१४ मंसिर, पाँचथर। भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले उपनिर्वाचनमा पाँचथरको फिदिम नगरपालिका वडा नं १ मा आज बिहान मतदान गर्नुभएको छ ।
रिक्त रहेको वडाध्यक्ष पदमा फिदिम–१ मा उपनिर्वाचन भएको हो । मन्त्री नेम्वाङले फिदिम मावि मतदानस्थलको ‘घ’ मतदान केन्द्रमा मतदान गर्नुभएको हो । मतदानपूर्व उहाँले जिल्लामा मतदानको अवस्थाबारे जानकारी लिनुभएको थियो । मतदानपूर्व उहाँले वडाध्यक्ष पदका उम्मेदवारहरुलाई विजयको शुभकामनासमेत दिनुभएको थियो ।
त्यसैगरी, तीन स्थानमा उपनिर्वाचन हुन लागेको पाँचथरमा शान्तिपूर्ण रुपमा मतदान शुरु भएको छ । जिल्लाको फाल्गुनन्द गाउँपालिकाको प्रमुख, फिदिम नगरपालिका–१ को वडाध्यक्ष र हिलिहाङ गाउँपालिका–७ को वडाध्यक्ष पदका लागि आज निर्वाचन हुँदैछ । बिहान ७ बजेदेखि निर्धारित समयमा जिल्लाका १७ वटै मतदानस्थलका ३१ वटै मतदान केन्द्रबाट मतदान शुरु भएको प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले जानकारी दिनुभयो ।
मतदानका लागि सबै मतदान केन्द्रमा मतदाता लाममा लागिसकेका छन् । निर्वाचनमा जिल्लाको कुनै पनि स्थानमा कुनै प्रकारको समस्या र अवरोध नरहेको प्रमुख जिल्ला अधिकारी वस्तीले बताउनुभयो । निर्वाचनको सुरक्षार्थ करीब एक हजार ५०० सुरक्षाकर्मी परिचालन गरिएको छ । पाँचथरमा उपनिर्वाचन हुने तीन स्थानमा १५ हजार ८०० मतदाता रहेका छन् । रासस