नेपालको पूर्वाधारको विकासका लागि दुई छिमेकी मुलुक भारत र चीनबीच प्रतिस्पर्धा देखिएको छ ।भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच हस्ताक्षर भएको संयुक्त विज्ञप्तिमा परेका पूर्वाधार विकासका कार्यक्रमले यस्तो सम्भावना देखिएको खबर आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।
परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ नेपालको विकासमा दुई छिमेकी नयाँ चरणमा प्रवेश गरेको बताउँछन् । ‘चीनले भन्दा छिटो काठमाडौंमा रेल ल्याउन अब भारत लाग्छ । १० वर्षभित्र उत्तर दक्षिण रेलले जोडिन्छ।’
-चीनको विशेष चासो रहेको पोखरालाई पछिल्लो दिनमा भारतले विशेष महत्व दिँदै आएको छ । नेपाल भ्रमणमा रहेका भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जी १९ कात्तिक ०७३ मा पोखरा पुगेका थिए ।
-चीनले कोरालाबाट पोखरा, लुम्बिनी हुँदै भारतको गोरखपुरसम्मको बजारलाई ध्यानमा राखेर पोखरा लुम्बिनी रेलमार्गमा चासो दिएको हो । बुद्धधर्म मान्ने चिनियाँका लागि यो मार्ग धार्मिक हिसाबले पनि महत्वपूर्ण छ ।
-भारतले यही मार्गलाई एक्सप्रेस सडकका रूपमा विकास गर्न चाहेको हो । सरकारले चीनलाई सिगात्से केरुङ, काठमाडौंं, पोखरा लुम्बिनीसम्मको रेलमार्गका लागि प्याकेजमा राखेर निर्णय गर्न आग्रह गरेको छ ।
-प्रधानमन्त्री देउवाको भ्रमणका बेला भएको संयुक्त विज्ञप्तिमा नेपाललाई ट्रान्जिट बनाउने कुरा उल्लेख छ । विज्ञप्तिमा ३३ औं बुँदामा भनिएको छ, ‘नेपालमा ठूलो मात्रामा कार्गो लैजाने र नेपाललाई ट्रान्जिट बनाएर यातायातका साधन चल्न दिइनेछ ।’नेपाललाई ट्रान्जिट बनाएर भारतले ठूलो मात्राको कार्गो कहाँ लैजाने भन्ने विषयमा विज्ञप्ति मौन छ ।
-नेपालको भूमिलाई ट्रान्जिटका रूपमा प्रयोग गर्न अहिले दुवै देश लालायित छन्् । यसका लागि उनीहरूले नेपालको पूर्वाधार विकासका क्षेत्रमा लगानी गर्ने बाटो खोज्न थालेका हुन् ।
-सुनौलीलाई पोखरासँग जोड्ने सिद्धार्थ राजमार्ग भारतले बनाएको हो । चीनले यो बाटो भएर रेल बनाउन खोज्दै छ भने भारतले पोखरा हँुदै कोरलासम्म पुग्ने द्रुतमार्गको अवधारणा अगाडि सारेको छ ।