जिन्दगीभर एउटा पनि यस्तो घर बनाउन सकिएन
चाहेर पनि भित्तालाई बाछिटाबाट बचाउन सकिएन !
जसरी घरका भित्ताहरु जोगिँदैनन् बाछिटाहरुबाट, जसरी बगैंचाका फूलहरु रहदैनन् अछुतो भँवराहरुको चुम्बनबाट ठीक त्यस्तै राजनीति र प्रशासन पनि रहँदैनन् अलग आलोचनाबाट । होलान् बगैैंचाभित्रै भँवराद्वारा नचुमिएका एकाध फूलहरु होलान् । पानीभित्रै भए पनि पानीले डुबाउन नसकेका केही थान सामुद्रिक पहाडहरु । तर, त्यसो भन्दैमा यिनीहरुको स्वच्छता माथि प्रश्न उठेको छैन भन्न सकिन्न ।
जसरी वायुमा मिसिएकै हुन्छन् केही थान धुलोका कणहरू, जसरी पानीमा मिसिएकै हुन्छ माटोको रङ्ग, जसरी हाम्रो खाद्यान्नमा मिसिएकै हुन्छ केही लिटर पसिनाको गन्ध ठीक त्यस्तै राजनीति र प्रशासनको समष्टि संरचनामा पनि मिसिन आइपुग्छ संगठित अपराधको एउटा डोरी । तर, मिसावट छ भन्दैमा सकिँदैन पानी नपिई बस्न, सकिँदैन बन्द गर्न स्वास फेर्ने काम, न सकिन्छ खाद्यान्नलाई भुँडी नामक झ्यालखानाभित्र नकोची बस्न ! ठीक त्यस्तै हुन् राजनीति र प्रशासन पनि । अत्यावश्यक खराबी ।
विश्वव्यापीकरणले विश्वलाई नै ग्रामको रुपमा परिवर्तन गरिदियो । नागरिक भावनालाई एक आपसमा अन्तरसम्बन्धित गराइदियो । ल्याइदियो सामाजिक र साँस्कृतिक परिचालन । अब कुनै देशको कुनै कुनाको प्रविधि अर्को देशको कुनै कुनासम्म सहजै पुग्न सक्छ– प्रविधि हस्तान्तरणले । तर मन ?
राज्यको उत्पत्तिपश्चात् नाइल नदीले कति करोड घनमिल पानी बगायो होला ? ह्वाङ्गहो नदीले कति मात्रामा वालुवा बोकी सक्यो होला ? अरुण नदीले कतिवटा भ्रमर छिद्र पार गर्यो होला ? कर्णालीले कतिवटा खेतका गरामा सिञ्चाई गर्यो होला ? कति बने होलान् अन्ध गल्छिहरू, कति भेटिए होेलान् बयलजुरे तालहरू, कति पग्लिए होलान् हिमशिलाहरू त, कति बगे हुनन् हिमोढहरू । सजिलै त राज्यहरू हालको अवस्थामा के पो पुगे होलान् ! विश्वव्यापीकरणले आफ्ना पाइला यो पृथ्वीमा एकैपल्ट त कसरी राख्यो होला र ?
विश्वव्यापीकरणले विश्वलाई नै ग्रामको रुपमा परिवर्तन गरिदियो । नागरिक भावनालाई एक आपसमा अन्तरसम्बन्धित गराइदियो । ल्याइदियो सामाजिक र साँस्कृतिक परिचालन । अब कुनै देशको कुनै कुनाको प्रविधि अर्को देशको कुनै कुनासम्म सहजै पुग्न सक्छ– प्रविधि हस्तान्तरणले । तर मन ?
