“प्रिय ,
३६४ दिन पछिको भोलिपल्टको
सुनौलो बिहानी ,
एक बर्ष त हो नि !!
त्यति पनि कुर्न सक्दैनौं मलाई “
उसको छुट्नु अघिको अन्तिम वाक्य ।
उ होमियो
समयको चक्रब्यहुमा ,
व्यस्तता पुर्ण जिवनमा ,
एवम् रितले बदलिरहने
दिन र रातहरु,
असङ्ख्य रहरहरु ,
इच्छाहरु ,
बगिरहने भावनाहरु ,
सपनाका सुनौलो भविष्यमा
कैद गरेर
उ कटिबद्ध थियो ।
दुई – चारवटा समुन्द्र पारि जाँदैमा ,
माया काँहा फितलो हुन्छ र ?
उसले हजारौं पत्रहरु लेख्दै थियो ,
आफ्नो अनुपस्थितिको महसुस हुन नदिन ,
म्यासेज गर्यो ,
कथा , कविता , गजलहरु
यत्र तत्र सर्बत्र
र पर्खियो
उसको भविष्यको त्यो सुनौलो भोलि ।
समयको रोटेपिङ्सँगै ,
बदलिँदै गए सम्पुर्ण कुराहरू ,
उसको सोचभन्दा बिपरित ।
माया…….??
माया त परिवर्तन हुँदो रहेछ ,
समय सापेक्ष ,
खिँइदो रहेछ , बढ्दो दुरिसँग ,
फेरिदो रहेछ , बदलिँदो ऋतुसँग ,
सायद इतिहासको भविष्यवाणी सहि थियो ,
मुना र मदनको बीच सँधै ल्हासा हुन्छ ।
र आयो उसको भविष्य ,
उसको सुनौलो दिन ,
उ फर्कियो नेपाल
विमानस्थलमा ओर्लनसाथ उसले फोन गर्यो “हेल्लो”
परिचित आवाजमा उसले जवाफ पायो ,
“को बोलेको ? रङ्ग नम्बर ”
उ लाचार बन्यो
कमजोर बन्यो
आँसु झार्यो
पिडा पोख्यो
बिलिन भए हजारौं सपनाहरु
रेटिए अनेकौं विश्वासहरु
पर्खिने प्रयास गर्यो
तर बिफल ,
अतितले तर्सिएको उ ,
आफ्नो मृत शरीर हेर्न आउछिन भन्ने आशामा ,
अन्तिममा फेला पार्यो उपाय ,
क्षितिजतिर टोलाएका आँखा ,
घाँटीमा डोरिको डाम
र हातमा चिट्ठी ,
उसले लगायो आफैंलाई पुर्णविराम ।
र स्तब्ध छिन उसकी आमा ,
बेसहारा बनेका बाबु ,
अकल्पनीय दुख खेपेर
जन्माई , हुर्काइ , बढाइ ,
त्यत्रो भएको छोरो
आज मौन छ ,
सायद त्यसैले आज बहिनिले
बा-आमा डोर्याएर लगिन ।
ममता, स्नेह र साहुको ऋण
सबै फिर्ता बुझ्न कसैले पठाएछ ,
काठको बाकशमा।