Logo

‘सम्पदा लडाइँ’ सार्वजनिकीकरण



Spread the love

२१ भाद्र, काठमाडाैँ – विश्वसम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबारको डबलीमा आयोजित समारोहमा पत्रकार दामोदर न्यौपानेको ‘सम्पदा लडाइँ’ पुस्तकको आज सार्वजनिकीकरण गरिएको छ ।

वरिष्ठ गीतकार एवं कवि दुर्गालाल श्रेष्ठले उक्त पुस्तकको सार्वजनिकीकरण गर्दै मुलुकमा सम्पदा संरक्षणको लडाइँमा रहनेका लागि पुस्तक ब्रह्मस्त्र जस्तै रहने विश्वास व्यक्त गरे । सम्पदा संरक्षणमा विशिष्ठ योगदान दिँदै आएका स्रष्टा रवीन पुरीले सम्पदा के हो, किन संरक्षण गर्नुपर्छ भन्ने विषयमा जानकारी दिने उद्देश्यले प्रकाशित पुस्तकमा लेखकले ऐन, सन्धि र ऐतिहासिक दस्तावेजबाट प्रमाणीकरण भएका सम्पदासम्बन्धी तथ्य र तथ्याङ्क हुबुहु प्रस्तुत गर्न सफल भएको बताए ।

समालोचक ज्ञानु अधिकारीले ‘सम्पदा लडाइँ’मा ३४ आत्मपरक निबन्धमा काठमाडौँ उपत्यकाका सम्पदा, त्यसमाथि भएको अतिक्रमण र बचाउन गरिएको प्रयासका विषयलाई निकै गहनरुपमा प्रस्तुत गरिएको बताइन् । अधिवक्ता प्रकाशमणि शर्माले सम्पदा र संस्कृति राष्ट्रको जीवन भएकाले यसको संरक्षण र सम्वर्धनका विषयमा सरकार, अभियन्ता र नागरिकबीच मतैक्यता हुनुपर्छ भने ।

पुस्तकका स्रष्टा न्यौपानेले हाम्रा सम्पदा समुन्नतिका प्रतीक र राष्ट्रिय परिचयका संवाहक भए पनि किन उपेक्षित भए, कसले गर्यो र अब कसरी संरक्षणका लागि एकाकार हुने भन्ने विषय ‘सम्पदा लडाइँ’मा समाविष्ट रहेको जानकारी दिए । स्रष्टाले सम्पदाको दुवाई, रक्षकै भक्षक, काष्ठमण्डपमा उठेको आवाज, सम्पदाको मुटुः जग, पुरातात्विकस्थलको विनाश, विकासको शहीद खुला सङ्ग्रहालय, सम्पदामा ज्यादती, प्राचीन बस्तीमा विकासले दिएको तनाव, विकास होइन विनाश, रानीपोखरी नजिर र जागरणको एक घण्टीलगायत शीर्षकभित्र रहेर सम्पदाको चित्रण गरेका छन् ।

सम्पदा र संकृति मुलुकको पहिचान र संस्कृति भएकाले सरकार एकातिर अभियन्ता अर्काेतर्फ सभ्यता, पहिचान र राष्ट्रियताका मुद्दामा एउटै मोर्चामा ‘वाच डग’का रुपमा रहेर लड्नपर्ने आवश्यकतामा स्रष्टाहरुले जोड दिएका थिए । साङ्ग्रीला बुक्सले प्रकाशित गरेको ५११ पृष्ठको ‘सम्पदा लडाइँ’को मूल्य रु ७५० रहेको छ ।

प्रतिक्रिया दिनुहोस्