तीज हिन्दु नारीहरूले मनाउने एउटा महत्वपूर्ण चाड हो । यो चाड भाद्र शुक्ल द्वीतिया देखि पञ्चमी सम्म ४ दिन मनाइन्छ । तीजमा भगवान् शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ । नेपाली हिन्दु महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन् । भनिन्छ, आद्य शक्ति भगवानशिवकी अर्धाङ्गीनी हिमालय पुत्री पार्वतीले भगवान् शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भनेर पहिलो व्रत राखेकी थिइन् त्यो दिन यही हरितालिका तिजको दिन थियो त्यसैले आजसम्म हिन्दु नारीहरूले यो पर्व मनाउँदै आएका छन् ।
तिज मनाउने तरिका :
यो दिन महिलाहरू बिहान चाँडै उठी नुहाई धुवाई गरेर दिनभरि जल अन्न ग्रहण नगरी व्रत बस्ने गदैछन । बेलुकी पख घर गाउँ र छिमेकका महिलाहरू भेला भई पूजाका सामान तथा मण्डप तयार गरी भगवान् शिवको आराधना गर्ने प्रचलन रहेको छ । कतिपय महिलाहरू नजिक रहेको शिवमन्दिरमा गई शिव आराधनाका साथै नाच गान तथा रमाइलो गर्ने गर्दछन् । महिलाहरू मध्यान्हमै पूजा आराधना पश्चात् फलफुल ग्रहण गर्ने गर्दछन् ।
तिजको महत्व :
हाम्रो हिन्दु समाजमा तीज महिलाहरूले मनाउने एउटा महत्वपूर्ण पर्व हो । यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो । सृष्टि र समाज चल्नको लागि पूर्वीय मान्यता अनुसार महिलाहरू विवाह पश्चात् आफ्नो श्रीमानको घरमा बसी बाँकी जीवन बिताउनु पर्ने हुन्छ । यसरी आफू जन्मेको घर, मातापिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराइघरमा जीवन बिताउँदा आउने माइतीको यादलाई कमी गर्ने एउटा महत्वपूर्ण अवसरको रूपमा तीजपर्वको गहन महत्व रहेको छ । आज अर्थात् तीजमा महिलाहरूलाई मीठा मीठा भोजनका परिकारहरू खुवाउनका साथै नयाँ लुगा कपडा दिइन्छ । महिलाहरूलाई पराइघरको विभिन्न जिम्मेवारी, तनाव, साथै माइतीको सम्झनाको खाडललाई कम गर्न यो पर्वको ठुलो भूमिका रहेको छ । तीजमा विवाहित महिलाहरू आफ्नो लोग्नेको दीर्घायुको कामना गर्दै व्रत बसी नाचगान र मनोरञ्जन गर्छन् भने अविवाहितहरू सुयोग्य वरको आशा राखी व्रत बस्ने गर्दछन् l
तीजको धार्मिक पृष्ठभूमि :
हिन्दु धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान् विष्णुसँग गरिदिने वचन पार्वतीलाई नपचे पश्चात् उनी जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन् । तपस्या गरेको १ सय वर्ष पूरा भई सक्दा पार्वतीले कुनै फल नपाएपछि एक दिन उनले शिव लिङ्गको स्थापना गरी पानी पनि नपिईकन कठोर व्रत बस्न थालिन । यसरी पार्वती कठोर व्रत बसेका कारण शिवजी प्रकट भई ‘चिताएको कुरा पुगोस्’ भनी आशीर्वाद दिएका थिए l जसको फल स्वरूप शिव र पार्वतीको विवाह हुन पुग्यो ।