विकासका हरेक गतिविधिले विश्वलाई हत्केलामा सीमित गरिदियो । हाम्रा पूर्वजहरु हातमा परिश्रमले फलाएका ठेला, खल्तीमा पसिनाको सुगन्ध अनि छातीमा परिवार, समाज र देश बोकेर उभिन्थे; हामी हत्केलामा विश्व बोकेर निहुरिएका छौँ ।
न्यूटनको चालसम्बन्धी तेस्रो नियम हो सायद । ‘‘हरेक क्रियामा बराबर तर विपरीत प्रतिक्रिया हुन्छ” भन्छन् । विकासमा पनि यो कुरो लागू हुँदो हो ।
भविष्यको आँकलन नगरी गरिने कार्यले गतिलो प्रतिफल कहाँ दिन्छन् र ? हुन त प्रेमको अन्तिम बिन्दु बिहे होइन । प्रेम त अनन्त छ । यसको न आदि छ न अन्त नै छ ।
ठ्याक्कै एक बजेको छ । दिउँसोको हैन, रातीको । यतिबेला मेरो दिमागमा के छ, के छैन ? म आफैैं अनभिज्ञ छु । विश्वभर कोरानाको कहर छ, डर छ । कोठाभित्र हुलिएको बाह्र दिन भइसकेछ । कोठाभित्र छरपष्ट फ्याँकिएका मेरा लुगाहरु छन् । छेवैमा कुचो पनि छ । खाटको सिरानीदेखि सुरु भएर कोठाभरी जसो फैलिएर असरल्ल पल्टेका छन्– किताबहरु । मलाई किताब छुन मन लाग्दैन । मानौँ यिनीहरु नै कोरोना संक्रमित हुन् । सुर लागे प्लाष्टिकमा बेरेर जलाइदिने छु । ता कि अरु किताबलाई नसरोस् यस्तो नरसंहारी रोग, भाइरस ।
दिमागमा शून्यता छ । कुनै बेला हुँदा हुन् याद– विश्व घटनाहरु, छन्दका नियम, बहरका गजल, शक्ति पृथक्करणको सिद्धान्त, त्यसैको आलोचना ( मान्छेहरु कति असन्तुष्ट ? कति प्रतिस्पर्धी ? कति जाँगरिला ? के के सिद्धान्त प्रतिपादन गरिदिने; अर्का झन जाँगरिला आलोचना गरेर बस्दिने !
एक म छु बिना जाँगरको, हेर्नुस् न आज त सुत्न पनि जाँगर चलाइनँ । हुँदा हुन् याद– नेपालको भूगोल, विश्वका विविध आर्थिक गतिविधिहरु, प्रथम विश्वयुद्ध, राष्ट्रसंघ, यूएनओ लगाएत अरु थुप्रै थुप्रै कुराहरु । अँ कसैको अनुहार पनि हुँदो हो याद । तर कसैेले भने जस्तै समय परिवर्तनशील रहेछ, जस्तो हिजो म तिम्रै हुँ भन्नेहरु आज कहाँ छन् पत्तो छैन; जस्तो हिजोसम्म धुँवा छोड्दै दौडिने गाडीहरु आज कहाँ चल्छन् ? पत्तो छैन । दिमागमा शून्यता छ । अँ, मलाई डिजेलको गन्ध औधी मनपर्छ । तारिणी प्रसाद कोइरालाको सर्पदंश सम्झिन्छु । त्यसभित्रको कपाल सुँघ्न मन पराउने पात्र सम्झिन्छुु । डिजेलको मामिलामा म त्यस्तै हूँ, त्यै हुँ । डिजल डिपो अगाडि गएर लाग्छ– दिनभर डिजल सुँघेर बसूँ । तर, सोंचेका सबै कुराहरु गर्न नसकिँदो रहेछ । केही डरले, केही बाध्यताले त केही जिम्मेवारीको बोध हुने बित्तिकै बुलेट ट्रेनको स्पीडमा दिमागबाट दौडिएर भाग्ने रहेछन् । कतिपय कुराहरु चहाँदा चहाँदै पनि गर्न नसकिने तर कतिपय भने गर्दिनँ भन्दा भन्दै पनि गर्नुपर्ने । जस्तो हामी छुटे पश्चात पनि म बाँचिरहनु !
नतिजाको समीक्षा कम्तीमा एकबार गर्नुपथ्र्यो
दाउराले आगोको छेउ बस्नूपूर्व विचार गर्नुपर्थ्यो !
भविष्यको आँकलन नगरी गरिने कार्यले गतिलो प्रतिफल कहाँ दिन्छन् र ? हुन त प्रेमको अन्तिम बिन्दु बिहे होइन । प्रेम त अनन्त छ । यसको न आदि छ न अन्त नै छ । म गतिला कुुरा खासै लेख्न जान्दिनँ तर पनि भर्खर मेरो दिमागको बाटो भएर एउटा आफ्नै शेर ओहोर दोहोर गरिरहेछ :
सधैँ छुट्नु फाट्नु नराम्रो हुँदैन
लुगा फाटे चल्छ सियोको गुजारा !
