२४ चैत, दैलेख – कोरोना भाइरस (कोभिड–१९)बाट सङ्क्रमित वा आशङ्का भएका बिरामीलाई उचारका लागि लैजान दैलेखका दुई जना मनकारी युवाले यातायता खर्च व्यहोर्ने भएका छन् ।
जिल्लाको महाबु गाउँपालिका–१ का गोपाल भट्टराई र भद्रबहादुर केसीले आफ्ना गाउँलेलाई कोरोना भाइरसको सङ्क्रमण वा आशङ्कामा उपचारका लागि कुनै पनि स्थानमा लैजानुपर्नै अवस्था आयो भने त्यसका लागि लाग्ने यातायात खर्च व्यहोर्ने भएका हुन् । सोका लागि उनीहरुले दुई वटा बोलेरो जिप तयारी अवस्थामा राखिएको बताएका छन् । “हामी आफ्नै सक्रियतामा कुनै पनि गाउँका मानिस बिरामी भए उपचारका लागि दैलेख सदरमुकाम तथा अन्य ठाउँमा लैजान तयारी अवस्थामा छौँ”, मनकारी युवक भद्रबहादुर केसीले भने ।
दुवै जनाले एकआपसमा सरसल्लाह गरेर दुई बोलेरो जिप तयारी अवस्थामा राखिएको अर्का युवक गोपाल भट्टराईले बताए । “हामी दुई भाइ मिलेर आफूले आफ्ना गाउँलेलाई केही सहयोग गर्ने धारणा बनायौँ”, उनले भने, “अनि हामीले स्थानीय शिक्षक, बुद्धिजीवी, व्यापारी लगायतलाई यसबारे भनेका छौँ ।” हामीले जानकारीका लागि सामाजिक सञ्जालमा समेत राखेको छौँ ।
गाउँपालिकाअन्तर्गत पर्ने स्थानीय खरिगैरा बजारमा आफ्ना बोलेरो जिप र चालकलाई तयारी अवस्थामा राखिएकाले केही समस्या भए आफूहरुलाई सम्पर्क गर्नसमेत आग्रह उनिहरुले गरेका छन् । स्थानीयवासी शिक्षक जङ्गबहादुर थापाका अनुसार यहाँदेखि एकपटक दैलेख सदरमुकाम पुर्याएको रु तीन–चार हजार भाडा लाग्छ । यद्यपि उनीहरुको सहयोगले गर्दा स्थानीयवासीलाई निकै राहत हुने थापाले जानकारी दिए ।
“उनीहरूको कार्यले हामीलाई निकै सहयोग र सहजता हुनेमा हामी विश्वस्त छौँ”, थापाले भने, “यातायातमा लाग्ने खर्च बिरामीले उपचारमा लगाउन सक्नेछन् । युवाको यसरी नै राज्यप्रतिको भूमिका आवश्यक भएको वडाध्यक्ष हरि उपाध्यायले जानकारी दिए । अहिले लकडाउनका कारणले ती गाडी खरिगैरामा राखिएको छ ।