३ असोज, काठमाडौं । फ्रान्सको घरेलु फुटबल लिग-१ मा केही दिन अगाढी खेल भइरहेको समयमा केलियन एमबाप्पेसँग सेल्फि खिच्ने उनका एक फ्यानलाई १५ सय युरो जरिवाना र ६ महिना प्रतिबन्ध लगाइएको छ।
टुलुजको मैदानमा पीएसजी खेलिरहेको पहिलो हाफको इन्जुरी समयमा एक दर्शक प्यारापिटबाट दौडिएर मैदान भित्र पुगेका थिए जहाँ उनले एमबाप्पेसँग सेल्फी लिए। सुरक्षाकर्मीले तत्कालै ती समर्थकलाई मैदानबाट निकालेका थिए। ती व्यक्तिविरुद्ध अदालतमा ५ सय युरो जरिवाना र एक वर्ष प्रतिबन्दको माग गरिएको थियो। तर, अदालतले १५ सय जरिवाना र ६ महिनाको प्रतिबन्धको सजाय सुनायो। अब उनलाई ६ महिनासम्मका लागि फ्रान्सका कुनैपनि रंगशालामा प्रवेश गर्न रोक लगाएको छ ।
फ्रान्समा खेल भइरहेका बेला मैदान भित्र प्रवेश गरि खेल अवरुद्ध गरेमा १५ हजार युरो जरिवाना र एक वर्षसम्म प्रतिवन्ध हुन सक्ने प्रावधान रहेको छ।