हामी जब कुनैपनि निर्णय लिन खोज्छौ तब स्वविवेकले निर्णय गर्न डराउँछौं । कुनैपनि निर्णय लिइरहँदा हामी आफ्नो मनलाई होइन, अरुको आँखालाई सोध्न थाल्छौं । अरुले के भन्लान् ? के सोच्लान् ? भनेर आफ्नो निर्णयबाट पछि हट्न थाल्छौं । जबकी हामीले आफ्नो लागि कुनैपनि काम गर्दैछौं वा निर्णय लिदैछौं भने त्यसमा आफ्नो विवेकको प्रयोग गर्नुपर्छ । आफुलाई के सहज लाग्छ, के राम्रो लाग्छ, के ठिक लाग्छ ? सोच्नुपर्छ । जब ‘अरुले के भन्छन् ?’ भनेर हामी डराउन थाल्छौं, हामी आफु चाहिँ अप्ठ्यारोमा फस्न पुग्छौं ।
अरुले आफ्नो बारेमा के सोच्छन् भन्ने कुरा महत्वपूर्ण होइन । खासमा त हामीले आफुलाई के सोच्छौं ? महत्वपूर्ण कुरा यो हो । अरुले आफुलाई कसरी मूल्यांकन गर्छन् भनेर सोच्न थालियो भने हामी आफु जस्तो हुनुपर्ने हो त्यस्तो हुँदैनौं । अरुले जस्तो सोच्छन्, त्यस्तै हुने अभ्यासमा लाग्छौं । संसारमा विभिन्न प्रकारका सोच भएका मान्छे हुन्छन् । उनीहरुले सोचे जस्तो बन्न थाल्नुभयो भने तपाईंले आफ्नोपन गुमाउँदै जानुहुन्छ । त्यसैले हामीले लिने कुनैपनि निर्णयमा आफ्नो मन र विवेकको प्रयोग गर्नुपर्छ ।
कतिसम्म भने, हामी आफुले कुनै पहिरन लगाइरहँदा पनि सोच्छौं कि अरुले देखेर के भन्लान् ? उक्त पहिरनले आफुलाई कति सहज लागेको छ ? कति सुहाउँदो लागेको छ ? सोच्दैनौं । केवल सोच्छौं, यस्तो लुगा लगाएको देखेर अरुले के सोच्छन् ?
कतिपय व्यक्तिहरु सामान्य घरायसी काम गर्न लाज मान्छन् । कुचो लगाउन लजाउँछन् । लुगाफाटो धुन लजाउँछन् । जुठो भाँडा माझ्न लजाउँछन् । किन ? किनकि उनीहरु सोच्छन्, ‘अरुले देख्यो भने के होला ?’
यसरी ‘अरुले के सोच्छन् ?’ भन्ने डरले नै हामी धेरै कुरा लुकाउँछौं । गर्नुपर्ने काम गर्दैर्नौं । हामी अरुको सोचाई अनुरुप आफुलाई बदल्न खोज्दा बुख्याँचा जस्तै बन्न पुग्छौं । न अरुको चित्त बुझाउन सक्छौं, न आफ्नोपन कायम राख्न नै ।
अरुले के भन्छन्, के सोच्छन् भन्ने कुरा छाड्नुहोस् । तपाईं आफुले के सोच्नुहुन्छ ? मनन गर्नुहोस् । आफ्ना लागि जे सहज, सरल लाग्छ त्यही गर्नुहोस् ।