Logo

एप्पलका निर्माता स्टिभ जब्सको प्रेरणादायी कथा



Spread the love

मानव विकासको इतिहासमा नजाने कैयौं असफलताहरू भए होलान् । लिखित इतिहासको परम्परा सुरु हुनु भन्दा पनि कैयौं अघिदेखि मान्छेहरू आफ्ना विराट सफलता चुम्नका लागि असफलताको काँडाले कतिपल्ट बिझाइरहे । किनकि मानव जातिको उत्पत्ति केवल बाँच्नका लागि मात्रै नभएर, संसारमा आफ्नो अस्तित्व निर्माण र शासनका लागि पनि थियो । त्यसैले त ऊ सङ्घर्ष गर्न कहिल्यै पछि हटेन । चाहे जस्तोसुकै परिस्थितिबाट ऊ किन नगुज्रियोस् !

तर, के तपाई आफुले भोगेका केही असफलता कै कारण चिन्तित हुनुहुन्छ ? जिन्दगीमा म अब केही पनि गर्न सक्दिन, मेरो जिन्दगी बर्बाद भयो, जस्ता अनेक सोचले आक्रान्त हुनुहुन्छ ? स्वाभाविक हो, यस्तो महसुस जिन्दगीको यात्रामा जो-कोहीलाई पनि एक-न-एकपल्ट त हुन्छ नै । यो बस् एउटा अनुभुति हो, वास्तविकतामा यसको कुनै प्रभाव हुँदैन ।

बस् तपाई यसबाट मुक्त हुने साहस लिनुस् । त्यो साहसमा ढाढस दिन तपाईका लागि हजारौं-लाखौं प्रेरणाहरू तयार भएर बसेका छन् ।

आज हामीले त्यस्तै एउटा ढाढस लिएर आएका छौं । तपाई कै लागि । सल्लेरी खबरको एउटा सानो प्रयास- सल्लेरी प्रेरणा मार्फत । यसमा हामी असफलता चिरेर सफलता चुम्ने महान हस्तीहरूका कथा ल्याइ रहेका छौं । ताकि एउटा सानो असफलता कै कारण तपाईमा रहेको असीमित सामर्थ्य र सम्भावना त्यसै खेर नजाओस् ।

सुन्नुस् है त !

यो कथा हो- एप्पल कम्पनीका संस्थापक, महान् वैज्ञानिक-आविष्कारक ‘स्टिभ जब्स‘ को । स्टिभ जब्स केवल एक आविष्कारक मात्र नभएर, एक महान् प्रेरक पनि हुन् । जसले मेहेनत, लगनशीलता र सपना भयो भने जस्तोसुकै आममानिस पनि संसारलाई चकित पार्दिन सक्छ भन्ने प्रमाणित गरे । बस् ! तपाई आफ्नो सपना चुम्न यति लालायित हुनुस् कि- नाथे असफलताले तपाईलाई एक डेग पनि चलाउन नसकोस् ।

स्टिभ जब्सको जन्म सन् १९५५ मा भएको थियो । उनले जिन्दगीमा निकै हारहरू बेहोरे । प्रसिद्धि र पैसा आउनुभन्दा पहिले उनले धेरै चुनौतीको सामना गरेका थिए । बचपनका दिनहरूमा उनले एकदमै अपहेलित महसुस गर्थे । उनलाई उनकी आमाले एउटा क्यालिफोर्नियाको जोडीलाई पाल्न दिएकी थिइन् ।

जब्सले कलेजको पढाइ त्यति आवश्यक नलागेपछि डिग्री लिइरहन त्यति जरुरी ठानेनन् । कलेज छोडे । बरु उनी विश्व भ्रमणमा निस्किए । उनलाई भारतलगायतका देशमा गएर बुद्धिज्मबारे बुझ्नु थियो ।

सन् १९७६ मा जब्सले उनका साथी स्टिभ वज्निकसँग मिलेर एप्पल कम्प्युटर्सको स्थापना गरे । कम्पनी एकदम गज्जबले चलिरहेको थियो । तर एक्कासी सन् १९८३ मा उनले पेप्सीका जोन स्कुलीलाई सिईयोमा नियु्क्त गरेसँगै कम्पनी चौपट हुन थाल्यो । उनको त्यो निर्णय एकदमै असफल ठहरियो । त्यसपछि कम्पनीमा विवाद आउन थाल्यो ।
तनाबको स्थितिमा उनले एप्पल छोड्ने निर्णयमा पुगे । उनले केही पुरानो टिमसँग मिलेर नयाँ कम्पनी खोले- नेक्स्ट । पछि एप्पल र नेक्स्ट फेरि मिले । अहिले स्टिभ जब्स र उनले स्थापना गरेको एप्पल संसारभर चर्चित छन् ।

त्यसैले, असफलता या अस्वीकार हरकोहीको जिन्दगीमा आउँछन् नै । हरकोहीका महान सपनालाई सबैले अपत्यारलाग्दो मान्न सक्छन् नै । बस् फरक यत्ति हो कि- कोही यसको सामना गर्दै यात्रालाई थप मजबुत बनाउन थाल्छन् त कोहि भने थकाइ मार्छन् र बिचमै यात्रा टुङ्ग्याउँछन् ।

साहस गर्नुस्, तपाईभित्र असीमित क्षमता छ, त्यसको पहिचान गर्नुस् र मर्न दिनुको साटो मलजल गर्नुस् । एकदिन तपाईको सफलता देखेर तपाई आफै छक्क पर्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्