१८ भदौ, काठमाडौं – सल्लेरी खबर
पार्टी बैठकमा अध्यक्ष केपी शर्मा ओलीसँग बहस र विवाद गरिरहने एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईका सार्वजनिक अभिव्यक्ति सुन्दाचाहिँ ओलीकै बोलीको झल्को आउन थालेको छ । एमालेले औपचारिक निर्णय नगरे पनि उनले इच्छा व्यक्त गरेको खण्डमा प्रधानमन्त्रीको उम्मेदवार ओलीलाई नै घोषणा गरेर संसदीय र प्रदेशसभाको चुनावमा जाने सम्भावना रहेको भट्टराईले बताए । पार्टीभित्रको अन्तरसंघर्षमा सधैं ओलीको विपरीत लाइनमा उभिने गरेका भट्टराई पछिल्ला राष्ट्रिय राजनीतिक एजेण्डामा भने ओलीको आधिकारिक प्रवक्ताकै रुपमा प्रस्तुत हुन थालेका छन् ।
हुन त पार्टी प्रचार विभाग प्रमुख भनेको प्रवक्ताकै जिम्मेवारी हो । तर, उनी त्यो जिम्मेवारीमा रहेका कारण मात्र अध्यक्षको बोलीसँग उनको बोली मिलेको होइन । अध्यक्षले पार्टीलाई एकतावद्ध बनाउनुपर्छ र अध्यक्षलाई पार्टीले राष्ट्रको नेताका रुपमा अघि बढाउनुपर्छ भन्ने मान्यता राख्ने भट्टराई आगामी चुनावमा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर जानुपर्ने पक्षमा देखिएका छन् ।
भट्टराईले कांग्रेसले एमालेसँग एक्ला एक्लै भिड्ने सामथ्र्य गुमाइसकेको दाबी गर्दै एमालेले ओलीको नेतृत्वमा बहुमत ल्याएर चुनाव जित्ने ठोकुवा गरे ।