काठमाडौँ । यतिखेर देशमा डेंगु नियन्त्रण बाहिर पुगेको छ । वैशाख अन्तिम साताबाट सुनसरीको धरानदेखि फैलिएको डेंगुको संक्रमण अहिले सम्म ५६ जिल्लामा फैलिसकेको छ । स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार अहिलेसम्म प्रदेश नं. १ को ९ , प्रदेश नं. २ को ७, प्रदेश नं. ३ को १२, गण्डकी प्रदेशको १०, प्रदेश नं. ५ को ११, कर्णाली प्रदेशको २ र सुदूरपश्चिम प्रदेशको ५ जिल्ला गरी देशभर ५६ जिल्लामा डेंङ्गुको संक्रमण फैलिएको छ ।
महाशाखाका अनुसार हालसम्म डेंगुको संक्रमणबाट ६ जनाको मृत्यु भइसकेको छ । मृत्यु हुने मध्ये काठमाडौँमा २ र सिन्धुपाल्चोक, सुनसरी, चितवन र डोटीमा एक—एक जना रहेका छन् । साउन १ गते देखि भदौ २२ गते सम्म ३ हजार ८ सय ९९ जना डेंगुको नयाँ बिरामी थपिएको महाशाखाले जनाएको छ ।
थपिएको यो संख्या सँगै वैशाखदेखि यता बिरामीको संख्या ७ हजार नाघेको जनाइएको छ । साउन १ देखि २२ सम्म प्रदेशगत रुपमा हेर्ने नै भने सबै भन्दा धेरै संक्रमित र मृत्यु हुनेको संख्या प्रदेश नं.३ मा देखिएको छ ।
प्रदेश नं. ३ मा अहिलेसम्म ४ जनाको मृत्यु भएको छ भने साउनदेखि यता २ हजार १० जना नयाँ बिरामी थपिएका छन् । यस्तै साउनदेखि यता प्रदेश नं. १ मा ८३१, प्रदेश नं.२ मा ३९, गण्डकी प्रदेशमा ८९६, प्रदेश नं. ५ मा ९७, कर्णाली प्रदेशमा ३ र सुदूरपश्चिम प्रदेशमा २३ मा डेंगुको संक्रमण देखिएको छ ।
चिकित्सकका अनुसार डेंगुको संक्रमण फैलिएपछि अहिले शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पताल टेकुमा स्वास्थ्य परीक्षण गर्ने नागरिकको चाप बढ्दै गएको छ ।
डेंगु के हो ?
डेंगु सुरुवा रोग हैन । डेंगु एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने र फैलने गर्छ । डेंगु सार्ने लामखुट्टेले प्रायः दिउँसो मात्र टोक्छ । डेंगलाई ब्रेकबोन फिभर समेत भन्ने गरिन्छ । यस रोगले हड्डी दुखाइ एवम् मांशपेशी दुखाइ समेत निम्ताउने गर्दछ ।
वर्षाको समय शुरु भएसँगै डेंगु ज्वरोको प्रकोप बढ्न थाल्दछ । ज्वरो आउने, बेस्सरी टाउको दुख्ने, आँखाको गेडी दुख्ने, शरीरमा डाबरहरु आउने, अरुचि हुने, जोर्नी तथा मांसपेशीहरु बेस्सरी दुख्ने, रातो बिबिरा देखिनु डेंगुका लक्षणहरु हुन् ।
अस्पतालमा भर्ना भएका सबै बिरामीलाई एकै ठाउँमा राख्दा लामखुट्टेमार्फत् डेंगु सर्ने खतरा हुन्छ । त्यसैले, बेडमा भर्ना भएका बिरामीहरुलाई झुलभित्र राखेर उपचार गर्ने गरिन्छ ।
डेंगु लागेको कसरी थाहा पाउने ?
डेंगुको तीन देखि १४ दिनको अन्तरमा देखिन्छ । यसको संक्रमण भएमा एकदमै चिसो अनुभव हुने र ज्वरो आउने गर्छ । तर, आम ज्वरोभन्दा डेंगुको ज्वरो निकै तिब्र हुन्छ ।
डेंगुको संक्रमण भएको बिरामीलाई कमजोरी अनुभव हुन्छ । थकाई लाग्छ । कतिपय बिरामीहरु चक्कर लागेर बेहोससमेत हुन्छन् । खानामा जिब्रोको स्वाद बदलिन्छ । भोक कम लाग्छ । पखाला लाग्छ । टाउको तथा कम्मर दुख्छ । र, गम्भीर अवस्थामा आँखा, नाक आदिबाट रगत बग्न थाल्छ ।
कसरी जोगिने ?
