Logo

मानव विकासक्रमको सिद्धान्तका प्रतिपादक चार्ल्स डार्विनको प्रेरणादायी कथा



Spread the love

मानव विकासको इतिहासमा नजाने कैयौं असफलताहरू भए होलान् । लिखित इतिहासको परम्परा सुरु हुनु भन्दा पनि कैयौं अघिदेखि मान्छेहरू आफ्ना विराट सफलता चुम्नका लागि असफलताको काँडाले कतिपल्ट बिझाइरहे । किनकि मानव जातिको उत्पत्ति केवल बाँच्नका लागि मात्रै नभएर, संसारमा आफ्नो अस्तित्व निर्माण र शासनका लागि पनि थियो । त्यसैले त ऊ सङ्घर्ष गर्न कहिल्यै पछि हटेन । चाहे जस्तोसुकै परिस्थितिबाट ऊ किन नगुज्रियोस् !

तर, के तपाई आफुले भोगेका केही असफलता कै कारण चिन्तित हुनुहुन्छ ? जिन्दगीमा म अब केही पनि गर्न सक्दिन, मेरो जिन्दगी बर्बाद भयो, जस्ता अनेक सोचले आक्रान्त हुनुहुन्छ ?

स्वाभाविक हो, यस्तो महसुस जिन्दगीको यात्रामा जो-कोहीलाई पनि एक-न-एकपल्ट त हुन्छ नै । यो बस् एउटा अनुभुति हो, वास्तविकतामा यसको कुनै प्रभाव हुँदैन । बस् तपाई यसबाट मुक्त हुने साहस लिनुस् । त्यो साहसमा ढाढस दिन तपाईका लागि हजारौं-लाखौं प्रेरणाहरू तयार भएर बसेका छन् ।

आज हामीले त्यस्तै एउटा ढाढस लिएर आएका छौं । तपाई कै लागि । सल्लेरी खबरको एउटा सानो प्रयास- सल्लेरी प्रेरणा मार्फत । यसमा हामी असफलता चिरेर सफलता चुम्ने महान हस्तीहरूका कथा ल्याउनेछौं । ताकि एउटा सानो असफलता कै कारण तपाईमा रहेको असीमित सामर्थ्य र सम्भावना त्यसै खेर नजाओस् ।

सुन्नुस् है त !

यो कथा हो- मानव विकासक्रमको सिद्धान्तका प्रतिपादक, महान वैज्ञानिक ‘चार्ल्स डार्विन’ को । डार्विन केवल एक वैज्ञानिक मात्र नभएर, एक महान् प्रेरक पनि हुन् । जसले मेहेनत, लगनशीलता र सपना भयो भने जस्तोसुकै आममानिस पनि संसारलाई चकित पार्दिन सक्छ भन्ने प्रमाणित गरे । बस् ! तपाई आफ्नो सपना चुम्न यति लालायित हुनुस् कि- नाथे असफलताले तपाईलाई एक डेग पनि चलाउन नसकोस् ।

अब्राहम लिंकन जन्मिएको वर्ष सन् १८०९ मा नै जन्मिएका थिए, चार्ल्स डार्विन पनि । उनको जिन्दगीलाई स्वयम् उनका बुवाले नै कुनैबेला ‘एक ठुलो असफलता’को उपमा दिएका थिए ।

यसो किन भने, उनी पढाइमा राम्रो थिए । त्यसैले उनलाई उनका बुवाले मेडिकल साइन्समा भर्ना गराइदिएका थिए । मेडिकल क्षेत्र त्यतिबेला खुबै राम्रो मानिन्थ्यो । उनका बुवाले पनि छोरालाई डाक्टर भएको हेर्ने ठुलो सपना हुँदो हो !

तर, डार्विनको रुचि भने प्रकृतिमा थियो । उनी प्राकृतिक रुपरंगमा उत्सुक हुन्थे । मेडिकल पढिरहँदा पनि उनी केवल प्रकृति र यसका अलौकिक रहस्यबारे सोचिरहन्थे । फलतः सन १८२७ मा उनले एडेनबर्ग विश्वविद्यालयको मेडिकल पढाइलाई सदाका लागि बिट मारे । पढाइ छोडेको थाहा पाएपछि, उनका बुवाले उनलाई पागल भन्दै भने,“कुकुर-बिराला समाउँदै हिड्, पछि थाहा पाउँछस् । पागल बनेर हिड् ! थुक्क !”

उनका बुवाले मात्रै नभएर उनका शिक्षकहरूले पनि उनलाई ‘दिमाग नभएको पागल केटो’ भनेर बोलाउँथे । साथीसंगीहरू पनि उनको स्वभावलाई लिएर खिल्ली उडाउँथे । सुरुसुरु मेडिकल डक्टरको सानदार पेशा नगरेर जंगल-जंगल घुम्ने बाँदरको उपमा पाइरहे उनले ।

तर, उनलाई यसले केही पनि फरक पारेन । किनकि उनी आफ्नो सपना र रहरमा रमाइरहेका थिए । अरुले राम्रो मान्नु या नमान्नुले उनको जिन्दगीको यात्रामा कुनै प्रभाव पार्दैनथ्यो । सानदार भन्दा पनि असरदार जिन्दगी चाहन्थे उनी । आफ्नो मनको सुन्नुमा नै आनन्द भेट्थे उनी । जसले गर्दा अरुबाट जस्तोसुकै अस्वीकार पाए पनि मनले उनलाई सधैं स्वीकार गरिरह्यो ।

सबैले पागल, मुर्ख अनि जंगली भनेका चार्ल्स डार्विन अहिले संसारमै सुप्रसिद्ध छन् । सयौं वर्षपछिसम्म पनि उनी एक महान् वैज्ञानिकको रुपमा आफ्नो छाप छोड्न सफल् भएका छन् । उनलाई पागल भन्ने विश्वविद्यालयजस्ता सयौं-हजारौंमा अहिले उनको महान प्रतिपादन ‘मानव विकासको सिद्धान्त’को पढाइ हुन्छ ।

त्यसैले, असफलता या अस्वीकार हरकोहीको जिन्दगीमा आउँछन् नै । हरकोहीका महान सपनालाई सबैले अपत्यारलाग्दो मान्न सक्छन् नै । बस् फरक यत्ति हो कि- कोही यसको सामना गर्दै यात्रालाई थप मजबुत बनाउन थाल्छन् त कोहि भने थकाइ मार्छन् र बिचमै यात्रा टुङ्ग्याउँछन् ।

साहस गर्नुस्, तपाईभित्र असीमित क्षमता छ, त्यसको पहिचान गर्नुस् र मर्न दिनुको साटो मलजल गर्नुस् । एकदिन तपाईको सफलता देखेर तपाई आफै छक्क पर्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्