गन्थन- गुन्द्रुक
आफ्नो सानो छातीलाई सिरानीको माथिल्लो पट्टि राखेको छु। सिरानीको आयतन निकै ठूलो छ मेरो छातिको अनुपातमा । भन्न त नहुने हो तर कहिलेकाहीँ मलाई लाग्छ, मान्छे- छाति र सिरानीको मिलनले जन्मिएको हो।
लाग्छ छाती पनि त सिरानी हो कसैको,
सिरानी पनि त छाती हो कसैको।
लाग्छ मात्र ! भन्न त नहुने हो !
यो सिरानी, यो छाती- यो निलो आकाश ! यी यस्तै हरेक सबै वस्तु बिच पनि केही न केही समानता भेटिन्छ। त्यो यो कि यि सबैसँग नितान्त आफ्नो आफ्नो अस्तित्व छ। र पनि सबै जोडीएका हुन्छन् एक अर्काको अस्तित्वसँग।
तिमी र म, कसरी पो अपबाद रहन सकौला र?
** म प्लस तिमी !!
आफू माथि विस्वास नहुनुको सबै भन्दा बेफाइदा यही हो, अर्कोले पनि हामी माथी विस्वास गर्न सक्दैन। आफू हुनुको बोध नहुनु लगभग आफु नहुनुनै हो।
आफूलाई कहिले केलाएन- ‘म’ले र कसैले यू यार मिष्टिरियस भनिदिदा, क्या बात! बस आनन्द महसुस गरिरह्यो । वास्तवमा अरुले ‘म´ लाई नबुझ्नु , ‘म’ ले ` म´लाई नचिन्नुको प्रमाण थियो । र, आफ्नो उल्झनलाई आफ्नो सबैभन्दा ठुलो परिचय मान्नु मुर्खता।
`म´ त्यही मुर्खतामा बाचिरह्यो, रमिरह्यो ।
`तिमी ´सदा सदा आकाश मात्र बनिरह्यो। जहिल्यै बेस्सरी चर्किएर हाँस्यो(गृष्म झैँ), तर कहिले दर्किएर रोएको देखिएन।
तर पनि खै कसरी `म´ जहिले इन्द्रेणी देख्दथ्यो `तिमी´को अनुहारमा ?
परिणाम ,अचेल वर्षात हृदयमा मात्र हुन्छ।
अनि आँखाहरु मरुभूमि हुन्।
[सवा दुई वर्ष]
सायद हाम्रो सोचको आयू भिन्नता लगभग ठ्याक्कै यति नै थियो । (सवा दुई वर्ष)
र यो सवा दुई वर्ष सम्म हाम्रा सोचहरु एक अर्कोलाई विपरीत पारेर भागीरहे, भागीरहे, भागीरहे… माइनस् तिर।
** ढक ढक ढक
ढक् ढक ढक् ।
स्पर्शहरुले बिउझने चाहना भएकालाई एकाविहानै आवजाले बिउझनु जस्तो झर्को अर्को केही लाग्दैन ।
ढक् ढक् ढक्-
पुन: हल्ला गर्छ कसैले ढोकामा । आज आइतवार ,पानि आयो सायद । आँखा नखोली सोचे । पानी त चाहिन्छ, उठ्नु पर्छ झै लाग्यो, फेरी लाग्यो ह्या निदाउँछु।
ढक् ढक ढक्-
मरमुरिएर, जुरुक्क उठ्छु। कट्टुमा खुट्टा कोचेर ढोकामा पुग्छु र जोडले खोल्छु ।
बाहिर ऊ उभिएकी छे, गालामा मुस्कान टासेर।
म हेर्छु पुलुक्क एक झलक र फरक्क फर्कन्छु। विस्तारामा लमतन्न पर्छु, बरबराउछु-
हत्तेरीका- फेरी एकाविहानै पिडा आइपुग्यो, काखीमा समाचार च्यापेर।
-के ऊ अझै ढोका मै छे?
-के आज पनि हेडलाइन रातो छ?
