Logo

भूमिसुधार तथा मालपोत कार्यालयमा अनलाइन सेवा शुरु



Spread the love

१७ भाद्र, सर्लाही – प्रविधिको अधिकतम प्रयोग गर्दै सेवालाई चुस्त र पारदर्शी बनाउने उद्देश्यले भूमिसुधार तथा मालपोत कार्यालय सर्लाहीमा अनलाइन सेवा शुरु गरिएको छ ।

कार्यालयले पहिलो सेवाग्राही कविलासी नगरपालिका हेमपुरका नरेन्द्रकुमार यादवलाई जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख मेथुर चौधरीले जग्गाधनी दर्ता प्रमाण पूर्जा हस्तान्तरण गरेर औपचारिक रुपमा मंगलबारदेखि सो सेवाको शुभारम्भ गरेका हुन् ।

अनलाइन प्रविधिबाट सबै काम हुने भएपछि सुरक्षाको चिन्ता नहुने, अर्काको जग्गा अर्कैले किनबेच गर्न नसक्नेजस्ता व्यवस्थाले सेवाग्राहीलाई प्रत्यक्ष फाइदा पुग्ने सरोकारवालाको भनाइ छ । अनलाइन प्रविधिमा गएपछि सबै कागजातको स्क्यान गरेर सेभ गर्ने प्रविधि रहेकाले थप सहजता हुने मालपोत कार्यालय सर्लाहीका प्रमुख गोपाल बरालले बताए । नमूनाका रूपमा सेवा थालिएकाले यसबाट सेवाग्राहीलाई भरपुर फाइदा पुग्ने गरी कामअघि बढाइने दाबी उनको छ ।

कार्यालय प्रमुख बरालले भन्नुभयको, “यो प्रविधिले कुन व्यक्तिको नाममा कति जग्गा छ, त्यसको बारेमा जानकारी पाउन सकिन्छ । यो सेवा नहुँदा एउटै व्यक्तिको नाउँमा धेरै ठाउँमा जग्गा हुँदा छुट्टाछुट्टै रेकर्ड थियो तर अब देशको छुट्टाछुट्टै ठाउँमा जग्गा खरीद गरेपनि उसको एकै ठाउँमा रेकर्ड देखिन्छ ।”

“अनलाइन प्रविधिले हदबन्दीभन्दा बढी जग्गा पास हुँदैन्, रेकर्डहरु दुरुस्त हुँदै जान्छ, कर्मचारी सुरक्षित हुने र कुन शीर्षकमा कति राजश्व उठ्यो, यसबारे केन्द्रलाई पनि जानकारी हुन्छ”, उनले भने ।

यो प्रविधि लागू भएको सोमबार पहिलो दिनमा १० जना सेवाग्राहीले जग्गाधनी दर्ता प्रमाण पूर्जा प्राप्त गरेको कार्यालयले जनाएको छ । सेवा सञ्चालनका लागि भूमि सुधार तथा मालपोत विभागबाट आएका कम्प्युटर इञ्जिनीयर विमलमान श्रेष्ठले अब जग्गाको कुनै पनि काम गर्दा यसअघि जस्तो झन्झट व्यहोर्नु नपर्ने बताए । अनलाइन सेवा शुरु भएकाले सेवाग्राहीले चाहेजस्तो सेवा पाउन सक्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्