Logo

सुदूरपश्चिममा चौथो पटक हिमपात



Spread the love

३ माघ, डोटी।  बुधबारदेखिको मौसममा आएको परिवर्तनका कारण डोटीलगायत यहाँका पहाडी तथा हिमाली जिल्लामा चौथो पटक हिमपात शुरु भएको छ । पहिले परेको हिउँ पग्लिन नपाउँदै फेरि हिमपात भएपछि जनजीवन प्रभावित बनेको हो । यहाँका बझाङ, बाजुरा तथा अछाम जिल्लाका उच्च लेकाली क्षेत्रमा बिहीबार रातिदेखि फेरि हिमपात शुरु भएको छ । हिमपात भएसँगै चिसो बढेपछि यहाँको जनजीवन पनि प्रभावित भएको छ ।

डोटीकोे खप्तडस्थित झिगराना, गोलादेउ, पानीखाल, नापानी, शिखर, गोबडालेक, बडीकेदारथानलगायतका उच्च पहाडी क्षेत्रमा हिमपात भई चिसो बढेकाले गाईवस्तु चराउन समस्या भएको शिखर नगरपालिकाका–१ का स्थानीयवासी हरी नेपालीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “गाईवस्तु चर्ने ठाउँमा हिउँ परिरहेको छ, वस्तुभाउ गोठ बाहिर निकाल्नसमेत समस्या भएको छ ।” हिउँदमा लगाएको अन्नबालीमा पर्याप्त मात्रामा पानी नपुग्ने यहाँका लेकाली क्षेत्रमा अहिले चौथो पटक हिउँ परेका कारण स्थानीय किसान भने हिउँ पर्दा हिउँदेबाली सप्रिने आशामा खुशी भएका छन् । यहाँका उच्च लेकाली भेगमा अहिले पनि हिमपात भइरहेको छ । हिमपातका कारण स्थानीयवासी घर बाहिर निस्किन नसकेकाले घरभित्रै आगो तापेर बस्न बाध्य भएको पर्यटन व्यवसायी तथा डोटी उद्योग वाणिज्य सङ्घका महासचिव दीपकबहादुर खड्काले जानकारी दिनुभयो ।

हिमपातका कारण चिसो बढेकाले वृद्धवृद्धा तथा बालबालिका बढी प्रभावित भएको बताइएको छ । यहाँका उच्च लेकाली भेगमा बाक्लो हिमपात भइरहेको छ भने दिपायल, सिलगढीलगायतका ठाउँमा मसिनो पानी परिरहेको छ । पानी र हिमपातका कारण यहाँको तापक्रम निकै घटेको छ । चिसोका कारण विभिन्न रोग तथा समस्याले सताउने भएकाले चिसोबाट बच्न सर्तकता अपनाउनु पर्ने चिकित्सकहरुले सुझाव दिएका छन् ।रासस

प्रतिक्रिया दिनुहोस्