यो धरतीमा मान्छे भएर बाँँच्न पनि कति गाह्रो है ? आफैैैले सबै भएर सोंचिदिनुपर्ने; आफ्ना बारेमा अरुको धारणा आफू स्वयमले अरु बनेर आफैंलाई सुनाउनुपर्ने, त्यसै अनुकुल आफ्ना योजना फेर्नुपर्ने, उनीहरुका विचारसित आफ्ना योजनाहरुको तादाम्यता मिलाउनुपर्ने । विलकुल दाताको चहाना अनुसार देशका योजना फेरिए जस्तो, संशोधन गरिएजस्तो । म पनि देश जत्तिकै निरीह रहेछु ।
यतिबेला म ”कुकुर बन्न पाएको भए…….!‘‘ सोंचिरहेछु । न यसरी कोठाभित्र गुम्सिनुपर्ने, न विहान–बेलुका पकाउनुपर्ने, न मिष्ठान्न भोजन खोजी खोजी खानुपर्ने, न प्रतिस्पर्धा न त पढ्नु नै पथ्र्यो ! न कुनै कुकुर सहसचिव हुन्थ्यो ; न घरका मान्छेहरु ‘‘ फलानो कुकुर त सहसचिव भयो रे” भन्दै सुनाउँथे । बढी सुनाए त्यही – “मैले त आज मोटो भैंसीको छालै सहितको हाड चुस्न पाएँ” सुनाउँदा हुन् वा, “फलानोले त दिनहुँ खसीको हाड खान पाउँछ“ सुनाउँदा हुन् । यत्ति त हो । म खोल्साको गुहु खाएरै आफ्नो जिन्दगी चलाइदिन्थेँ । गुहु खाए पनि गुहु खाएर आएँ भन्न सकिने । वाह ! ( मान्छेको जिन्दगी बर्बाद पारेको शब्द– वाह ! वाहवाहीको आशामा त रहेछ बाँच्नु पनि । नत्र किन सबैलाई कक्षामा प्रथम हुनु परेको ? नत्र किन परीक्षामा आलु खाए बेइज्जत हुन्छ भनेर घुँडा धसेर पढ्नु परेको ?)
जिन्दगी त कुकरको पो मजाको । न परीक्षा, न पढाइ, न प्रेमिकाको तनाव, न बिहेको किचकिच । वाह ! फेरि वाह भनेछु । मेरो संगत गरेकाले बुझ्छन् यो मेरो थेगो झैँ हो । वास्तवमा उहिले गजल सुन्न जाँदा जस्तोसुकै शेर भएपनि वाह ! त भन्नैपर्छ, त्यत्ति नगरे गजलकारहरु सँगको मेरो सम्बन्धले सगरमाथा चुम्न नसक्ला भनेर लगाएको बानी हो मेरो हर कुरामा– वाह ! भन्ने ।
बत्ती गयो ! एकैछिनमा आयो पनि । अहिले, उहिले जस्तो लोडसेडिङ्ग छैन । “खाली दिमाग सैतानको घर” भन्छन् । मेरो दिमाग यतिबेला भूतघर भएको छ । भूत्याहा विचारहरु मैले सिकेका ज्ञानको टाउको छिनाएर, हातमा तिनै टाउका बोकेर ओहोर दोहोुर गरिरहेका छन् । आजसम्मन् मैले उपन्यास पढेँ, कथा पढेँ हूँला; गजल पढेँ, कविता पढेँ हूँला; पत्रिका पढेँ, यौन कथा पढेँ हूँला; सामान्य ज्ञान पढेँ, संविधान पढेँ हुँला । तर, यी सबैमा सबै भन्दा श्रेष्ठ टाउको यौन कथाकै हुँदो रहेछ । कसैले सकेनन् त्यसको टाउको छुट्टयाउन । बसेको छ दिमागको एक कुनाको एक कोठमा । बिलकुल म जस्तै भित्रबाट चुकुल लगाएर । म पृथ्वीको आकार झल्याँस्स सम्झिन्छु, झण्डै झण्डै मेरै टाउको जस्तो लाग्छ । फरक यत्ति हो पृथ्वी घुम्छ; मेरो टाउको घुम्दैन । पृथ्वीमा कोरोना छ; मेरो टाउकोमा छैन । कि वा छ ? नत्र किन लकडाउनको पालना गरिरहेको त्यसले भित्रबाट चुकुल लगाएर ?
चोकको कफी शपमा जान नपाएको पनि आज बाह्र दिन भइसक्यो । कफी पिउनभन्दा पनि म त्यहाँ उसको नजर पिउन जान्छु । ऊ– नाम थाहा छैन, उमेर थाहा छैन । मलाई सिर्फ उसका नजरको ठेगाना थाहा छ– मेरो दिल !
ऊ सधैं मेरो कार्यालयको बाटो भएर खै कता हो गई रहन्छे । यस अवधिमा मैले कैयन पटक उसका नजरहरुलाई उनीहरुको ठेगाना बताइदिइसकेँ । उसलाई देख्न नपाएको पनि बाह्र दिन भइसकेछ त ! उफ !
