Logo

युरोकप छनोटमा विश्वविजेता फ्रान्स विजयी



Spread the love

२२ भदौ, काठमाडौं । फ्रान्सले युरो कप फुटबल छनोटमा जित निकालेको छ । शनिबार राति भएको खेलमा फ्रान्सले अल्वानियामाथि ४–१ को फराकिलो जित निकालेको हो ।

पेरिसमा भएको खेलमा घरेलु टोलीलाई जिताउने किङ्सले कोमानले दुई तथा ओलिभर जिरुउड र जोनाथन इकोनेले समान १ गोल गरे । अल्वानियाका सोकोल सिकालेसीले सान्त्वना गोल फर्काए ।

राफल भरानको पासमा खेलको आठौं मिनेटमा नै कोमानको गोलमार्फत फ्रान्सले अग्रता लिएको थियो । २७औं मिनेटमा जिरुउडले लुकास हर्नान्डेजको पासमा गोल गर्दै फ्रान्सले अग्रता दोब्बर बनायो । एन्टोइन ग्रिजमन ३७औं मिनेटमा पेनाल्टीमा चुकेका थिए ।

खेलको ६८औं मिनेटमा कोमानले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सलाई ३–० गोलको अग्रता दिलाए । त्यस्तै, जोनाथनले खेलको ८५औं मिनेटमा गोल गरेपछि फ्रान्स ४–० गोलले अघि रहेको थियो । तर, खेलको ९०औं मिनेटमा अल्बानियाले पेनाल्टी पायो । पेनाल्टीबाट सोकोलले गोल गरे पनि फ्रान्सले खेल ४–१ ले जितेको हो ।

यही समूहको अर्काे खेलमा टर्कीले एन्डोरालाई १–० ले पराजित गर्यो ।

प्रतिक्रिया दिनुहोस्