एजेन्सी । कोभिड–१९ अर्थात् कोरोना भाइरस मुख्यतः आरएनए, प्रोटिन र लिपिड मिलेर बनेको सुक्ष्म कण (एक इन्चलाई दश लाखले भाग गर्दा जति आउँछ लगभग त्यत्रो साइजको) हो । यसको बाहिर आवरणमा लिपिड हुन्छ । लिपिड भनेको एक प्रकारको बोसो हो ।
आरएनएले भाइरसको अनुवंश (जीन) प्रसारित गर्दछ, जसरी मानिस वा अन्य जनावरहरूमा डिएनएले गर्दछ । प्रोटिनले मानिस वा अन्य जनावरमा यसलाई सार्न मद्धत गर्दछ । अर्थात् हाम्रो भाषामा हाम्रो संक्रमित गर्न सहयोग गर्दछ । यसको प्रोट्रिन क्राउन (मुकुट) आकारको हुने भएकोले यसलाई कोरोना भाइरस भनिएको हो ।
लिपिड अर्थात् बोसो यसको सुरक्षा कवच भइहाल्यो, हाम्रो छाला जस्तै । हामीले मासु खाँदा हातमा लागेको बोसो पखाल्न साबुनको प्रयोग गर्छौँ । साबुनमा भएको रसायनले बोसोको अणुलाई ध्वस्त गर्छ र हातमा लागेको बोसो जान्छ र हात सफा हुन्छ ।
हो, त्यसरी नै साबुन पानीले हात धुँदा कोरोनाभाइरसको बाहिरको बोसोले बनेको आवरण ध्वस्त हुन्छ । यदि तपाईंको हातमा कोरोनाभाइरस कतैबाट आएर बसेको छ भने र कोरोना भाइरसको त्यो सूक्ष्म कण प्रभावविहीन बन्छ, अथवा मर्छ ।
जसकारण स्वास्थकर्मी र विज्ञहरूले साबुन पानीले हात धुनु भनेका छन् । अल्कोहलको मात्रा भएका सेनिटाइजरहरूले पनि यस्तै काम गर्छ तर साबुन जतिको प्रभावकारी हुँदैन । त्यसैले साबुन उपलब्ध छ र प्रयोग गर्न मिल्छ भने साबुन नै उत्तम हो । सावुन पानीले हात धुने बानी बसालौँ ।
जब यो भाइरसले हाम्रो शरीरमा आक्रमण गर्दछ । तब यसको आरएनएले हाम्रो शरीरको कोषलाई स्वतन्त्र रूपमा काम गर्न दिंदैन र भाइरसले भनेको अनुसार काम गर्न लगाउँछ । जसरी कम्प्युटरमा भाइरस पस्यो भने हामीलाई एउटा वेबसाइट टाइप गर्दा अर्कै वा अश्लील साइटमा लगेको हुन्छ ।
त्यसरी कोरोना भाइरस मानिसको शरीरमा पस्यो भने हाम्रो शरीरको कोषलाई यसले नियन्त्रण गरेर उसले भनेको जस्तो काम गराउँछ । त्यसरी भाइरसले हाम्रो शरीरमा थुप्रै कोरोना भाइरसको सन्तान उत्पादन गर्छ । त्यसको लागि हाम्रो कोषमा भएको बोसो र प्रोटिनले सहयोग गर्छ ।
कोरोना भाइरसका सन्तानहरू हाम्रो शरीरको विभिन्न भागहरूमा प्रसारित हुन्छन् । यसरी प्रशारित हुने क्रममा फोक्सोमा पुग्छन् र फोक्सोबाट सास फेर्दा वा हाच्छिउँ गर्दा त्यो भाइरस रोगीको शरीरबाट वाहिर आउँछ । त्यसैले हामीलाई मास्क लगाउन भनिएको हो । त्यसको खास कारण अरूलाई नसरोस् भन्ने हो ।