Logo

सीको भ्रमण ऐतिहासिक र फलदायी: मन्त्री बाँस्कोटा



Spread the love

२८ असोज, काठमाडाैँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण ऐतिहासिक र फलदायी भएको बताएका छन् ।

सञ्चार केन्द्र नेपालले आज यहाँ आयोजना गरेको ‘चिनियाँ राष्ट्रपति सीको भ्रमण, उपलब्धि र कार्यान्वयनका चुनौती’ विषयक अन्तरक्रियामा उनले सीको भ्रमणले मुलुकको विकास सम्भावनाको ढोकासमेत खुलेको बताए ।

“सीको नेपाल भ्रमणले नेपालका लागि बहुआयामिक उपलब्धि हासिल भएको छ”, उनले भने, “अब योजनाहरु कार्यान्वयनका तहमा जानेछन्, यसबाट अबका केही वर्षभित्र नेपालको सम्पूर्ण अर्थतन्त्र, उत्पादन क्षेत्र, बहुआयामिक सामाजिक–आर्थिक रूपान्तरणलाई अघि बढाउनेछ ।”

सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले सीको भ्रमणले नेपालभित्र र बाहिर उल्लेखनीय छापहरु छाडेर गएकोसमेत धारणा राखे । “यो भ्रमणलाई आम नागरिक, सबै राजनीतिक दल र नेपालको भलो चिताउने सबैले हार्दिक स्वागत र समर्थन गरेको एउटा स्थिति देखा परेको छ”, उनले भने, “भ्रमणले नेपाल र चीनबीचको विकास निर्माणका योजनामा, सुख र समृद्धिका अभियानमा हामी साथै रहन्छौँ भन्ने सन्देश दिएको छ ।”

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको नेपाल भूपरिवेष्ठितबाट भूजडित राष्ट्रको रूपमा लैजाने योजनामा चीनका राष्ट्रपतिले हौसला प्रदान गरेको बताए । चीन र दक्षिण एशियासित अब हिमालयमा मानवीय पुल मात्र नभई भौतिक पुलसमेत स्थापित हुनु सुखद पक्ष रहेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्