Logo

एकै भवनमा रेडियो र सङ्ग्रहालय



Spread the love

२४ भाद्र, मेलम्ची – समुदायको सहयोगमा रेडियो मेलम्चीको तीनतले भवन निर्माण भइरहेको छ । स्थानीय सङ्ग्रहालय, सभाकक्ष, पुस्तकालय, सूचना केन्द्रसमेत रहने सो भवन निर्माण अन्तिम चरणमा रहेको रेडियो सञ्चालन समितिका अध्यक्ष डम्बर रसिक भारतीले जानकारी दिए ।

सात वर्षअघि स्थापना भएको सामुदायिक रेडियो मेलम्ची यस भेगकै प्रभावकारी सञ्चार माध्यम हो । भाडामा बसेको घर २०७२ को भूकम्पमा भत्किएपछि तत्कालै बारीको पाटाबाट सञ्चालन गरी समुदायलाई सुसूचित गरेको थियो । अहिले समुदायको सहयोगमा आफ्नै भवन निर्माण भइरहेको छ ।

मेलम्ची नगरपालिकाले जग्गा उपलब्ध गराएपछि भवन निर्माण थालिएको हो । भवन निर्माणका लागि निर्वाचन क्षेत्र विकास कोषबाट रु दश लाख, ह्योल्मो–सिन्धु–मेलम्ची उपत्यका सामाजिक उत्थान कार्यक्रम सञ्चालन समितिबाट रु दुई लाख संस्थागत रुपमा प्राप्त भएको छ भने अरु रकम समुदायस्तरबाट सङ्कलन भइरहेको बताइएको छ ।

भवन निर्माण सम्पन्न गर्न करीब रु ६५ लाख लाग्ने अनुमान गरिएको छ । लोप भइसकेका र लोप हुने क्रमका विविध स्थानीय सामग्री खुर्पेटो, ढिकी, जाँतो, हर्पे, तुलो, ठेकी, घुम, घुम, राडी आदि समावेश गरी स्थानीय सङ्ग्रहालय यसै भवनमा स्थापना गरिने अध्यक्ष भारतीले जानकारी दिए । उनका अनुसार जिल्लाका सबै जानकारी दिने सूचना केन्द्रका साथै, पुस्तकालयसमेत व्यवस्था गर्ने गरी बहुउद्देश्यीय भवन निर्माण थालिएको हो ।

भूकम्पपश्चात तत्काल बारीको पाटाबाट सञ्चालित यस रेडियो डेढ वर्षसम्म पालमुनि खुला ठाउँबाट प्रसारण गर्नुपरेको पीडा रेडियो कार्यक्रम प्रस्तोता दिपीन ढुङ्गाना सुनाउँछन् । भवन निर्माण गरी आगामी माघ १० गते रेडियोको आठौँ वार्षिकोत्वसमा भवनको उद्घाटन गर्ने लक्ष्य रहेको अध्यक्ष भारतीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्