१३ असोज, काठमाडौं । लेस्टर सिटीले इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आइतबार राति भएको खेलमा न्युक्यासल युनाइटेडमाथि ५-० को फराकिलो जित निकालेको छ ।
खेलको १६औं मिनेटमा रिकार्डो परेराले गोल गर्दै लेस्टरलाई अग्रता दिलाए । पाहुना टोलीमाथि निरन्तर आक्रमण गरेको लेस्टरका डेनिस प्राएटमाथि फाउल गरेपछि न्युक्यासलका आइज्याक हेडेनले रातो कार्डको खादै मैदानबाट बाहिरिएका थिए।
५४औं मिनेटमा भार्डीले गोल गर्दै लेस्टरको अग्रता दोब्बर पारे। त्यसको तीन मिनेट नबित्दै न्युक्यासलका पाउल डमेटले आत्मघाति गोल गरेसँगै लेस्टरले ३-० मा अग्रता बनायो ।
६४औं मिनेटमा भार्डीले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता ४-० मा पुर्याउँदा निर्धारित समयको अन्तिम मिनेटमा विल्फ्रेड एन्डिडीले गोल गर्दै लेस्टरको फराकिलो जित पक्का गरे।
जितसँगै ७ खेलबाट १४ अंक जोडेको लेस्टर सिटी लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । पराजित न्युक्यासल युनाइटेड समान खेलबाट ५ अंकसाथ तालिकाको १९औं स्थानमा रहेको छ।