वसन्त ऋतुको सुरुवातसँगै गर्मीको समस्या सुरु हुन थालेको छ । हामी मौसम अनुसारको लवाईखवाईलाई मात्रै ध्यान दिने गर्छाैं । तर, चिसो र गर्मी मौसममा खाने खानाको बारेमा भने खासै ध्यान दिँदैनौ ।
आयुर्वेदले मौसमलाई कूल ६ भागमा विभाजन गरेको छ । जसमा ६ वटा ऋतुहरु छन् । सोही ऋतु अनुसार हामीले खानामा फरक पन ल्याउँदा हाम्रो शरीरमा पाचन क्षमतामा बृद्धि हुने र शारीरिक शक्तिलाई त्यसले असर गर्नेगर्छ । यदि तपाईं आफ्नो स्वास्थ्यलाई सुधार गर्न चाहनुहुन्छ भने या आफूलाई सधैं निरोगी बनाउन चाहनुहुन्छ भने आफ्नो खानामा ध्यान दिनै पर्छ ।
शरद ऋतु (असोज र कात्तिक)
यस मौसममा धेरै हल्का, मीठो र नरम खाना खानुपर्छ । यस समयमा, लौकी, राजगिरा जस्ता सागको सेवन लाभकारी हुन्छ । किनकि यो मौसममा मानिसको पाचन प्रणाली कमजोर हुने भएकोले पचाउन सजिलो हुने खालका खानेकुरा खानुपर्छ ।
हेमन्त मौसम (मंसिर र पुष)
यस मौसममा रातहरू लामो र दिनहरू छोटा हुन्छन् । यस्तो अवस्थामा शरीरको गतिविधि सुस्त हुन्छ र शरीरमा उर्जा बचत हुन थाल्छ । त्यसैले यो समयमा ढिलो पच्ने खालका खानाहरु खानु आवश्यक हुन्छ ।
जाडो शिशिर (माघ फाल्गुन)
यस मौसममा शरीरमा उर्जा प्रबल मात्रामा आवश्यक हुन्छ । पाचन प्रकि्रया तीब्र रुपमा चल्छ । तसर्थ, यो मौसममा खाली पेट बस्नु स्वास्थ्यको लागि हानिकारक हुन्छ । यदि तपाईं रोगबाट जोगिन चाहानुहुन्छ भने यस मौसममा चिसो चीज खानु हुँदैन र उपवासबाट टाढा रहनु राम्रो हुन्छ ।
वसन्त ऋतु (चैत र बैशाख)
यो मौसममा रुघा लाग्ने जस्ता समस्याहरु बल्झिने गर्छ । यस्तो अवस्थामा पुरानो अन्न र धान आदिको सेवन गर्नु स्वास्थ्यबर्द्धक मानिन्छ । यो मौसममा दिनमा सुत्ने र रातमा अबेरसम्म जाग्नु पनि हुँदैन ।
ग्रीष्म (जेठ र असार)
यस मौसममा पाचन क्षमता अत्यन्त कमजोर हुन्छ । त्यसैले तातो, मसलेदार, नुनिलो, अमिलो र भुटेको खानाबाट सकेसम्म टाढा रहनु राम्रो हुन्छ । फलफूलहरुमा मौसमी अंगुर, अनार, तरबुजा आदि खानु राम्रो हुन्छ ।
बर्षा ऋतु (साउन र भदौ)
यस मौसममा शरीरमा पाचनसँग सम्बन्धित रोगहरू बढी हुन्छन् । खानामा दुध, घिउ, मह, जौ, गहुँ, चामल आदि धेरै खानुपर्छ । यस मौसममा रक्सी, मासु, माछा र दही धेरै नखाएकै राम्रो ।