एजेन्सी । देश भरको मौसमा परिवर्तन आएसँगै नेपालमा डेंगु देखा पर्न थालेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सन् २०२० जनवरीदेखि मार्च १३ सम्ममा ३६ जना डेंगुका विरामी भेटिएका छन् । विश्व स्वास्थ्य संगठनको (डब्लुएचओ) अनुसार, यो दशकमा विश्वभरि नै डेंगुको विस्तारमा नाटकीय रूपमा वृद्धि भएको छ । हालैको आंकलनअनुसार विश्वव्यापी रुपमा वर्षेनी ३९ करोड मानिसमा डेंगुको संक्रमण हुने गरेको छ । विश्वभरिका १ सय २८ मुलुकका ३ अर्ब ९० करोड व्यक्ति डेंगु भाइरसको संक्रमणको जोखिममा रहेको अर्को अध्ययनमा उल्लेख छ ।
डेंगु के हो?
एडिस (Aedes) जातिका (एजिप्टाइ र अल्बोपिक्टस) पोथी लामखुट्टेको टोकाइबाट संक्रमण हुने भाइरल ज्वरोमध्ये एक डेंगु पनि हो। यसको संक्रमणमा सुरूआती दिनमा ज्वरो आउने, आँखा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुने जस्ता लक्षणहरू देखा पर्छ। संक्रमितमध्ये केही थोरै भने सिकिस्त पनि हुन सक्छन्। रगतमा पानीको मात्रा कम भई रक्तचाप कम हुन्छ। शरीरमा प्लेटलेटको सङ्ख्या कम भएमा रक्तनलीहरूबाट रगत शरीरका अन्य तन्तुमा जाने भएकोले शरीरमा डाबर आउने लक्षण देखा पर्न सक्छ। रक्तचाप निकै कम हुने र शरीरमा आवश्यक रगतको अभावमा बिरामी सिकिस्त भई मृत्युसम्म हुनसक्ने भएकोले बेलामा (सामान्य ज्वरो हुँदा) नै चिकित्सकको निगरानीमा उपचार गराउनु बुद्धिमानी हुनेछ।
त्यसोभए,शिघ्र उपचार बाहेक नागरिक, स्वास्थ-संस्था र राष्ट्रले के-कसरी भूमिका निर्वाह गर्ने भन्ने विषयमा संक्षिप्त टिप्पणी गरौं। महामारीको समयमा सबभन्दा ठूलो दायित्व सरकार र सरकारका निकायमा बस्नेहरूको नै हुन्छ। किटनै छैन, उपचारनै छैन, उपल्लो निकायलाई गुहारेका छौं, जस्ता अभिव्यक्तिहरू नितान्त गैरजिम्मेवार, जनमानसलाई हतोत्साही गराउने र त्रास पैदा गराउने खालका छन।
कसरी गरिन्छ उपचार ?
डेंगुको ज्वरो आएको तीनदेखि सात दिनसम्म नाजुक स्थिति हुन्छ ।यस्तो स्थितिमा केही संक्रमित ‘सक’ मा जान सक्ने सम्भावना हुने गरेकाले यो समयमा बिरामीको बढी हेरचाह आवश्यक हुन्छ । यस्तो अवस्थामा चिकित्सकको निगरानीको लागि अस्पताल भर्ना गर्नुपर्ने अवस्थासमेत हुन्छ । डेंगु प्रभावित क्षेत्रमा ज्वरो आउँदा आफूखुसी आइब्रुफेन, डाइक्लोफिनाक, एस्प्रिन आदि सेवन गर्नु हुँदैन ।
डेंगु लाग्दा देखिने लक्षण
– असाध्यै टाउको दुख्ने
–आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने
–ढाड, जोर्नी तथा मांसपेशी दुख्ने
–शरीरमा विमिरा आउने
–वाकवाकी लाग्ने
– पेट दुख्ने
– नाक वा गिजाबाट रगत बग्ने
– रक्तश्राव हुने वा शरीरमा रगत जमेको दाग देखापर्ने, बेहोस हुने आदि लक्षण पनि देखा पर्न सक्छ ।
डेंगुबाट यसरी बच्नुहोस्
–डेंगुबाट बच्नका लागि लामखुट्टेको टोकाईबाट बच्नुपर्छ,
–पानी जम्न सक्ने भाँडाहरु जस्तैः गमला, फुलदानी, खाली बट्टा, अल्कत्रा वा मट्टितेलका खाली ड्रमहरु, गाडीको काम नलाग्ने टायर आदिमा पानी जम्न नदिने उपाय गर्नुपर्छ,
–पानीका ट्याङ्कीमा लामखुट्टे प्रवेश गर्न नदिने गरी ढाकेर राख्नुपर्छ,
–कूलरमा रहेको पानीमा प्रत्येक हप्ता एक-दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्ने,
–फुलदानीमा रहेको पानी कम्तीमा हप्तामा दुई पटक फेर्नुपर्छ,
–एडिस एजिप्टाई जातको लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा पनि प्रायः पूरा बाहुला भएको वा शरीर पुरै ढाकिने लुगा लगाउनु पर्छ,
–सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नु पर्छ साथै साना केटा केटीलाई जुनसुकै समयमा पनि झुलभित्र सुताउनु पर्छ,
–लामखुट्टेको टोकाईबाट बच्न लामखुट्टे भगाउने मल्हम पनि दल्न सकिन्छ ।
–घरका झ्याल ढोकामा जाली लगाउनु उपयुक्त हुन्छ ।
–घर वरिपरि सफा सुग्घर राख्ने, पानी जम्ने खाल्टाखुल्टी पुर्ने गर्नुपर्छ ।