Logo

श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन हुनुपर्ने माग



Spread the love

१४ असोज, काठमाडाैँ – नेपाल पत्रकार महासङ्घले श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन हुनुपर्ने माग गरेको छ ।

महासङ्घले रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र दिपायलबाट निष्काशन गरिएको भनिएका तीन जना पत्रकारको पुनःबहाली गर्नुपर्ने माग गर्दै आज नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन अगाडि एक घण्टा धर्नासमेत दिएको छ ।

धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै महासङ्घका अध्यक्ष गोविन्द आचार्यले रेडियो नेपाल दिपायल प्रसारण केन्द्रबाट निष्काशन गरिएका पत्रकारको जतिसक्दो चाँडो पुनःबहाली गर्नुका साथै सम्पूर्ण सञ्चारमाध्यममा श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

महासङ्घले श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन भए नभएका बारेमा असोज १० गतेदेखि विभिन्न सञ्चारमाध्यममा अनुगमन गर्नुका साथै सञ्चालकलाई ऐनको कार्यान्वयनका लागि दबाब सिर्जना गरेको छ । महासङ्घका उपाध्यक्ष दिलीप थापामगरले श्रमजीवी पत्रकार ऐनविपरीत निष्कासन गरिएको भन्दै निष्काशित पत्रकालाई विनासर्त पुनःबहाली गराउन महासङ्घले कडा आन्दोलनमा जान बाध्य हुने बताए ।

नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले नेपालको प्रेस स्वतन्त्रतासँगै पत्रकार पेशागत सुरक्षाका लागि सरकारसँग आग्रह गरे । आदिवासी जनजाति पत्रकार महासङ्घका अध्यक्ष डण्ड गुरुङ र प्रेस नेपालका अध्यक्ष केशव अर्याल लगायतले निष्काशन पत्रकारलाई पुनःबहाली गर्नुपर्नेमा जोड दिए ।

नेपाल पत्रकार महासंघ, रेडियो नेपाल प्रतिष्ठान शाखाका अध्यक्ष दुर्गा फुयाँलले महासंघको आन्दोलनमा रेडियो नेपालको तर्फबाट ऐक्यवद्धता रहेको उल्लेख गर्दै निष्कासित पत्रकारको पुनःबहाली नभएसम्म आन्दोलन जारी राख्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्