर्ने हुन्छ ।

अलग रहने अथवा आपसी सहयोग

यो सालमा नागरिकहरुले विदेशी नागरिक र दोस्रो देशप्रति गर्ने घृणा बढिरहेको छ । यसलाई बढावा दिएको छ सरकारले । तर विश्वभर फैलिने महामारीले सामाजिक समूह र देशहरुबीचमा भेदभाव गर्दैन । महामारीको सामना गर्दा एक्लै गर्ने कि एक आपसको सहयोगमा गर्ने भनी निर्णय हामीले नै लिनुपर्दछ ।

हरारीका अनुसार, “विश्वभरमा आपसी सहयोग, जानकारी र सूचनाको आदानप्रदान र महामारी पीडित देशमा मेडिकल सामग्रीको निष्पक्ष वितरण धेरै तर्कसंगत हुन्छ ।”

सामाजिक व्यवहार बदलिएला ?

हरारीका अनुसार महामारीबाट बच्न जे जस्ता विकल्पको प्रयोग गरे पनि मानिसको सामाजिकतामा फेरबदल हुने छैन । मानिस सामाजिक प्राणी हो र सामाजिक प्राणी नै रहनेछ ।

मानिसको प्रकृति बिरामीको नजिक गई करुणा देखाउने रहेको छ । हरारी कोरोना भाइरसले मानिसको सबैभन्दा राम्रो प्रकृतिको शोषण गरिरहेको बताउँछन् ।

हरारी भन्छन्, “यस भाइरसले हामीलाई संक्रमित गर्नको लागि हाम्रो प्रकृतिको शोषण गरिरहेको छ । तर हामीले ख्याल गर्नु पर्दछ । दिमागले सोंच्नु पर्दछ, दिलबाट होइन र सामाजिक दूरी बढाउनु पर्दछ । हामी सबै सामाजिक प्राणीको लागि यस्तो गर्नु निकै गाह्रो हुन्छ । तर मलाइ लाग्छ कि कोरोनाको महामारीपछि सामाजिक सम्बन्धको ज्यादा आवश्यक रहेको महसुस गरिनेछ । मलाइ लाग्दैन कि महामारीले हाम्रो प्रकृतिलाई बदल्ने छ ।”

  • एजेन्सी ।

प्रतिक्रिया दिनुहोस्