७/८ वर्षको उमेरसम्म बच्चा आफ्नो आमाबुवा नै उनीहरुका लागि सबैथोक लाग्छ । सबैभन्दा जान्ने, सबैभन्दा बुझ्ने, सबैभन्दा राम्रो आफ्नो आमाबुवा लाग्छ । तर, जब उमेर बढ्दै जान्छ बिस्तारै आमाबुवासँग उनीहरुको दूरी बढ्न थाल्दछ ।
शहरिय परिवेशमा आमाबुवा दुवै कामकाजी हुँदा बच्चालाई समय पुग्दैन । बिहान बेलुकी मात्र घर आइपुग्ने भएकाले बच्चासँग पर्याप्त समय दिन सक्दैनन् । त्यसो त कामकाजी दम्पतीले बच्चालाई होस्टलमा राख्छन् । यसले बुवाअमा र बच्चाको दूरी बढ्छ ।
आमाबुवा र छोराछोरीबीच आपसी सम्बन्ध हुनुपर्छ । सम्बाद हुनुपर्छ । यसले छोराछोरीको मनोभावना बुझ्न सकिन्छ भने आमाबुवाको अवस्था पनि ।
धेरै किशोर/किशोरीले आफ्नो आमाबुवाको आर्थिक अवस्था बुझेकै हुँदैनन् । त्यही कारण उनीहरु अनेक किसिमको डिमान्ड गर्छन् । साथीहरुको लहलहैमा लागेर जथाभावी खर्च गर्छन् ।
उनीहरुलाई थाहा हुँदैन, आफुले यसरी खर्च गर्ने पैसा बुवाआमाले कति दुख गरेर आर्जन गरिरहेका होलान् भन्ने कुरा । उनीहरुलाई थाहा हुँदैन, आफुले यसरी डिमान्ड गरेका कुराहरु पुरा गर्न बुवाआमालाई कति गाह्रो भएको होला ।
उनीहरु आमाबुवासँग घुर्की लगाउँछन् । धम्काउँछन् । जसरी हुन्छ, आफुले चाहेको कुरा पुरा गरिदिन बाध्य पार्छन् । बुवाआमा र छोराछोरीबीच नियमित सम्बाद हुने हो भने उनीहरुले आ-आफ्नो घरायसी कामकाज, व्यवहार आदिको बारेमा छलफल गर्न पाउँछन् । यसले गर्दा छोराछोरीलाई बुवाआमाको अवस्थाको राम्ररी ज्ञात हुन्छ ।
छोराछोरीको यस्तो भावनालाई बुवाआमाले पनि बुझ्नुपर्छ । छोराछोरीमा कसरी शारीरिक तथा मानसिक परिवर्तन आउँदैछ भन्ने कुरालाई बुझेर सोही अनुरुपको सही मार्गदर्शन गर्नुपर्छ ।
छोराछोरी र आमाबुवाबीच दूरी बढेमा यस्ता समस्या र जटिलता पनि बढ्दै जान्छ । तर, उनीहरुवीच आपसमा छलफल हुने, भावना साझेदार गर्ने भएमा संभावित समस्याहरु पनि सजिलै हल हुन्छ ।