एजेन्सी। एक जमाना थियो जब एउटै छानोमुनी आमाबुवा, हजुरबा-हजुरआमा, काकाकाकी, दाजुभाई, भाउजु-बुहारी, भाई बहिनी, नाता-नातिनी सबै अटाउँथे । तर अहिले त्यो परिवार बिरहले नै देख्न पाइन्छ ।
हजुरबा-हजुरआमा श्रद्धाका प्रतिमूर्ति थिए । उनीहरुले नै परिवारलाई सही निर्देशन र संस्कारमा डोहोर्याउँथे । भाउजु-बुहारी परिवारको मियो थिए । साना नानीबाबु घरका सौन्दर्य थिए । उनीहरुको चकचक, नोकझोंक, उत्साहले घरको माहोल रमाइलो बनाउँथ्यो । दाजु-भाईहरुकै आड-भरोसमा परिवारले सुरक्षित महसुस गर्ने गर्दथे ।
संयुक्त परिवारमा एकअर्काको आडभरोसा रहन्छ । खुसीमा रमाउन र दुःखमा साथ दिने परिवारका सदस्यहरु हुन्छन् । हजुरआमा-हजुरबाले आफ्ना सन्ततीसँग घुलमिल भएर रमाइलो दिनहरु बिताउन पाउँछन् । यसैगरी साना बालबालिकाले पनि आफ्ना दौतरी पाउँछन् । आफुजस्तै साथीसंगीसँग खेल्दै हुर्कने वातावरण पाउँछन् । अर्कोतिर हजुरआमा-हजुरबाको स्नेहमा रमाउन पाउँछन् ।
संयुक्त परिवारमा बस्नुको अनेक फाइदा छन् । संयुक्त परिवारमा बस्दा जब हामी समस्याले ग्रस्त पर्दछ तब समस्या हल गर्नका लागि अरु सदस्यको साथ रहन्छ ।
संयुक्त परिवारको खास सौन्दर्य भनेको त हजुरबा-हजुरआमादेखि नाता-नातिनासम्म एकै छानोमुनी रमाउन पाउनु हो । हरेक परिवारको आफ्नै रीतिथीति हुन्छ, चालचलन हुन्छ, परम्परा हुन्छ । यीनै कुराले परिवारलाई एकढिक्का बनाई सौहार्द्धपूर्ण ढंगले अगाडि बढाइरहेको हुन्छ ।
पारिवारिक संस्कारले आफ्ना सन्ततीलाई सही मार्गमा डोहोर्याउने भएकाले यसलाई एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्नु आवश्यक छ ।
अहिले संयुक्त परिवार टुक्रदैछ । परिवारका सदस्यहरुको एकअर्काबीचको सम्बन्ध, संवाद, सरसहयोग धरापमा पर्दैछ । अहिले आमाबुवा अलग छन्, छोराछोरी अलग । हजुरबा, हजुरआमा एक्लो छन् । बालबच्चा पनि एक्लो । नातेदारबीच हार्दिकतापूर्वक सम्बन्ध छैन । केवल औपचारिकतामा सीमित छ ।
छोरा-बुहारी घरबाट अलग भएका छन् । न श्रीमान्लाई श्रीमतीसंग बसेर भलाकुसारी गर्ने फुर्सद नै छ । न बच्चासँग कुराकानी गर्ने कोही साथी छ । न कुनै उत्सवमा खुसी साट्ने आफन्त छन्, न दुःख-बिराम, साह्रो-गाह्रोमा साथ दिने । सबै आ-आफ्नै मेलोमेसो मिलाउने चक्करमा एकलकाँटे भएका छन् ।
एकातिर दम्पतीलाई आफ्नो बच्चासँग खेल्ने, रमाउने समय छैन । यसरी उनीहरु पनि एकअर्काबाट टाडिदै गएका छन् ।