दशैं
खेतका फाँटहरूमा लहलह झुलेका धान, वनपाखा पखेराहरू बेली, चमेली र सयपत्री फुलहरूले ढकमक्क भएका, फुलको सुगन्ध चोरी बहेको सुगन्धित पवनले शरीरलाई स्पर्श गर्दा मनमा छुट्टै किसिमको उत्साह र उमङ्गले छाइरहँदा- रातो माटो र कमेरोमा सिङ्गारीएर मण्डप कि बेहुलीले बेहुला पर्खिए जस्तै प्रदेशीलाई पर्खेर बसेकाे घर । घर माथिको चाैरमा लिङ्गे पिङ । नयाँ कपडामा रमाउँदै उफ्रँदै हिँडेका नानीबाबुहरू । दशैंको यो मनमोहक दृश्यले कस्काे हृदय नाैनी नबनाउला र ?
“चार जात छत्तिस वर्णको साझा फुलबारी”, नेपाल एक बहुधार्मिक, बहुसांस्कृतिक विशेषताले भरिपूर्ण देश हो । यहाँ विभिन्न धर्मका विभिन्न चाडपर्वहरू मनाइन्छ । जस अन्तर्गत दशैं सनातन हिन्दु धर्मावलम्बीहरूकाे एक महान् चाड हो । असत्य माथि सत्यको विजयको स्वरूप मनाइने दशैंमा आफू भन्दा ठुलाबडाका हातबाट टीका जमरा ग्रहण गरी आशीर्वाद थाप्ने चलन रहेको छ । वर्षायामको भारी वर्षाको अन्य सँगै शरद ऋतुको आगमनमा गाउँ ठाउँले एउटा छुट्टै किसिमको उत्साह र उमङ्गको महसुस गर्दछ । हरियाली, स्वच्छ, सुन्दर देखिने वरपर वातावरणमा विजयादशमीले झनै नयाँ राैनक थपिदिन्छ ।
हिन्दु नेपालीहरूको महान् चाड विजयादशमी, आश्विन महिनाको शुक्ल प्रतिपदा(घटस्थापना) को दिन देखि शुरु हुन्छ । घटस्थापनाको दिन नुहाइधुवाइ गरेर सफा सुग्घर भई घडामा जौ रोप्नुका साथै, नदी अथवा मुहानबाट बालुवा लेराइ त्यसकाे वेदी बनाई त्यसमा पनि जौ रोपिन्छ । जौ रोपेको घडामा विभिन्न देवीदेवताका आह्वान गरी घडामाथि थालीमा भगवती दुर्गाको प्रतिमा राखी नवरात्रभर दुर्गाका नौ स्वरूप(शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्ड, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागाैरी र सिद्धिदात्री) को पूजा गर्दै चण्डी पाठ गरी त्रिशक्ति(महाकाली, महालक्ष्मी, महासरस्वती) को विशेष आराधना गरिन्छ ।
यसरी घटस्थापना देखि शुरु भएको दशैंलाई महासप्तमी, महाअष्टमी, महानवमी र दशमीकाे दिनलाई अझै विशेष दिनकाे रूपमा लिइन्छ ।
महासप्तमीका दिन फूलपातीस्वरूप केरा, दारिम, धान, हलेदो, माने, कर्चुर, बेल, अशोक र जयन्ती यी नौ प्रकारका पातहरूलाई पुजी प्रत्येकको ‘नौ’का दरले दुर्गापूजा गरेको स्थानमा भित्र्याइन्छ ।
यस्तै, महाअष्टमी र महानवमीका दिन महाकाली- भद्रकालीको विशेष पूजा-आजा गरिन्छ। पूजापश्चात् यी देवीलाई बोका, कुखुरा, हाँस, राँगो आदि बलि दिइन्छ। यी दिनहरूमा मानिसहरू आ-आफ्ना कुलदेवी, देवता र स्थानीय देवीदेवतालाई पूँजी बलि दिन्छन्। शाकाहारीहरूले नरिवल, कुभिण्डो, केरा, घिरौँला, आदि फल अर्पण गर्दछन्।
महाअष्टमी र महानवमी बिचको रातलाई कालरात्रि मानेर रातभरि गुप्तपूजा पनि गरिन्छ ।
दशमीकाे दिन देवीकाे पूजा आराधना गरेर उनकै प्रसाद स्वरूप मजिठोको रातो रङमा गाईको दूधको दहीले रङ्गाएको रातो, सेतो अक्षताको टीका लगाउँदछन् । रातो र सेतो शान्ति र समृद्धिको प्रतीक हो । टीकाले मन, मस्तिष्क, विचारलाई शुद्ध चेतनायुक्त बनाउँछ । यसरी दशमीकाे दिन देखि पूर्णिमाको दिन सम्म आफू भन्दा ठुला र मान्यजनको हातबाट रातो टीका जमरा लगाइ आशीर्वाद लिई दशैं मनाउने प्रचलन रहेको छ ।
हामीले मनाइने सम्पूर्ण चाडपर्वहरूको आ- आफ्ना छुट्टै किसिमको महत्त्व रहेको पाइन्छ । प्राचीन काल देखि शुरु भएको दशैं पर्वलाई विजयादशमी, दसेरा, आयुध-पूजा, बडादशैं जस्ता नामहरूबाट पनि चिनिन्छ ।
देवी पुराणका अनुसार नवदुर्गा भगवतीले नवौँ दिनसम्मको युद्ध पछि शन्डमुन्ड र रक्तबिज सहित महिषासुरको वध गरेर दशौँ दिनमा विजय उत्सव मनाएको मानिन्छ ।
अद्भुत रामायण र श्रीमद् देवी भागवतका अनुसार प्रतिपदा देखि दशमीकाे दिनसम्म रामले रावणसँग युद्ध गरेर लङ्केश्वर रावणकाे वध गरी असत्य माथि सत्यको विजय भएको भनी विजय दशमी मनाइन्छ ।
महिषासुर, रावण, अहिरावण र महिरावण विम्ब प्रतीकलाई काम, क्रोध, लोभ, मोह, अहङ्कार मद् मात्सर्य अर्थात् खराब वा असत्य पक्ष र दुर्गालाई सत्यको प्रतीक भनेर अर्थ लगाएको हुन सक्छ ।
असत्य माथि सत्यको विजय भएको प्रतीकको रूपमा दशैं पर्व भव्यताका साथ मान्ने संस्कृतिको प्रादुर्भाव भएको युगौँ बितिसकेको छ । दसैँ एक विजयको उत्सव मात्रै नभएर आफ्ना आफन्त भेटघाट गर्ने ,नाता सम्बन्ध अझ प्रगाढ बनाउने, बिग्रिएका सम्बन्धहरूलाई पून: स्थापित गर्ने, यही उमङ्गमय वातावरणमा जीजिविषाका लागि टाढा-टाढा देश–प्रदेशमा गएका आफन्तजनहरू आफ्नो घर देश फर्किने, परिवारसँग समय बिताउने, मीठो खाने, राम्रो लगाउने र मनोरञ्जन गर्ने एक राम्रो अवसरको रूपमा पनि लिन सकिन्छ ।
तपाईँ सम्पूर्ण हिन्दु धर्मालम्वीहरूमा विजय दशमी २०७६ सालकाे हार्दिक मङ्गलमय शुभकामना !!