Logo

पूर्व महारानीलाई स्तन क्यान्सर, शल्यक्रिया गर्ने तयारी



Spread the love

२३ भाद्र, टोकियो – जापानका पूर्व महारानी मिचिकोलाई स्तन क्यान्सर भएकाले शल्यक्रिया गरिने भएको छ । आइतबार ८४ बर्षीया महारानीलाई प्रारम्भिक चरणमा रहेको क्यान्सरको शल्यक्रिया गर्न लागिएको उनको पारिवारिक स्रोतले जनाएको छ ।

मिचिकोका पति अकिहितोले गत अप्रिलमा औपचारिक रुपमा राज्यसत्ता त्याग गरेका थिए ।

विश्वमा विगत झण्डै २०० वर्षको राजतन्त्रको इतिहासमा जीवित रहेका राजाले स्वेच्छाले राजकाज त्याग गरेको पहिलो घटना भएको बताइएको छ ।

महारानी मिचिकोको शल्यक्रिया टोकियो विश्वविद्यालयको अस्पतालमा गर्ने तय भएको अधिकारीहरुले जनाएका छन् ।
स्थानीय संचार माध्यमहरुका अनुसार उनको शल्यक्रिया केही घण्टामै सकिएर त्यसको नतिजा पनि आइतबार बेलुकासम्ममा सार्वजनिक भइसक्ने छ ।

शल्यक्रिया गर्नुअघि पूर्वराजा अकिहितो र उनकी छोरी सायाको कुरोदाले मिचिकोलाई अस्पतालमै भेटेका थिए । छोरी सायाकोले एक सर्वसाधारणसँग विवाह गरेपछि उनको राजकुमारीको पदवी खोसिएको थियो । जापानका पूर्वराजा अकिहितो र पूर्वरानी मिचिकोले विश्वमा परम्परागत राजतन्त्रलाई नाटकीय रुपमा आधुनिकीकरण गरेको मानिन्छ ।

पूर्वरानी मिचिकोको जन्म सन् १९३४ मा टोकियोस्थित टोकियो विश्वविद्यालयको अस्पतालमै भएको थियो ।

उनको कोखबाट वर्तमान राजा नारुहितोको जन्म सन् १९६० मा भएको थियो । उनका दोस्रो छोरा अकिशिनोको जन्म सन् १९६५ मा भएको हो ।

प्रतिक्रिया दिनुहोस्