धेरै अभिभावकहरु भविष्यमा आफ्ना छोराछोरीले दुःख पाउने हुन् कि ? कष्ट झेल्नुपर्ने हो कि ? हेपाई सहनुपर्ने हो कि ? भने कुराले चिन्तित छन् । यस्तै-यस्तै भय बोकेका अभिभावक आफ्ना छोराछोरीको भविष्य सुनिश्चित गरिदिन चाहन्छन् ।
आमाबुवाको यही आसा पुरा गर्ने लक्ष्य सहित अहिले थुप्रै बालबच्चा विद्यालय धाइरहेका छन् । उनीहरुको मन-मस्तिकमा यही कुरा बोकेर दौडधुप गरिरहेका छन् कि ‘मेरो भविष्य अनिश्चित छ । मैलें आफूलाई सुरक्षित गर्नुपर्छ ।’ अर्थात्, डरै-डर बोकेर बालबच्चा विद्यालय गइरहेका छन् ।
उनीहरुलाई विद्यालय गइयो, पढियो भने भोलिका दिनमा अप्ठ्यारो पर्नेछैन । भविष्यमा कुनै संकटको सामना गर्नुपर्ने छैन भन्ने कुरा सिकाइएको वा बुझाइएको छ।
यही चक्करमा लागेर बालबच्चाहरु जतिसक्दो पाठ घोक्ने र परीक्षामा उत्कृष्ठ अंक हाँसिल गर्ने दौडमा लाग्छन् । तर, शिक्षाको औचित्य यसरी भयभित बनाउनु भने पक्कै हैन । शिक्षाको अर्थ बच्चालाई कुनै कुरामा पारंगत वा पोख्त बनाउनु होइन । बरु, उनीभित्र आफ्नै सम्भावनाहरुको खोजी गर्नका लागि सक्षम बनाउनु हो । उनको रुचि के छ, खुवी के हो भन्ने कुरा पहिल्याउन सक्ने बनाउनु हो ।
बच्चाले विद्यालय जानुको अर्थ यति मात्र होइन कि, उसले केही नयाँ कुरा जानेर वा सिकेर घर फर्कियोस् । जान्न र सिक्नका लागि विद्यालय मात्र छैन, अरु थुप्रै स्रोत र साधन छन् । आँखाले देखिने हरेक चिज आफैँमा एउटा पाठ हो । उनीहरुलाई हरेक कुराको जवाफ घोकाउने होइन, ती कुराहरु देखेपछि उनको मनमा उत्सुकता पैदा गराइदिने हो । जवाफ त उनी आफैँले खोज्नुपर्छ ।
बालबच्चाले धेरै कुरा जानेर मात्र पुग्दैन । परीक्षामा हु-बहु जवाफ लेखेर मात्र पुग्दैन । यसर्थ उनीहरुले जे-जति कुरा सिक्छन् त्यो जीवनोपयोगी हुनुपर्छ । पढ्नु, शिक्षित हुनु भनेको जान्नेबुझ्ने मात्र हुनु होइन जानेको, बुझेको कुरालाई व्यवहारमा उतार्नु पनि हो ।