Logo

मनाइयो कोजाग्रत पूर्णिमा



Spread the love

२७ असोज, काठमाडाैँ – आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आइतबार सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाइएको छ ।

आश्विन शुक्ल प्रतिपदाका दिनदेखि शुरु भएको दुर्गा पक्ष अर्थात् दशैँं पर्व आइतबार कोजाग्रत पूर्णिमाका दिन सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेपछि समापन हुन्छ । विजया दशमीका दिनदेखि शुरु भएको मान्यजनबाट दुर्गा देवीको प्रसाद टीका र जमरा ग्रहण गर्ने क्रम पनि आइतबारबाट अन्त्य भएको छ ।

हिजोको दिन राति जाग्राम बसेकाको घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वासका आधारमा मध्यराति महालक्ष्मीको पूजा आराधना गरी जाग्राम बसिन्छ । माता दुर्गाका तीन रुपमध्येका एक रुप महालक्ष्मीको पूजा गरेर दुर्गा पक्षलाई बिदा गरिन्छ । नवरात्र विजया दशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा अर्थात्  हुन्छ ।

आइतबार मध्यरातमा पूर्णिमा तिथि परेकाले कोजाग्रत पूर्णिमा आइतबार नै मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । सबै बलि दिने काम भने शनिबार नै सम्पन्न भएको उनले बताए । पूर्णिमा ब्रत, आकाशदीप दान र कात्तिक स्नान पनि हिजोदेखि शुरु भएको छ । बाँस, बाँस नपाएमा पलाँस, खयर, पीपल, आदिको लिङ्गो ठड्याई आकाशदीप दान गरिन्छ । आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म घर घरमा विशेषरुपमा गरिने तुलसी पूजा पनि हिजो बिहानदेखि नै शुरु भएको छ । आइतबारदेखि तुलसी पूजा गरी कात्तिक शुक्ल एकादशीका दिन दामोदरसँग तुलसीको विवाह गरिन्छ । विवाहपछि मार्गशीर्ष कृष्ण पञ्चमीसम्म विधिपूर्वक यज्ञ गरेर चतुर्मासा व्रत समापन हुन्छ । आषाढ शुक्ल एकादशीदेखि शुरु भएको तुलसी पूजा आजदेखि कार्तिक स्नान एवम आकाशदीप दानसहित विशेष रुपमा गर्ने शास्त्रिय विधान छ ।

प्रतिक्रिया दिनुहोस्