एजेन्सि। चीनको वुहान बाट सुरु भएको कोरोना भाइरसका कारण अहिले विश्व नै त्रसित छ । अहिलेसम्म कोभिड-१९ (कोरोना भाइरस)बाट दुई हजारभन्दा बढीको मृत्यु भएको छ । बुधबार बिहानसम्म दुई हजार १२ जनाको मृत्यु भइसकेको चिनियाँ सञ्चार माध्यमहरूले जनाएका छन् ।
६ जना बाहेक सबैको मृत्यु चीनमा भएको हो । चीनको मुख्यभूमि बाहिर हङकङमा दुई र जापान, ताइवान, फ्रान्स र फिलीपिन्समा एकएक जनाको मृत्यु भएको हो ।
कोरोना भाइरसबाट बच्नका लागि विभिन्न देशहरूले विभिन्न खालका उपायहरू अपनाइरहेका छन् । जापानी अधिकारीहरूले चाहिँ पानीजहाजमा रहेका यात्रुहरूका लागि आइफोन बाँडेका छन् ।
उक्त क्रूजशिपमा रहेकामध्ये केही मानिसहरूमा कोरोनाका संक्रमण देखिएको थियो । त्यसैले त्यहाँ रहेका अन्य व्यक्तिहरूलाई त्यससम्बन्धी अपडेट दिनका लागि आइफोन बाँडिएको हो ।
यात्रुहरूलाई बाँडिएका आइफोनमा एक विशेष खालको एप इन्स्टल गरिएको थियो जसको सहयोगले यात्रुहरूले स्वास्थ्य मन्त्रालयको पछिल्लो अपडेट तथा समाचारहरू प्राप्त गर्न सक्दथे ।