आमाको काखमा छँदासम्म कुनैपनि बालबच्चा कमजोर हुँदैनन् । जब विद्यालयले नै कुनै बच्चालाई ‘अब्बल’ र कुनै बच्चालाई ‘कमजोर’ भनी विभाजन गर्न थाल्छ । जबकी हरेक बच्चा आफैँमा कमजोर हुँदैनन् । हरेक बच्चासँग कुनै न कुनै जन्मजात गुण हुन्छ । उनीहरुको आफ्नो छुट्टै क्षमता र रुचि हुन्छ ।
भिन्दा भिन्दै बच्चालाई एकै ठाउँमा राखेर तौलनु नै हाम्रो गल्ती हो । हामी बच्चाको रुचि, खुबी पहिल्याउनतर्फ लाग्दैनौं । बरु आफूले तयार गरेको मापदण्डभित्र राखेर उनीहरुको क्षमता नाप्ने प्रयास गर्छौं । अभिभावकको ध्यान के हुन्छ भने, जसरी पनि बच्चाले राम्रो पढोस् । शिक्षकको ध्यान जसरी पनि विद्यार्थीबाट राम्रो रिजल्ट आओस् भन्ने हुन्छ ।
यसमा केही स्वार्थ लुकेका छन् । अभिभावकको स्वार्थ भनेको, ‘मेरो बच्चाले धेरै पढोस् । राम्रो जागिर पाओस् । भविष्य सुरक्षित होस् ।’ भन्ने हुन्छ भने शिक्षकको स्वार्थ ‘आफूले पढाएको विद्यार्थीले राम्रो अंक हाँसिल गरोस्, ताकि मेरो पदोन्नती वा तलबमा बृद्धि हुनसक्छ । विद्यालयको ब्रान्ड भ्यालु बढ्छ ।’ भन्ने हुन्छ ।
बच्चालाई अक्षरको बोझ
अभिभावक पनि चाहन्छन्, आफ्नो बच्चाले परीक्षामा उत्कृष्ट अंक हासिल गरोस् । यसबाट के बुझिन्छ भने बच्चालाई शिक्षक वा अभिभावकले केवल प्रमाणपत्रका लागि पढाइरहेका छन् । तर, पढ्नुको अर्थ जागिर मात्र हो त ? अनावश्यक अक्षरको बोझ बोकाएर हुबहु प्रश्नोउत्तर गर्न लगाएर विद्यालयको ब्रान्ड भ्यालु बढाउनका लागि होइन, बच्चाको क्षमता विकासको लागि हुनुपर्छ शिक्षा ।
क्षमता विकास महत्वपूर्ण
खासमा हामीले पढ्ने भनेको प्रमाणपत्रका लागि होइन । बरु आफ्नो क्षमता विकासका लागि हो । जब हामीमा क्षमताको विकास हुन्छ । तब प्रमाणपत्रको कुनै भ्यालु रहँदैन ।
बच्चालाई पढाउनु भनेको उनीहरुलाई जबरजस्ती पाठ घोकाउनु होइन । बच्चालाई पुस्तक घोकाउनुअघि, पाठ रटाउनुअघि के ख्याल गर्नुपर्छ भने बच्चाको खुबी के कुरामा छ ? जबकी उनीहरुको क्षमता के छ ? के कुरामा रुचि छ ? के बन्न चाहन्छ ? कस्तो जीवनमा रमाउन चाहन्छ भन्ने कुरालाई पटक्कै ध्यान दिँदैनन् । जबरजस्ती पुस्तकको पाठ घोकाएर प्रमाणत्रको दौडमा मिसाइदिन्छन् । यस्तो रिले दौड दौडाइएकै कारण बच्चाहरु भोलिका दिनमा डिग्रीको प्रमाणपत्र काखीमा च्यापेर रोजगारका लागि भौतारिने गर्छन् ।
सबै बच्चा एकनास हुँदैनन् । सबैले एउटै कुरालाई एकै हिसाबले बुझ्दैनन् । उनीहरुको सोचाईं, बुझाईं, ग्रहण गर्ने क्षमता पनि एकनास हुँदैन । बच्चाहरुको यी भिन्दा भिन्नै प्रवृत्तिलाई बुझेर सही ढंगले उनीहरुको क्षमता विकास गराउनका लागि हामीले सहयोग गर्नुपर्छ ।