“ आ….. पढ्नु छैन, खुब केटी सम्झिने भएको !” मनको अर्को कुनाबाट कसैले चिच्याएर मलाई सुनाउन खोज्दैछ ।
म ढु्लमुले स्वभावको छु । ठोस निर्णय लिन नसक्ने । घरी फेसबूक अनइन्स्टल गर्छु, घरी इन्स्टल गर्छु, घरी एक्टिभ गर्छु, घरी डिएक्टिभ गरिदिन्छु । कर्कलाको पानी जस्तै । सायद माया गर्ने मान्छेहरु पनि यही कारणले मलाई छोडेर जान्छन् । म आफैंभित्रको द्वन्द्व शान्त पार्न सक्दिनँ ।
आजै मात्र हो मैले द्वन्द्व, यसको परिभाषा र त्यसको व्यवस्थापनको तरिका पढेको । तर, अहिले म स्वयम् आफैंभित्रको द्वन्द्वले पिल्सिएको छु । विरोधाभासको बीचमा छु । ज्ञान मात्रै सबै कुराको समाधान ह्वैन रहेछ । सबैभन्दा ठूलो त सीप रहेछ । भोलि कुनै दुई द्वन्द्वरत पक्षहरु मेरो टेबलमा आए भने म कसरी मध्यस्थता गरुँला ? के काम यो मेरो अर्थहीन पढाइको ?
खैर, अचेल मेरो मन, तन, दिमाग केहि पनि स्थिर छैन । कोठाभित्रै छु र पनि कोठाकै चार कुना ओहोरदोहोर नगरी बस्न सक्दिनँ, चित्त बुझ्दैन । चलमलाई रहेको हुन्छु । यो लेख पनि कताबाट सुरु भएर कता पुग्यो होला !
यो सबै अस्थिरताको उपज हो । सगरमाथाबाट सागर पुग्छु भनेर हिंडेका सबै नदी सागर सम्म पुगेका छैनन् । केही विलय भएका छन्, केही बग्दा बग्दै सुकेका छन् । एकाध अलमलिएका छन् । कहिलेकाहिँ अलमलिनु पनि रोमाञ्चक हुन्छ । बडो रोमाञ्चक ! जस्तो नअलमलिएको भए एउटा सुगा रात परुञ्जेल जंगलभित्र, कुन चाहिँ शिकारीले आफ्नो पिँजडा भित्र हुलिसक्थ्यो; नअलमलिएको भए शीतको थोपा कसरी देख्न पाउँथ्यो सूर्योदयको पहिलो पहेँलो किरण ? नअलमलिएको भए यो लेख कसरी यहाँसम्म पुग्थ्यो ? अलमलिँदा अलमलिँदै यहाँसम्म पुगियो । हेर्नुस् त राजनीति र प्रशासनका बाछिटा ओकल्छु भनेको कहाँ पुगिएछ ! हुन त मानिसको बौद्धिक स्तर जहाँसम्मको छ त्यहीँसम्मको विचार पोख्ने, लेख्ने त हो ।
भन्न खोजेको कुरो चाहिँ यत्ति हो– राजनीति रेलको इन्जिन हो भने प्रशासन त्यसैको डिब्बा । इन्जिन जता जता जान्छ डिब्बा पनि उतैउतै जान्छ भनेर विद्धत् वर्गहरुलाई बताइराख्नु पर्ने कुरा होइन । भनें नि न्यूटनको चाल सम्बन्धी तेस्रो नियम । राम्रो पनि, नराम्रो पनि । आवश्यक पनि, अनावश्यक पनि ।
तर, मेरो यो बुझाइमा पूर्ण सत्यता छ म भन्न सक्दिनँ । अघि नै भनिसकेँ म ठोस निर्णय गर्न सक्दिनँ । यो विचार व्यक्त गर्दा पनि म असत्य हुन सक्छु । वा आंशिक रुपमा सत्य नै हूँला । त्यसले कुनै फरक पार्दैन । वा म पूर्णतया गलत हूँला । वा सत्य र असत्यको बीचमा अलमलिएको हूँला । वा म कतै अल्झिएको हुन सक्छु ।
मेरो ठ्याक्कै अगाडि ल्याप्टप छ । “कहिले तिम्रो पछ्यौरीमा अल्झेँ…………………..” गीत बजिरहेको छ । आँखा संगीतमा लठ्ठ छन् । घडीले चार बजाइसकेको छ । कुहिरोलाई चिरेर घामको किरण कुहिरोको साम्राज्य भित्र पसेझैँ निद्राको साम्राज्य तिर विचार आइरहेछ– शुभ रात्रि भनेर निदाऊँ कि वा शुभ विहानी भनेर चिया पिउँ ?
लेखकबाट थप !