** रातो– जस्तै
रातो कार्पेटको गालामा, आफ्नो रातो फेदले चुम्बन गर्दै मुस्कुराई रहेछ बाल्टी। रातो बाल्टी।
बाल्टी रातो हुनको कारण वास्तवमा बताउन लायकको केही नि छैन।
कोही भन्छन् बाल्टी बनाउने आइमाइले रातो लिपिष्टिक लगाउने हुदा बाल्टी रातो हुन पाएको हो।
कोही भन्छन् ,पहिले पहिले यहाँ फुल्थेनन् बाल्टीहरु।
मोक्ष खोज्न उत्तर हिडेका भिक्षुहरुले घर फर्कदा ल्याएका हुन सुरवातका बाल्टीहरु। र रातो नै थियो तिनको पहिलो अनुहार।
म सँग भएको बाल्टीको भित्र पट्टि अनेक अनेक रङका साना र मझेउला छिटाहरु छन्। ति छिटाहरु मेरा टाउको जस्तै छ। टाउको डुबेका छ। टाउकोको प्राण फुस्केर पानीमा पौडिरहेछ, निलो रङ।
**निलो
सबै रङ मिक्स भए पछि जब जब निलो रङ निस्कन्छ मलाई बडो मजा लाग्छ। यस्तो लाग्छ ,मानौँ भर्खरै जन्मियो नवजात आकाश।
जब आकाश सोच्छु!
लाग्छ – कति धेरै तत्वको मिश्रणले यति गहिरो निलो भएको होला यो आकाश ?
-घामको किरण,जुनको ताप, ताराको पुञ्ज, हावाको ऐठन, बादलको नाच, हामीले पुकार्ने इश्वरको शहर – मरेका मान्छेका सपना, हामी कहिले नदेखेका तर भएका/ कुराहरु ।
तर जब आकाश हेर्छु
लाग्छ कति ह्वाङ्ग छ यो आकाश –
मानौं ऊ जति रित्तो कोही छैन
– ऊ जती सबै तिर हुनु र कतै तिर नहुनु पनि केही छैन।
आकाशको टुप्पो हुन्छ कि नाई?
आकाशको फेद हुन्छ कि नाई?
हुन्छ क्यार..
त्यही बसेर सायद केही बालकहरु डोरीमा बाधेर उडाउँछन्- पृथ्वी ।
जब जब यस्ता खयाल आउँछन्, तब रातो बाल्टीमा बनेको निलो आकाशमा म कैलेकाहीँ त्यसै छाडिदिन्छु अनेक रङ लागेका कुचीहरु र निस्कन्छु पर्दाको सहरमा।
नोट– पर्दाको सहरबाट देखिने देख्ने इन्द्रेणीका सात रङ त्यही बाल्टीमा जमेको आकाशसँगको प्रेममा स्खलित भएको कुचीको वीर्य हो।
**पर्दाको सहर
सिंहदरबार छ, त्यसको उत्तरमा छ- बालुवाटार।
जसका झ्यालहरु छन्- पर्दा बिहिन ।
त्यही पर्दा बिहिन झ्याल भित्र बस्छ- एउटा जोक्कर ।
जो एक काम बाहेक अरु कुनै काम गर्दैन।
ऊ प्रत्येक साँझ ००७:०४६ बजे कोठामा बत्ति बाल्छ । झ्यालमा नाङ्गै उभिन्छ र लगभग ०६२/ ०६३ सेकेन्ड उपेक्षापूर्वक शहिदगेट तिर फर्केर हस्तमैथुन गर्छ।
बिहानमा बिक्ने चिया पत्रिका अनुसार – यो पर्दाको सहरमा पर्दाको व्यापार उसकै कारण चल्छ।
**व्यापार
शरिर बेचिन तैयार छ !
अब???
अब, कृपया फर्म भरिदिनु होला र पैसा काउन्टरमा बझाउनु होला।।
कोही किन्न इच्छुक भेटिए हामी तपाईलाई सम्पर्क गर्ने छौ।
– धन्यवाद ।
**
मान्छेहरु- कच्चा पदार्थ हुन्,
मान्छेहरु- मेसिन हुन्,
मान्छेहरु- उत्पादन हुन्,
मान्छेहरु-उपभोग्ता हुन्,
मान्छेहरु- व्यापार हुन् ।
बस मान्छेहरु- मान्छे हुन् ? होइनन् ?