डेंगुबाट बच्नका लागि घर आसपास एवं टोल छेउछाउ पानी जम्न दिनु हुँदैन । नीमको पात बालेर त्यसको धुँवा घरमा फैलाउँदा लामखुट्टे भाग्न सक्छन् ।
तपाइले पिउने सफा पानी यदि ढाकिएको छैन भने त्यहाँ लामखुट्टे आइ फूल पार्ने सम्भावाना पनि उत्तिकै रहन्छ । पानी राखिएको भाँडा बर्तन कहिल्यै पनि खुला छाड्नु हुँदैन ।
भान्सा र वाथरुमलाई सुख्खा राख्नुपर्छ । झ्याल ढोकामा जाली लगाउनुपर्छ । शरीर पूरा ढाक्ने गरी लुगा लगाउनुपर्छ । सुतेको समयमा झुल प्रयोग गर्नुपर्छ । घर आसपास लामखुट्टे मार्ने औषधी छर्नुपर्छ ।
उपचार के छ ?
अहिलेसम्म डेंगुको औषधी बनेको छैन । शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउनु नै यसको एकमात्र उपचार हो । त्यसैले माथिका लक्षणहरु देखिनसाथ अस्पताल जानुपर्छ र चिकित्सकको सम्पर्कमा रहनुपर्छ ।
डेंगु लागेपछि रगतमा प्लेटलेट्सको संख्या तिब्र रुपमा घट्न थाल्छ । यस्तो अवस्थामा औषधीका साथसाथै खानपान र सही दिनचर्या आवश्यक हुन्छ ।
सादा भोजन लिनुपर्छ । धेरै नुन भएको खाने कुरा खानुहुँदैन । मसलेदार चटपटे खानेकुरा बन्द गर्नुपर्छ । अनार वा गहुँको जमराको रस पिउनुपर्छ । ताजा मौसमी फलफूल खानुपर्छ । नरिवल पानी वा सफा पानी धेरै मात्रामा पिउनुपर्छ । भिटामिन सी युक्त फल खानुपर्छ । कागती, सुन्तला, अंगुर, जामुन पर्याप्त मात्रामा खानुुपर्छ ।
मेवाको पातको रस बनाएर दिनमा दुई/तीनपटक पिउँदा त्यसले फाइदा गर्छ ।
स्वास्थ्य विभाग नेतृत्वविहीन
देशका ५६ जिल्लामा डेंगुको संक्रमण फैलिएको समयमा स्वास्थ्य क्षेत्रको महत्वपूर्ण जिम्मेवारी बोकेको निकाय स्वास्थ्य सेवा विभाग भने नेतृत्वविहीन बनेको छ । विभागका महानिर्देशक डा. सुशीलनाथ प्याकुरेल कार्यकाल सकिएसँगै विभाग नेतृत्वविहीन बनेको हो ।
असार अन्तिममा महानिर्देशकको रुपमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्याकुरेललाई महानिर्देशकको जिम्मेवारी प्रदान गरेको थियो । तर, कार्यकाल सकिएसँगै भदौ २१ देखि प्याकुरेल बिदा भएका छन् । दुई साताअघि मन्त्रालयले डा. प्याकुरेलको एक वर्ष म्याद थप गर्न मन्त्रिपरिषदमा प्रस्ताव दर्ता गराएपनि स्वीकृत नभएपछि उनले अनिवार्य अवकास पाएका हुन् ।
डेङ्गु नियन्त्रणमा प्रचार प्रसार पुगेन
तीब्र रुपमा फैलिएको डेङ्गु नियन्त्रणमा प्रचार प्रसारको ठूलो भूमिका हुन्छ । तर डेंगु नियन्त्रणका लागि सरकारले सरकारी संचार माध्यम रेडियो नेपाल र नेपाल टेलिभिजनको मात्रै उपयोग गरेको छ ।
केन्द्र, प्रदेश र स्थानीयतहको संचार माध्ययमलाई पनि सूचना तथा प्रचार–प्रसारको जिम्मा दिए प्रभावकारी हुन सक्ने सरोकारवालाहरु बताउँछन् ।